‘दीयावाती’ र ‘लक्ष्‍मी पूजा’ले मिथिलाञ्‍चल झलमल्‍ल

हिन्दू धर्मावलम्बीको प्रमुख पर्वहरुमध्ये एक दीपावली अर्थात् लक्ष्मी पूजा मिथिलाञ्चलमा बुधबार धुमधामका साथ मनाइएको छ।

आध्‍यात्मिक दृष्टिले अँध्यारोबाट उज्यालोतर्फ जाने पर्वको रुपमा चिनिने दीपावलीलाई दीपोत्सव समेत भन्ने गरिन्छ। जसले गर्दा हिन्दु धर्मालम्वी मात्र नभई शिख, बौद्ध, तथा जैन धर्मालम्वीहरुले पनि यो पर्व मनाउँदै आएका छन्।

दीपावली शब्दको उत्पत्ति संस्कृतको दुई शब्द ‘दीप’ अर्थात् ‘दीयो’ र ‘आवली’ अर्थात् ‘श्रृंखला’को मिश्रणबाट भएको विभिन्न धार्मिक पुस्तकहरुमा लेखेको पाइन्छ। दीपावली पर्वमा घरको कुनाकुनामा हिन्दू धर्मावलम्बी दियोको श्रृंखला बनाउँछन्।
सामाजिक र धार्मिक दुवै दृष्टिकोणले विशिष्ट महत्व बोकेको यो पर्व नेपाल, भारत, श्रीलंका, म्यानमार, मोरिसस, गुयाना, त्रिनिड्याड एन्ड टोबागो, सुरिनाम, मलेसिया, सिंगापुर, फिजी, पाकिस्तान, अस्ट्रेलिया लगायतका देशमा धुमधामका साथ मनाइने गरेको सञ्चारमाध्यमहरुमा उल्लेख छ।

दीपावलीको सन्दर्भ पद्म पुराण र स्कन्ध पुराणमा उल्लेख रहेको पाइन्छ। दीयोलाई स्कन्द पुराणमा सूर्यको हिस्सालाई प्रतिनिधित्व गर्ने प्रतीकको रुपमा मानिएको छ । सूर्यलाई जीवनका लागि प्रकाश र ऊर्जाको लौकिक दाता मानिन्छ ।

‘मिथिलाञ्चलमा ‘दीयावाती’


‘तमसो माँ ज्योतिर्गमय’ अर्थात् अँध्यारोबाट प्रकाशतर्फ लैजाने पर्व दीपावलीको ठाउँ अनुसार शब्द रहेको छ । संस्कृतका दुई शव्द मिलेर बनेको दीपावली अर्थात् तिहारलाई मिथिलाञ्चलमा दियावाती भन्ने गरिन्छ । यस्तै, हिन्दीमा दिवाली, मारवाडीमा दियाली भन्ने गरिएको छ । कार्तिक औंसीमा मनाईने ‘दीयावाती’मा मिथिलाञ्चलमा एश्वर्यकी देवी लक्ष्मीको पूजासंगै कालीको समेत पूजा गर्ने गरिन्छ । यसपाली तिथीको हेरफेरले गर्दा हिजै १२ बजे राती कालरात्री पूजा सम्पन्न भएको छ ।

धर्मग्रन्थमा उल्लेख भए अनुसार दीपावलीकै दिन भगवान राम १४ वर्षको बनवास पूरा गरेर अयोध्या फर्केका थिए । रामको आगमनको उल्लासमा अयोध्यावासीले घ्युको दियो बालेर अयोध्यालाई औंसीको कालोरातलाई झिलीमीली पारेका थिए । त्यही खुसीमा जानकीको जन्मभुमिलाई समेत प्रकासमय बनाईएको थियो । मिथिला र अबधवासी (अयोध्यावासी) ले त्यहीदिन देखी दियावाती पर्व मनाउने परम्परा सुरु गरेको मानिन्छ ।

मिथिलाञ्चलमा ‘दीयावाती’ अर्थात तिहारका दिन कपडाको एक प्रकारको सानो बेली बनाई आगो लगाएर भाँज्ने (नचाउने) परम्परा छ । यसलाई स्थानीय भाषामा हुक्कालोली भनिन्छ ।

धार्मिकग्रन्थ अनुसार भदौमा हुने तरपण तथा पीण्डदानको समय पृतीहरु पृथ्वीलोकमा आउने गर्दछन र कार्तिक औंसीसम्म बस्ने गर्दछन । त्यही पृतिहरुलाई जाने समयमा स्वर्गको बटो देखाउन भनि लक्ष्मीपूजा पश्चात हुक्का अर्थात उँक( आगो) लगाई भाँज्ने परम्परा छ । हुक्कलोली भाँज्नाले पृतीहरुको स्वर्गको बाटो खुल्ने धार्मिक मान्यता छ ।

जानकी मन्दिरमा भीड़


बुधबार तिहारको किनमेल गर्न जानकी मन्दिरमा संयौंको भीड देखिएको छ । तिहारको लागी चाहिने माटोको दियो, कपासको बाती, पान, मिठाई, लक्ष्मी गणेशका विभिन्न पोष्टर, फूलमाला किन्न सेवाग्राहीहरुको भीड देखिएको छ ।

जानकी मन्दिरमा माटोको दियो बेच्न पसल थापेका जनकपुर १७ बस्ने कपिलदेव पण्डितले आज दिउँसो सम्म मात्रै ५ हजारको दियो बेचेका छन् । समयानुसार तिहारको लागी विद्युतीय उपकरणको प्रयोग बढेतापनि मिथिलाञ्चलमा माटोको दियोको महत्व अति नै छ । ‘हुक्कालोली’ कपडाको बेली बेच्ने स्थानीय सरस्वती देवीले करिब २ हजारको बेली बेचेका छन् ।

यस्तै, जानकी मन्दिर, राम मन्दिर, राजदेवी मन्दिरमा दैनिक १५ देखी २० हजार सम्मको फूलमाला बेचिने गरेको उप–महानगरपालिका–७ का फूल व्यवसायी गणेश मालीले बताएका छन् । तिहारका दिन उनले करिब ५ पहजारको फुल बेचेका छन् । तिहारका दिेन कमल फूलको विशेष आर्कषण रहेकोले आज जनकपुरमा ६० रुपैयाँ गोटा कमल फूल बेचिएको छ ।

 

हारको लागि ५० लाखको फूल आयात


यस वर्षको तिहारका लागि धनुषाको जनकपुरधाममा करिब ५० लाख रुपैयाँको फूल आयात गरिएको छ। धनुषाको प्रमुख धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधाममा गत वर्ष ४५ लाख रुपैयाँ बराबरको फूल आयात गरिएको रामजानकी माली कुटीका अध्यक्ष सुरेन्द्र भण्डारीले बताए। यस वर्ष फूलको माग बढेको उनले बताए ।

पुष्प व्यवसायीहरुका अनुसार यस वर्षको कागतिहार र कुकुर तिहार मात्र २५ लाख रुपैयाँ बराबरको फूल बिक्री भएको छ। धनुषामा फूल किसान बढेको र यस वर्ष फूलको राम्रो उत्पादन भए पनि माग बढेकाले गत वर्षभन्दा बढी फूल आयात गर्नुपरेको जानकी मन्दिरमा वर्षौदेखि फूल बेच्दै आएका रामनारायण मालीले बताए ।

‘हामीले लगाएको फूल यस वर्ष राम्रो फस्टाएको छ,’ उनले भने, ‘तर पूmलको माग बढेपछि गेना, रजनीगन्धा, मखमली, गुलाबजस्ता फूल बाहिरबाट मगाएका हौं।’ यहाँ भारतको कलकत्ता, पटना, सिलिगुडीबाट फूल आयत गरिने व्यापारीहरु बताउँछन्। व्यापारीहरुका अनुसार भारतबाट आयात हुने फूलको आकार एकै प्रकारको हुने भएकाले उपभोक्ताले त्यस्तै फूलको माग गर्छन् । यस्तै, भारतबाट आयात भएको फूलको मूल्य पनि नेपालमा उत्पादन भएका भन्दा सस्तो भएको हुनाले भारतबाट आयात गर्नुपर्ने परेको मालीको भनाइ छ।

स्थानीय पूmल व्यावसायीका अनुसार एक व्यावसायीले जानकी मन्दिर तथा राममन्दिरको फूल स्टलबाट दैनिक तीनदेखि चार हजार रुपैयाँको फूल बेच्ने गरेका छन् भने यस अनुपातमा दैनिक २० देखि २५ हजारको फूल बिक्री हुने अनुमान रहेको छ।