रियल मड्रिडको शानदार जित, नयाँ प्रशिक्षकको लगातार तेस्रो विजय

लगातारको खराब प्रदर्शनका कारण प्रशिक्षकबाट जुलियन लोपेतेगी बर्खास्त भए । त्यसपछिका खेलमा भने रियल मड्रिडले लगातार राम्रो प्रदर्शन गर्दै आएको छ ।

अन्तरिम प्रशिक्षक सान्टियागो सोलारीको नेतृत्वमा युरोपियन च्याम्पियन रियल मड्रिडले लगातार तेस्रो जित दर्ता गरेको छ । रियल मड्रिडले च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा भिक्टोरिया प्लेजनलाई ५–० ले हराएको हो ।

अवे मैदानमा भएको खेलमा पहिलो हाफमा चार तथा दोस्रो हाफमा एक गोल गर्दै रियल मड्रिडले प्रभावशाली जित निकालेको हो । समूह जी अन्तर्गतको खेलमा रियलका लागि करिम बेन्जिमाले दुई तथा कासेमिरो, ग्यारेथ बेल र टोनी क्रसले एक एक गोल गरे ।

बेन्जिमाले २० र ३७, कासेमिरोले २३ तथा बेलले ४० औँ मिनेटमा गोल गरेपछि पहिलो हाफमा रियल मड्रिडले ४–० को अग्रता लियो । उसका लागि ६७ औँ मिनेटमा क्रसले थप एक गोल गरे र जित दिलाए ।

नयाँ प्रशिक्षक सोलारीले तीनै गोल जितेका छन् र गोल खाएका छैनन् । यी तीन खेलमा रियल मड्रिडले ११ गोल गरेको छ ।

करिम बेन्जिमाले रियल मड्रिडका लागि २०० गोलको आँकडा पार गरेका छन् । उनले अहिलेसम्म २०१ गोल गरेका छन्, ४२९ खेलमा रियल मड्रिडका लागि ।

जितपछि समूहको शीर्ष स्थानमा रहेको रियल मड्रिडको ९ अंक भएको छ । समूह कै अर्को खेलमा रोमाले सिएसकेए मस्कोलाई २–१ ले हरायो । रोमाको पनि ९ अंक नै छ र उ समूहको दोस्रो स्थानमा छ ।

कार्तिक २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू