देऊसीमा प्रधानमन्त्री ओलीलाई झलनाथको सुझाव

‘युगले सुम्पिएको उत्तरदायित्व पूरा गर्न कामको गति बढाउनुहोस्’

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले जनताको चाहनालाई सम्बोधन गर्नको लागि पनि आफ्नो गति र वेग बढाउनुपर्ने सुझाव दिएका छन्।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी भैलो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता खनालले भने, ‘मुलुक अब विकास र समृद्धि हुने कुरामा शंका नगर्नुस्। आर्थिक रुपान्तरण गर्ने र देशलाई समृद्धितर्फ अगाडि बढाउने नै हो।’

देउसी टोलीसँग कुरा गर्दै उनले भने,“विकास र समृद्धि विल्कुलै सम्भव छ । देश अहिले ऐतिहाँसिक चरणमा प्रवेश गरेको छ। देशमा क्रान्तिको युगलाई, संघर्षको युगलाई, हड्तालहरुको युगलाई पारत गरेर यहाँसम्म आएका छौं। नयाँ संविधान बनायौं। संविधानबमोजिम निर्वाचन गर्‍यौ।अहिले तीन तहको सरकार निर्माण गरेका छौं। तीनै तहका सरकारका मुख्य काम भनेको नै यो मुलुकको विकास गर्ने हो । ”

समृद्धिका पाईलाहरु भर्खर भर्खरै चल्न थालेको र ती पाईलाहरुमा अझै बेग थप्न जरुरी रहेको उनको भनाई छ । उनले भने,“अझै गति थप्न जरुरी छ । अझै प्रभावकारिता थप्न जरुरी छ । तर, हामी त्यो दिशातर्फ अगाडि बढ्न थालिसक्यौं।”

अहिले देश र सम्पूर्ण जनताले चाँडोभन्दा चाँडो विकास र समृद्ध चाहेको सुनाउँदै उनले भने, ‘सिँगो राष्ट्र अहिले सरकारले समृद्धिको लागि चाँडो काम गरोस भन्ने चाहन्छ । हामी लामो समयदेखि गरिबीमा छौं । र, त्यो गरिबीबाट हामी मुक्त हुन चाहन्छौं । विभिन्न किसिमका बेरोजगारीहरु छन् । ती समस्याहरु हल गर्नुपर्छ । परनिर्भरताबाट हामी मुक्त हुन चाहन्छौं।

उनले विभिन्‍न किसिमका रोग, व्याधहरुलाई समाज मुक्त बनाउनु पर्नेमा जोड दिए। उनले भने, ‘ चाँडो विकास होस्। नयाँ नयाँ परिवर्तनहरु ल्याओस भन्ने जनचाहना छ। जनचाहनाअनुसार काम गर्न र समृद्धि हाँसिल गर्नको लागि यो सरकारले अझै वेगका साथ काम गर्नुपर्छ। अहिलेको गतिले पुग्दैन् । त्यो भन्दा तिव्र गतिले अघि बढ्नुपर्छ । अझै तिव्रता र प्रभावकारिताका साथ काम गर्न सकियो भनेमात्रै युगले यो सरकारलाई बोकाएको उत्तरदायित्व पूरा गर्न सकिन्छ।”

अहिले नेकपाभित्र अत्यन्तै नीतिनिष्ठ, सिद्धान्तनिष्ठ, विचारनिष्ठ, लक्ष्यनिष्ठ एकताको आवश्यकत्ता पनि औंल्याए । उनले भने,“नेकपाभित्र मात्रै होइन, प्रतिपक्षी दल र सम्पूर्ण राजनीतिक शक्तिहरुकाबीचमा बृहत्त एकताको आवश्यकत्ता छ । सिँगो राष्ट्रमा एकताको आवश्यकत्ता छ । एकतावद्ध भएर गयौं भनेमात्रै यो देश विकास हुन्छ । समृद्ध हुन्छ । पहिलो आवश्यकत्तापनि एकता हो । दोस्रो आवश्यकत्ता पनि एकता हो । र, तेस्रो आवश्यकत्ता पनि एकता हो ।”

कम्युनिष्ट पार्टीको जीउ भनेको नै नीति र विधि भएको बताउँदै खनालले यसलाई तलमाथि गरे ज्यान खतरामा पर्ने बताए। खनालले नीति र विधिअनुसार पार्टी चल्नुपर्नेमा जोड दिए ।उनले अघि थपे,“एकता गर्ने कुराहरुमा ढिलाई भैरहेको छ । ६ महिनाअघि हामीले एकताको घोषणा गरेको हो । तर, ६ महिना पार हुँदापनि अझै एकताको प्रक्रिया टुँग्गिएको छैन् । यो ढिला भएको छ । चाँडोभन्दा चाँडो एकतावद्ध गरेर अघि बढ्नुपर्छ।’

नेकपाभित्र अध्यक्षद्धय ओली र प्रचण्डले जे भन्यो त्यही हुन्छ । तर, तपाईहरुको भूमिका त छैन अरे नि ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने,“हो, साँचो कुरा के हो भने कम्युनिष्ट पार्टी भनेको सामूहिक नेतृत्वको आधारमा मात्रै पार्टी चल्नसक्छ। सिँगो समाज नै सामूहिक नेतृत्व भयो भने अगाडि बढ्न सक्छ । सामूहिक नेतृत्वको अभ्यास गर्न सकेनौं भने समाज अगाडि बढ्न सक्दैन्।

उलने एउटै व्यक्ति मात्रै सर्वज्ञ हुन नसक्‍ने बताए। उनले भने, ‘यो ज्ञानको युग हो। यस्तो अवस्थामा कुनै एक व्यक्तिले ज्ञानको ठेक्का लिनैसक्दैन् । ज्ञान धेरैतिर छरिएको हुन्छ । हो, त्यो छरिएको ज्ञानलाई हामीले उपयोग गर्न सक्नुपर्छ।’

कात्तिक २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्