‘यो माया भन्ने चिज यस्तै हो।’ ठ्याक्कै अलजेब्राको सुत्र जस्तो नभए पनि सबैलाई थाहा भएको शब्द माया। मानिससँग जोडिन आउने हरेक सम्बन्धमा माया हुन्छ। सम्बन्धको नाम फरक भएजस्तै फरक हुन्छन् माया।
यहि माया जीवनका फरक फरक क्षणमा आफ्नो भूमिका निभाउन आइपुग्छन्। आमा, बाबु, छोराछोरी, साथीभाइको माया। अनि दाजु भाइ र दिदीबहिनीको माया। जुन आसाध्यै प्रिय हुन्छ।
हामी यहाँ धेरै दाजुभाइलाई माया गर्ने एक दिदीको कुरा गर्दैछौँ। ताहचलकी अञ्जली मास्के। उनलाई सबैले अञ्जली दिदी भनेर चिन्छन्। हरेक वर्ष काष्ठमण्डपमा बसेर भाइटीकाको दिन उनी सयौँ दाजुभाइलाई टीका लगाइदिन्छिन्।
माहोल तिहारको छ। देउसी भैलो, पूजाआजा भन्दा पनि सबैभन्दा महत्वपूर्ण दिन भनको भाइटीका हो। मखमलि माला लगाएर टाउकोमा ढाका टोपी ढल्काउँदै हातभरि सेल, मसला समाउन पाउँदा दाजुभाइको उज्यालिएको अनुहार, अनि हातमा उपहार, दक्षिणा हातमा थाम्दा दिदी बहिनीको अनुहारमा अन्जानमा आउने मुस्कान अनमोल हुन्छ।
यो भन्दा महत्वपूर्ण छ भावनाको नाता। हुर्कँदै गर्दा दाजु बहिनी अथवा दिदी भाइ कमै मिल्छन् नत्र भने हरेक कुरामा लडाईँ। आमाले झगडा छुट्याउदा ‘कस्तो कुकुर र बिरालो जस्तो झगडा गरेको’ भनेको धेरैले बिर्सेका छैनन् होला। तर ठूलो भएपछि यस्ता स–साना झगडा मिठा स्मिृति र स्नेहको धागो बन्छन्। तिहार यहि स्नेहको धागोलाई बलियो बनाउने चाड हो। तिहार आउनै लाग्दा दिदी बहिनीले आफ्नो दाजुभाइ र दाजुभाइले दिदीबहिनी नसम्झने भन्ने हुँदैन।
तर जसको दिदीबहिनी मात्र छन् दाजुभाइ छैनन् र जसको दाजुभाइ छन् दिदीबहिनी छैनन् उनीहरुलाई यो तिहार अलि खल्लो लाग्न सक्छ। कतिले दाजुभाइ दिदीबहिनी बनाए पनि कतिपयलाई सम्भव हुँदैन ।
दिदीबहिनी बनाउन सम्भव नभएका दाजुभाइहरु भने २० वर्षदेखि अञ्जली दिदीले खुशी बाँडिरहेकी छन्। भाइटीकाको दिन काष्ठमण्डपमा टीका लगाइदिने उनको खुशी साट्ने काम यो वर्ष पनि हुँदैछ।
हरेक वर्ष भाइटीका आउनै लाग्दा अञ्जली मास्केको व्यस्तता धेरै बढ्छ। उनी दैनिक काम, पूजापाठमा तिहारका काम त थपिन्छन् त्यसमा पनि उनी सयौँ दाजुभाइलाई भाइटीका लगाएर भाइमसला फलफूल दिन भाग बनाउँछिन्।
कुकुर तिहारको दिन उनको घरको तेस्रो तलामा कागजका कार्टुनमा प्याक भएका भाइमसलाका भागहरु थिए। कालिमाटी तरकारी बजारबाट केही भित्र पर्ने उनको घरमा अहिले मसला पोको पार्ने माहोल छ। ‘अझ भ्याएकै छैन।’ अञ्जली मास्केले भनिन्, ‘पहिलो वर्षमा एकसय ७ मसला बाँडेको थिए। दोस्रोमा २०८। अहिले ठाउँ नभएर अलिकति कम गरेको छु।’
२०७२ सालको भूकम्पमा काष्ठमण्डप भत्किएको छ। मास्के त्यसैको तल पाल टाँगेर टीका लगाइदिने गरेकी छन्। अड्कल गरेको भन्दा धेरै मानिस भए भने उनले मसला र मिठाईलाई दिन मिल्ने गरी योजना गरिरहेकी छन्। माला पनि तयार नै छन्।
बांगेमुडा मास्केचोकमा उनको जन्म भयो, उनले आफ्नो उमेर बताउन चाहिनन्, हाँस्दै उनले भनिन्, ‘तपाईँ अन्दाज गर्नुस् है।’ उनी ७२ वर्षकी भइन्। आफू स्वस्थ्य हुनु, सक्रिय हुनुमा आफूले टीका लगाएका दाजूभाइको आशिर्वाद ठान्छिन् उनी। विवाह भएपछि उनको घर न्यूरोड भयो। तर अहिले ताहचल बस्छिन्।
ताहचलको घर मास्केले पछि बनाएको घर हो। माइतीका दाजु र बहिनीसँगै मिलेर किनेका हुन् । उनका छोरा र बुहारी अहिले बेलायतमा छन्। ‘छोरा मुटु रोगको विशेषज्ञ हो। बुहारी दाँत विशेषज्ञ हुन्।’
खुलेको अनुहार, गाजल आँखामा, ओठमा लाली निधारमा टिका। कपाल छोटा छन्, तर काला छन्। ध्यू रंगको साडीमा रातो बोर्डर भएको साडी लगाएकी थिइन्। ‘मलाई यो कपडामा कस्तो देखिएला? म अर्को लगाएर आउँ?’ फोटो हेरिन्, राम्रो लाग्यो अनि त्यही कपडामा भिडियो खिच्ने निर्णय भयो। आफ्नो व्यस्तता बताउँदै उनले भनिन्, ‘म पूजामा गएर फर्केको, कपडा फेर्न पनि भ्याएको छैन। मलाई अन्तर्वार्ताको लागि पनि फोन आएको आएइछ।’
उनी जीवनका ती दिन सम्झन थालिन्, जहाँबाट उनले सुरु गरेकी थिइन्। ‘छोरी मान्छे, त्यो पनि नेवारकी छोरी, गारो थियो।’ उनी तीन जनामध्ये माइली सन्तान तर जेठी छोरी हुन्। उनका दाइ अनि उनकी बहिनी।
अञ्जली दिदी बन्ने यात्रा
भावना अजंगको कुरा हो। कहाँ, कसको लागि आउँछ थाहा नै हुन्न। ‘अरु भनेकालाई आफ्नो नजरले हेर्यो भने उनीहरु पनि आफ्नो देख्छन्।’ उनले भनिन्, ‘नाम होला, सबैले सम्झेलान् भनेर गरेको होइन।’
उनलाई १५ वर्षको उमेरदेखि नै भगवानप्रति आस्था भयो र समाजलाई सेवा गर्न मन लाग्यो। उनी अगाडिबाटै सामाजिक सेवामा सक्रिय भइन्। सानैदेखि घर वरपरका बिरामीको उपचारमा सहयोग गर्न जान्थिन्। वीर अस्पतालमा पनि धेरै वर्ष उनले वेवारिसे फेला परेका बिरामीको उपचारमा सहयोग गरी रहिन्। ‘अहिले वीर अस्पताल अलि व्यवस्थित छ। म जान छोडिसके।’ उनले भनिन्, ‘त्यतिबेला दिनहुँ गर्न गाह्रो भएन अहिले त वर्षमा एकदिन।’
उनको विचार दिदीबहिनी नभएका र अहिलेसँगै नभएका दाजुभाइको निधार खाली नहोस् भन्ने मात्र हो। २०२६ सालदेखि उनले काष्ठमण्डपमा गोरखनाथ बाबाको पूजा निरन्तर गरिरहेकी छन्। त्यहाँ ड्युटीमा परेकाहरु जसले भाइटीका लगाउन जान पाउँदैनथे, उनीहरु रोएको देखिन् र टीका लगाइदिन थालिन्।
‘भाइटीका लगाउन नपाएपछि मनमा ताप आउँछ जस्तो लाग्यो र काष्टमण्डपमा हरेक वर्ष टीका लगाइदिन थालेँ।’ उनले भनिन्, ‘जबसम्म तिहार आउँछ र भाइटिका लगाउन पर्छ भनेर भगवानले शक्ति दिन्छन्, तबसम्म गर्छु।’
सुरुको वर्षमा जसले टीका लगाउथे अहिले पनि आउँछ। वर्षैपिच्छे नयाँ नयाँ अनुहार पनि आउँछन्।
उनले यो निर्णय सुनाउँदा परिवार सबै खुशी भए। दाइ, भाउजु, बहिनी, छोरा बुहारीले उत्साह दिएकै कारण उनले खुशी खुशी यो कर्म गर्न सकिन्।
‘काम गरेपनि मन खुशी हुने थिएन।’ उनी भन्छिन्, ‘बिहान नुहाई धुवाई गरेर पूजा गर्ने, गोरखनाथको मन्दिर घरमा नै छ, त्यहाँ पूजा गरेर मण्डप बनाएर दाइलाई टिका लगाइदिन्थेँ । अनि काण्डमण्डपको गोरखनाथ बाबालाई पूजा गरेर अरु दाजु भाईलाई टिका लगाइदिन्छु। तर अहिले दाइ हुनुहुन्न।’
तिहारमा टीका लगाइदिन सुरु गर्दा छोरा पाकिस्तानमा पढ्न गएका थिए, आएपछि निर्णय सुनाउँदा ‘बाहिर काम गर्न गाह्रो हुन्छ’ भनेका थिए छोराले तर पछि सब ठीक भयो।
उनी टीका लगाएपछि उपहार लिन्नन्। ‘म पैसा, उपहारबिना टीका लगाइदिने भनेर सूचना दिन्छु।’ उनी भन्छिन्, ‘मेरो घरको दाईले दिएको मात्रै लिन्छु।’ उनी उपहारको नाममा विकृति हुन्छ भन्छिन्। उपहार लिँदैमा दिदी भाई हुने होइन, आशिर्वाद, प्रेम होस् भन्ने उनले सोचेकी छन्।
मसला किन्ने खर्च कसरी जुटाउनुहुन्छ त ? ‘मन जुटेपछि जुट्छ।’ आफ्नो सामर्थ्य नहेरी आँट नगरेको बताउने मास्के भन्छिन्, ‘छोरा बुहारी बेलायतमा डाक्टर छन्, सपोर्ट छ।’ उनले यसलाई खर्च भन्दा पनि भावना भन्छिन्। ‘निधार खाली नहोस्, हात पनि सकेसम्म भरियोस्।’
उनलाई भगवानप्रति धेरै आस्था छ, २०७२ सालमा पनि उनलाई यही आस्थाले बचायो जस्तो लाग्छ। ‘म त्यति नै बेला बेलायत गएकी थिएँ। भूकम्प गएको दिन काष्टमण्डपमा कार्यक्रम थियो। यहाँ नेपाल भएको भए त्यही नै हुन्थेँ।’ उनी भन्छिन्, ‘अझै केही वर्ष दाजुभाईलाई टिका लगाइदिन लेख्या रैछ जस्तो छ।’
उनको औपचारिक अध्ययन १२ कक्षासम्म छ तर ज्ञानको दायरा कयौँ अगाडि।
त्यो दिन भ्याइनभ्याई हुन्छ सुकुल ओच्छ्याएर टीका लगाइदिन्छिन्। सबैको आउँने समय एकै हुँदैन। उनी भन्छिन्, ‘दाजुभाइहरु समयमा नै आइदिनु भए हुन्थ्यो।’