अमेरिकी मध्यावधिक चुनाव

ट्रम्पको बाटो अब अप्ठयारो

अमेरिकामा भएको मध्यावधिक चुनावपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीतिक बाटो कठिन हुने देखिएको छ ।

८ वर्षपछि डेमोक्र्याटिक पार्टी तल्लो सदनमा पकड कायम गर्न सफल भएको छ । यसको अर्थ अब राष्ट्रपति ट्रम्पलाई आफ्ना निर्णयहरुलाई आधिकारिकता प्रदान गर्न डेमोक्र्याटिक पार्टीको साथ लिनु पर्ने हुन्छ, जुन उनका लागि सहज देखिँदैन ।

सन् २०१७ को सुरुमा सत्ता सम्हाल्न आएदेखि नै ट्रम्पका गतिविधिको डेमोक्र्याटिक पार्टी र उनकै पार्टीका केही नेताहरुले पनि तीव्र आलोचना गर्दै आएका छन् ।

यस्तोमा ट्रम्पको कार्यकालको परीक्षणको रुपमा हेरिएको मध्यावधिक चुनावमा तल्लो सदन अर्थात हाउस अफ रिप्रिजेनटेटिभमा डेमोक्र्याटिक पार्टीले बहुमत ल्यायो ।

माथिल्लो सदनमा भने ट्रम्पको पार्टी रिपब्लिकनले बहुमत कायम नै राखेको छ । र पनि अब बाँकी रहेको दुई वर्षे कार्याकालमा आफ्ना निर्णयका लागि ट्रम्पले डेमोक्र्याटसँग सहकार्य गर्नुको विकल्प छैन ।

मध्यावधिक चुनावको मतगणना लगभग सकिएको छ । सिनेटका ३५ सिटका लागि भएको चुनाव मध्ये तीन ठाउँको नतिजा आउन बाँकी छ । अहिलेसम्म डेमोक्र्याटिकले ४६ तथा रिपब्लिकनले ५१ सिट बनाएका छन् ।

यस्तै तल्लो सदनका ४३५ मध्ये ४१९ सिटको नतिजा आउँदा डेमोक्र्याटिकले २२३ सिट जितेको छ भने रिपब्लिकनले १९६ सिट जितेका छन् । तल्लो सदनमा बहुमतका लागि २१८ सिट जिते पुग्ने थियो ।

दुवै सदनको नतिजा हेर्दा माथिल्लो सदन अर्थात सिनेटमा रिपब्लिकन बलियो देखिए पनि डेमोक्र्याटको अवस्था पनि कमजोर छैन । यस्तै तल्लो सदनमा भने डेमोक्र्याटको बलियो पकड भएको छ ।

तल्लो सदनको सभामुख बन्ने तय भएकी डेमोक्र्याटिक नेतृ न्यानसी पेलोसीले आफ्नो पार्टीले अब ट्रम्प प्रशासनमा लगाम लगाउने बताएकी छन् । उनको भनाईको अर्थ स्पष्ट छ, अब ट्रम्पलाई दुवै सदनमा रिपब्लिकनको पकड हुँदा जस्तो सहज हुनेछैन ।

चुनावको नतिजापछिको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले आफू डेमोक्र्याटसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् । तर डेमोक्र्याटले आफ्ना बारेमा अनुसन्धानहरु गरेमा ‘युद्धजस्तो अवस्था’ आउन सक्ने संकेत पनि गरेका छन् ।

डेमोक्र्याटले पूर्वाधार, व्यापार तथा स्वास्थ्यका विषयमा सहयोग गर्ने अपेक्षा रहेको ट्रम्पले बताएका छन् । तर डेमोक्र्याटले आफूविरुद्ध कानुनी अनुसन्धानहरु गर्न थालेमा रिपब्लिकनले पनि त्यस्तै गर्ने ट्रम्पले चेतावनी दिए ।

डेमोक्र्याट नेतृ पेलोसीले आफूहरु ह्वाइट हाउससँग सहकार्य गर्न तयार रहेको तर आफ्नो पृष्ठभूमि भने नबिर्सने उल्लेख गरेकी छन् ।

डेमोक्र्याटले तल्लो सदनमा पकड कायम गरेपछि ट्म्पका व्यवसायिक सम्बन्धहरु, करसहितका विषयमा अनुसन्धान गर्न सक्ने छन् । यस्तै ट्रम्पले ल्याएका कानुनहरुलाई पास गर्नमा पनि उनीहरु बाधक बन्न सक्छन् ।

चुनावअघि ट्रम्पका हरेक निर्णय र कामलाई केलाएर हेर्ने बताएको डेमोक्र्याटिक पार्टी अब तल्लो सदनमा बहुमतको अवस्थमा छ । अब उसले ट्रम्पका काम तथा व्यवहारलाई नियन्त्रण वा जनताको हितमा ल्याउनका लागि कसरी काम गर्नेछ भन्ने हेर्ने बेला आएको विश्लेषण गरिएको छ ।

सिएनएन, रोयटर्स, बिबिसी र द गार्डियनको सहयोगमा