विपक्षीको पोस्टमा आधा दर्जन गोल, जिससले गरे ह्याट्रिक

पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले क्लबको इतिहासमा च्याम्पियन्स लिगमा कीर्तिमानी जित निकालेको छ । समूह चरण अन्तर्गत बुधबार राति भएको समूह एफ को खेलमा म्यानचेस्टर सिटीले शाख्तर डोनेस्कमाथि ६–० को फराकिलो जित दर्ता गरेको हो ।

म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा निकालेको यो नै सबैभन्दा फराकिलो गोल अन्तरको जित हो । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीका लागि गाब्रियल जिससले ह्याट्रिक गरे ।

यस्तै डेविड सिल्भा, रहिम स्ट्रर्लिङ्ग र रियाद महरेजले एक एक गोल गरे । पहिलो हाफमा दुई गोल भएकोमा दोस्रो हाफमा चार गोल थपेको हो । १३ औँ मिनेटमा सिल्भा तथा २४ औँ मिनेटमा जिससले पेनाल्टी मार्फत गोल गर्दै पहिलो हाफमा टिमलाई २–० को अग्रता दिलाए ।

४८ औँ मिनेटमा स्ट्रर्लिङ्गले गोल गरे । ७२ औँ मिनेटमा पाएको पेनाल्टीमा जिससले व्यक्तिगत दोस्रो गोल गरे भने ८४ औँ मिनेटमा महरेजले गोल थपे । इन्जुरी समयको दोस्रो मिनेटमा जिससले गोल गर्दै ह्याट्रिक पूरा गरेपछि सिटी शाख्तरको पोस्टमा आधा दर्जन गोल गर्न सफल भयो ।

समूह एफ कै अर्को खेलमा लियोन होफेनह्यामसँग २–२ को बराबरीमा रोकियो । ९ अंकसहित म्यानचेस्टर सिटी समूहको शीर्ष स्थानमा तथा ६ अंक रहेको लियोन दोस्रो स्थानमा छन् ।

यस्तै समूह ई अन्तर्गत बुधबार राति नै भएको खेलमा बायर्नन म्युनिखले एइके एथेन्सलाई २–० ले हराएको छ । यस्तै यहि समूहको अर्को खेलमा अजाक्स र बेन्फिकाले १–१ को बराबरी खेले ।

कात्तिक २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्