विराट कोहलीलाई भारत छोड्न आग्रह, तर किन गरियो ?

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको एउटा भिडियो सामाजिक सञ्जालमा धेरैले शेयर गरिरहेका छन् । जुन भिडियोमा उनले भनेका छन्, ‘जसलाई विदेशी ब्याट्सम्यान मन पर्छ उनीहरु भारतमा बस्नु हुँदैन ।’

विराट कोहलीको यो भिडियो उनको जन्मदिनमा सार्वजनिक गरिएको एप्लिकेशनमा अपलोड गरिएको छ । यो भिडियोमा उनी ट्वीटर र इन्स्टाग्राममा आएका सन्देशहरु पढिरहेका छन् ।

यही क्रममा उनले एक सन्देश पढे, जसमा कसैले उनलाई ‘ओभररेटेड’ खेलाडी भनेका छन् । सन्देशमा लेखिएको थियो, ‘तपाईँ ओभररेटेड खेलाडी हो । व्यक्तिगत रुपमा मलाई खासै केही लाग्दैन । मलाई भारतीय ब्याट्सम्यान भन्दा बेलायती र अस्ट्रेलियन ब्याट्सम्यान मन पर्छ ।’

यसको जवाफ कोहलीले निकै तिखो रुपमा दिएका छन् । उनले जवाफमा भनेका छन्, ‘मलाई लाग्छ तपाईँ भारतमा बस्नु हुँदैन.. अरु कतै जानुहोस् । तपाईँ हाम्रो देशमा बसेर अरु देश किन मन पराउनु हुन्छ ? मलाई मन पराउनु हुँदैन ठीकै छ तर तपाईँ हाम्रो देशमा बसेर अरु ठाउँकै कुरा मनपराउनु मिल्छ जस्तो लाग्दैन । आफ्ना प्राथमिकता तय गर्नुहोला ।’

यसपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन् । विराट कोहलीको आलोचना भइरहेको छ । अशरफ नाम गरेका एक ट्वीटर प्रयोगकर्ताले लेखेका छन्, ‘विराट कोहली भन्छन् कि जसलाई विदेशी खेलाडी मन पर्छ उनीहरु भारतमा बस्नु हुँदैन । तर उनी आफैले इटालीमा विवाह गरे र विदेशी ब्राण्डकै प्रचार गरिरहेका छन् ।’

अर्का ट्वीटर प्रयोगकर्ता सिद्धार्थ विशीले ट्वीट गरेका छन्, ‘विराटको भनाई खेल भावना विपरित छ । खेलमा राष्ट्रियता भन्दा खेलाडीको प्रदर्शनको तारिफ गरिन्छ ।’

यस्तै आइरोनी अफ इन्डिया नाम गरेको ट्वीटरट ह्याण्डलमा विराट कोहलीको १० वर्षअघिको भिडियो शेयर गरिएको छ, जसमा उनले हर्शल गिब्स आफूलाई मन पर्ने खेलाडी भनेका छन् । यी प्रयोगकर्ताले विराटले पनि भारत छोड्नु पर्ने उल्लेख गरेका छन् ।

कार्तिक २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू