वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठसँगका केही अन्तरंग

‘उहाँदेखि डराउनु पर्दैन, न्याय डग्मगाउनु हुँदैन’

वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठको निधनले कानुन व्‍यवसायी र  परिवारमा धक्का मात्र होइन, संघीयतावाद, कानुनी शासन तथा लोकतान्त्रिक विधि पद्धतिमा ठूलो क्षति पुगेको छ।

पञ्चायती शासन कालमा राजनीतिक प्रतिद्वन्द्वीको सिकार बनेको राजनीतिक नेतृत्वलाई कानूनी संरक्षण गरी न्‍यायिक उपचार दिलाउनमा उहाँको ठूलो योगदान छ। राजनीतिक तथा सामाजिक रुपान्तरणमा कानुन व्‍यवसायको माध्‍यमबाट परिवर्तन गर्न सकिन्छ भन्‍ने मान्‍यता राख्थे श्रेष्ठ। कानुनी व्‍यवसायमार्फत अर्थोपार्जन उहाँको पेशाको गौण प्राथमिकता थियो। धेरै राजावादीहरुको मुद्दा उहाँले लिएको देखिँदा सहजै अनुमान गर्न सकिन्छ कि राजनीतिक स्वतन्त्रता, प्रजातान्त्रिक शासन प्रणालीको स्थापना, संविधानवाद, कानुनी शासन व्‍यवस्था, स्वतन्त्र न्‍यायपालिकाको संरक्षण गर्न सकिन्छ। जसको ज्वलन्त उदाहरण- बिपी कोइराला, डा. के.आई. सिंहको मुद्दामा उहाँको व्‍यवसायिक नेतृत्व, त्‍यस्तै गरी भीमनारायण श्रेष्ठको मृत्‍युदण्डको मुद्दामा धनकुटा उच्च अदालतमा बहस गर्न जानुले उहाँको व्‍यावसायिक आदर्शलाई बुझ्‍न सकिन्थ्यो।

राजा वीरेन्द्रको हत्या प्रयासको अभियोगमा गिरफ्तार भई मुद्दा चलाइएका भीमनारायण श्रेष्ठको पक्षमा धनकुटा पुनरावेदन अदालतमा बहस गर्दाको अर्को रोचक प्रसंग उहाँ सुनाउने गर्नुहुन्थ्यो। अदालतमा बहस भइरहँदा आफूभन्दा पछाडि युनिफर्ममा बसेका एकजना जर्नेलतर्फ लक्षित गर्दै उहाँले न्यायाधीशलाई भन्नुभयो, ‘उहाँदेखि डराउनु पर्दैन, न्याय डग्मगाउनु हुँदैन।’ कुसुमजीले त्यत्ति भन्नासाथ ती जर्नेल अदालत कक्षबाट बाहिरिएका थिए।

उहाँले अन्‍याय कहिल्यै सहनु भएन। अदालतको अवहेलना मुद्दामा सजाय पाएकोमा अदालतको सम्‍मान स्वरुप जरिवाना तिरी केही रकम बाँकी राखी जेलमा गई अन्‍यायको प्रतीक स्वरुप जेल सजाय भोग्‍नु भएको थियो।

करिब १० वर्ष जति मेरो व्‍यवसायिक संगतमा उहाँलाई अध्‍ययनशील, इमान्दार, नैतिकवान पाएको थिएँ। अध्‍ययनबाट नै कानुनी व्‍यवसाय धारिलो बन्‍दै जान्छ। यसले अन्तत: कानुनी शासनलाई बलियो बनाउन ठूलो मद्दत गर्दछ। युवा कानुनी व्‍यवसायीलाई सधैं अध्‍ययनशील र व्‍यवसायी इमान्दार छन् भन्‍ने उहाँको सुझाव हुन्थ्यो। उहाँमा पदीय लोभ तथा सरकारी नियुक्तिमा कुनै इच्छा थएन।
उहाँको तर्क हुन्थ्यो, ‘म स्वतन्त्र रहन चाहन्छु। मेरो स्वतन्त्रता कानुन व्‍यवसायी बाहेक कसैले दिन सक्दैन।’

एकपटक २०६२/६३ को आन्दोलनपछि तत्कालीन प्रधानमन्त्रीले न्‍याय परिषद्‌को सदस्‍यमा नियुक्ति गर्न खोजिरहनुभएको थियो। प्रधानमन्त्री कोइरालाले मलाई बालुवाटार क्वार्टरबाट लाजिम्पाटतिर औँला देखाउदै भन्नुभयो, ‘तल लाजिम्पाटमा कानुनविद् हुनुहुन्छ नि, उहाँ न्याय परिषद् सदस्य हुनुहुन्छ कि,  फकाऊ त । मैले भनेँ भने उहाँले मान्नुहुन्न होला।’

‘प्रधानमन्त्रीज्यू,’ मैले भनेँ, ‘म फोन लगाउँछु, आफैँ कुरा गर्नुस्।’

मैले फोन लगाएँ, ‘गिरिजाबाबुले कुसुमजीलाई भन्नुभो, कुसुमजी, न्याय परिषदको सदस्य त सम्मानित पद हो, होइन?’

कुसुमजीले भन्नुभयो, ‘हो, गिरिजाबाबु।’

गिरिजाबाबुले भन्नुभो, ‘त्यसो भए तपाईँले जिम्मेवारी लिँदा कसो होला?’

कुसुमजीले सिधै गिरिजाबाबुलाई भन्नुभयो, ‘म ललितसँग कुरा गर्छु।

त्यसपछि गिरिजाबाबुले ‘ल जाऊ, तिमीले कुरा गरेर हेर।’ मैले उहाँहरुको कुरा सुनेपछि ‘कुसुमजीको ‘नो’को संकेत पाइसकेको थिएँ।’

मैले गिरिजा बाबुलाई भनेँ, ‘कुसुमदाइले मान्नुहुन्न होला।’

म सिधै बालुवाटारबाट लाजिम्पाट कुसुम दाइकहाँ गएँ। त्यहाँ कुसुम दाइले रिसाउँदै भन्नुभयो, ‘तिम्रो गिरिजाबाबुले मलाई जागिर खा भन्ने… ?’

त्यस्तै गरी अर्को घटना स्मरण गर्न चाहन्छु। २०६२/६३ को आन्दोलनपछि नेपाली सेनामा रुक्मांगत कटवाललाई प्रधानसेनापति हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको चिफ र सेकेण्ड म्यानलाई पदबाट हटाइएको थियो।

त्यसबेला रुक्मांगत कटवाल नेपाली सेनाका थर्डम्यान रोल क्रममा प्रधानसेनापतिपछि तेस्रो थिए।

मलाई तत्कालीन प्रधानमन्त्री गिरिजाबाबुले बोलाउनुभयो। मैले कुसुम दाइलाई भेटेँ र भनेँ, ‘आज किन हो? गिरिजाबाबुले बोलाउनुभएको छ, जाँदैछु।’

कुसुम दाईले भन्नुभो,  ‘ललित, गिरिजाबाबुलाई भन, सेनालाई अहिले नचलाउनू। भोलि माओवादीले धोका दिन्छन्। यही सेनाको सहयोगमा माओवादीसँग लड्न सकिन्छ। सेनाको विश्वास लिनुपर्छ। सेनामा केही नगर्न भन्नू गिरिजाबाबुलाई।’

मैले ‘हुन्छ, कुसुम दाइ’ भनेँ। मैले कुसुम दाइको भनाइ जस्ताको तस्तै सुनाइदिएँ, गिरिजाबाबुलाई। गिरिजाबाबुले भन्नुभयो, ‘ठिक आइडिया, भोलि माओवादीले धोका दिन सक्छन्।’

कुसुम दाईले भन्नुभो,  ‘ललित, गिरिजाबाबुलाई भन, सेनालाई अहिले नचलाउनू। भोलि माओवादीले धोका दिन्छन्। यही सेनाको सहयोगमा माओवादीसँग लड्न सकिन्छ। सेनाको विश्वास लिनुपर्छ। सेनामा केही नगर्न भन्नू गिरिजाबाबुलाई।’

म एकदुई फेरि दिनपछि बालुवाटार गएँ। गिरिजाबाबुसँगै गफ गर्दै थिएँ, एक जना प्रभावशाली नेता (गोप्य नाम)ले मैरे अगाडि भन्नुभयो, ‘प्रहरीमा फर्स्ट र सेकेण्ड म्यानलाई हटाएर राम्रै म्यासेज गएको छ, अब सेनामा पनि सोही तरिकाबाट निर्णय गर्नुपर्छ, कहिले गर्ने?’ गिरिजाबाबुले मेरै अगाडि ती नेतालाई भन्नुभयो, ‘अब आइन्दा सेनाको बारेका कुरा नगर्नू।’

एकैछिन सन्नाटा छायो। बाहिर आएर ती नेताले भने, ‘कसले गिरिजाबाबुलाई भँडाएछ?’ मैले तत्कालै भनेँ, ‘मैले हो।’ मसँग पनि ती नेताज्यू रिसाउनु भयो।

यस्ता थुप्रै रोचक प्रसंगहरु म सम्झन्छु जसले कुसुम दाइप्रति मेरो शिर श्रद्धाले नतमस्तक हुन्छ।

नेपालको कानुन व्यवसायलाई मर्यादित, शिष्ट, सभ्य बनाउन उहाँको ठूलो योगदान छ। स्पष्ट, सटिक लेखन शैली, शिष्ट र मर्यादित बहस कला उहाँबाट सिक्नैपर्ने विषय हुन्। त्यस्तै इमान्दार र अध्ययनशील बन्नु कानुन व्यवसायका एक रथका दुई पांग्रा हुन् भन्ने उहाँको भनाइ थियो।

रसिक हुनु कुसुमदाइको अर्को विशेषता हो।

नेपालको कानुन व्यवसायीले एउटा आदर्श अग्रणी गुमाएको छ।

कार्तिक २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्