असुरक्षित ट्रम्प र रुसी दखल सम्बन्धी अनुसन्धान

ट्रम्पले महान्यायाधीवक्तालाई राजीनामा दिन लगाए अर्थात बर्खास्त गरे

सत्तामा आएदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विभिन्न कारणले चर्चामा छन्, चर्चाका विभिन्न कारण मध्ये एक हो आफ्ना स्टाफको बर्खास्तगी । राष्ट्रपति ट्रम्पले बर्खास्त गर्ने व्यक्तिको पछिल्लो सूचिमा अर्को नाम थपिएको छ, जेफ सेसन्स ।

महान्यायाधीवक्ता जेफ सेसन्सलाई राष्ट्रपति ट्रम्पले बर्खास्त गरेका छन् । ट्रम्पले बुधबार ट्वीट गर्दै भनेका छन्, ‘आफ्नो सेवाका लागि हामी जेफ सेसन्सलाई धन्यबाद दिन्छौँ र उनको राम्रोको कामना गर्छौँ ।’

सन् २०१६ मा भएको राष्ट्रपति चुनावमा रुसी दखलका बारेमा भएको अनुसन्धानबाट आफूलाई अलग गरेका जेफमाथि पछिल्लो समय ट्रम्पले विश्वास गुमाएका थिए । यहि कारण उनले सेसन्सलाई बर्खास्त गरेको अमेरिकी सञ्चार माध्यमले दाबी गरेका छन् ।

सेसन्सको ठाउँमा अस्थायी रुपमा उनका चिप अफ स्टाफ म्याथ्यु ह्वीटेकर रहने भएका छन् । म्याथ्युले रुसी दखलका बारेमा भइरहेको अनुसन्धानको आलोचना गर्दै आएका छन् ।

सेसन्सले राष्ट्रपति ट्रम्पको आग्रहमा राजीनामा बुझाएका छन् । उनले राजीनामा पत्रमा राजीनामा दिने निर्णय आफ्नो नरहेको उल्लेख गर्दै लेखेका छन्, ‘राष्ट्रपति ज्यू, तपाईँको आग्रहमा मैले यो राजीनामा पेश गरेको छु ।’

सेसन्सले राष्ट्रपतिलाई धन्यबाद दिँदै आफ्नो कार्यकालमा कानुनी शासन कायम गर्नका लागि प्रयास गरिएको उल्लेख गरेका छन् ।

सन् २०१७ को मार्चमा सेसन्स रुसी दखलको अनुसन्धानबाट आफूलाई अलग गरेपछि ट्रम्प रुष्ट रहेको र त्यहि कारण उनलाई राजीनामा दिन लगाइएको विश्लेषण छ ।

स्पेशल काउन्सिल रोर्बट मुलरले ट्रम्पलाई सहयोग हुने गरी रुसले चुनावमा दखल दिएको भन्ने आरोपबारे अनुसन्धान गरिरहेका छन् ।

ट्रम्पले सेसन्सलाई खर्बास्त गर्नुको उद्देश्य मुलरले गरिरहेको अनुसन्धान रोक्नु रहेको भन्दै चिन्ता व्यक्त गरिएको छ । रिपब्लिकन पार्टीका उच्च नेताहरुले यस्तो नगर्न ट्रम्पलाई चेतावनी दिएका छन् ।

कार्तिक २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू