खाशोग्गी हत्या प्रकरण र एमबिएसमाथिको दबाब

साउदी राजपरिवारमा मच्चिएको ‘खलबली’ शान्त, क्राउन प्रिन्स अझै शक्तिशाली

साउदी अरेबियाका राजा सलमान यो हप्ता आन्तरिक भ्रमणमा निस्किए, साथमा थिए उनका प्रिय पुत्र क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान ।

राजा सलमानको यो भ्रमणको उद्देश्य आफ्नो उत्तराधिकारीको रुपमा चयन गरिएको व्यक्ति सही छ भन्ने देखाउनु थियो, किनकी पत्रकार जमाल खाशोग्गीको टर्कीस्थित साउदी कन्सुलर कार्यालयमा भएको हत्याका कारण युवराज मोहम्मद बिन सलमानको अन्तर्राष्ट्रिय रुपमा आलोचना भइरहेको छ ।

राजा सलमान र युवराज मोहम्मद मंगलबार अबेर मध्य क्षेत्र क्वासिम पुग्दा त्यहाँका सडकहरु साउदी झण्डा र राजा तथा युवराजको तस्बिरले सजिएको थियो । विभिन्न क्षेत्रका व्यक्तिले उनीहरुलाई स्वागत गरे, बालबालिकाहरुले फूलको गुच्छा प्रदान गरे ।

साउदी अरेबियाको सत्ता सञ्चालनमा दैनिक कार्यमा आफ्नो भूमिका निर्वाह गर्दै आएका शक्तिशाली युवराज मोहम्मदको अन्तर्राष्ट्रिय साख पत्रकार खाशोग्गीको स्थानबुलमा भएको हत्यापछि गिरिरहेका बेला ८२ वर्षका राजा सलमानले छोरासहित सार्वजनिक भ्रमण गरेका हुन् ।

अरब प्रायद्विपको कट्टर राज्य क्वासिममा नयाँ योजनाका लागि १.१२ बिलियन अमेरिकी डलर बराबर छुट्याउने घोषणा राजा सलमानले गरेको तथा केही बन्दीलाई रिहा गर्न आदेश पनि दिएको साउदी अरेबियाको सरकारी सञ्चार माध्यमले जनाएको छ ।

‘खाशोग्गी घटनापछि साउदी नागरिकबिचमा धेरै तनाव, चिन्ता र भय रहेको छ । यसैले यो भ्रमण अहिले पनि राजा सलमान प्रमुख रहेका राज्यहरुलाई पुनःआस्वस्त पार्ने अभियान हो’, लण्डन बस्दै आएका साउदी लेखक तथा समालोचक मादवी अल–रशीदले भने ।

टर्कीका अधिकारीले क्राउन प्रिन्स मोहम्मद बिन सलमानले खाशोग्गीको हत्याका लागि निर्देशन दिएको आरोप लगाउँदै आएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्देशन नदिएको भए पनि अन्तिम जिम्मेवारी साउदी अरेबियाका अहिलेका वास्तविक शासक क्राउन प्रिन्समाथि जाने बताएका छन् ।

साउदी अरेबिया, क्राउन प्रिन्स मोहम्मदका कडा आलोचक अमेरिकी पत्रिका द वासिङ्गट पोस्टमा लेख्दै आएका पत्रकार खोशाग्गी अक्टोबर २ मा बेपत्ता भएपछि फरक फरक बयान दिँदै आयो ।

सुरुमा जानकारी नै नरहेको बताएको साउदीले उनको स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा भएको मुक्का हानाहानमा मृत्यु भएको बतायो । त्यसको केही दिनमा उसले खराब नियत भएका एजेन्टहरुले खाशोग्गीको हत्या गरेको भनेर नयाँ बयान जारी गरेको थियो । यो बयानमा पनि अन्तर्राष्ट्रिय समुदाय सन्तुष्ट भएका छैनन् ।

युवराज मोहम्मदले यस घटनाबारे आफ्नो मौनता अक्टोबर २५ मा तोडे, उनले न्याय स्थापित हुने र सत्य बाहिर आउने बताए ।

राजा सलमान यस घटनामा शान्त रहे । उनले आफ्ना विश्वसनीय सल्लाहकारलाई टर्की पठाए, त्यसपछि छोरा मोहम्मदका सबैभन्दा विश्वसनीय सल्लाहकारसहित पाँचजना उच्च अधिकारीलाई बर्खास्त गरे ।

हप्तौँसम्म निश्क्रिय बसेका युवराज अब सार्वजनिक रुपमा प्रस्तुत हुन थालेका छन् । उनले यमनको सीमा नजिक रहेको सेनाको ब्यारेक भ्रमण गरे । यमनमा साउदी अरेबिया नेतृत्वको सेनाले साढे तीन वर्षदेखि बिद्रोहीविरुद्ध कारवाही अभियान सञ्चालन गर्दै आएको छ ।

सोमबार सार्वजनिक भएको भिडियोमा युवराज सलमानले सेनाका जवानलाई हिरोको रुपमा प्रस्तुत गरेका छन् । रियाद विश्वविद्यालयमा भएको कार्यक्रममा उनले परमाणु रियाक्टर बनाउने योजनाको शिलान्याश गरे ।

अमेरिकाको टेक्सासमा रहेको ए एण्ड एम विश्वविद्यालयका खाडी विशेषज्ञ ग्रेग गोसले भने, ‘पितासँगको आन्तरिक भ्रमणले यो संकेत गर्छ कि राजपरिवार यसमा स्पष्ट छ कि राजा विश्वस्त छन् र अहिले केही फेरबदल हुनेछैन ।’

पछिल्लो ६५ वर्षमा ३३ वर्षका युवराज साउदी अरेबियाको पहिलो राजा बन्ने तयारीमा छन् । उनले यसका लागि साउदी अरेबियाका संस्थापक अब्दुलाजिज इब्न साउदका कम्तिमा ४५ छोरा र तथा ६ भाइलाई पाखा लगाउने छन् । साउदको सन् १९५३ मा निधन भएको थियो ।

तर मोहम्मद बिन सलमान अघि आउँदा साउदी राजपरिवार भित्र विश्वासको वातावरणको कमी बनेको छ, किनकी साउदीको इतिहासमा राजपरिवारका सदस्यहरुलाई शक्तिशाली पद दिने गरिएकोमा मोहम्मदलाई अघि ल्याउन धेरै शक्तिशाली व्यक्तिलाई पाखा लगाइएको छ ।

युवराज सलमानले आफ्नो शासनको सुरुवात नै शक्तिशाली पदमा रहेका काका तथा दाजुभाइहरुलाई त्यहाँबाट हटाएर र केहीलाई घरमै बन्धक बनाएर गरे । अरुलाई भ्रष्टाचार विरोधी अभियानको रुपमा पक्राउ गरे र सुविधा सम्पन्न होटलमा बन्धक बनाएर राखे ।

तर खोशाग्गीको हत्यापछि उत्पन्न परिवेशको मूल्यांकन गर्दै मोहम्मदले पक्राउ गरेका केही राजकुरमाहरुलाई गएको हप्तादेखि रिहा गर्न थालिएको छ । गएको हप्ता राजाका जीवित मध्येका भाइ, राजकुमार अहमद बिन अब्दुलाजिज साढे दुई महिनाको विदेश बसाईपछि स्वादेश फर्किए । उनी साउदीको अहिलेको सत्ताका आलोचक हुन् ।

राजा सलमानका दुई भतिज, जसलाई गएको वर्ष पक्राउ गरिएको थियो, उनीहरुलाई हालै रिहा गरिएको छ । कूटनीतिक विश्लेषकहरुले साउदीको सत्तारुढ परिवार आलोचकहरुबाट घेरिएको बताएका छन् । तर राजा सलमानले कुनै त्यस्तो संकेत दिएका छैनन् कि अर्का युवराज ल्याउन वा कार्यकारीका रुपमा काम गर्ने छन् ।

एक उच्च साउदी कूटनीतिज्ञले भने, ‘युवराज मोहम्मद कहिँ जाने छैनन् । परिवारको बैठक भइरहेको छ र सबै उनको नेतृत्वमा एकीकृत छन् । उनी पछि फर्किने सम्भावना छैन, एमबिएस (मोहम्मद बिन सलमान) सत्ताको उच्च स्तरमा पुग्ने छन् । उनले सम्भावित सबै उम्मेदवारलाई गएको वर्ष नै पाखा लगाइसके ।’

ती कुटनीतिज्ञले थपे, ‘एमबिएसको नेतृत्वमा देशको गुप्तचर निकायको पुनर्संरचनाका लागि बनाएको कमिटि खाशोग्गी हत्याका कारण उत्पन्न संकटको समाधानका लागि हो । यसको अर्थ क्राउन प्रिन्स अझै पनि सबैभन्दा माथि छन् भन्ने हो ।’

मंगलबार बेलुका राजा सलमान र क्राउन प्रिन्स एमबिएस रियादबाट उत्तर पर्ने क्वासिमको रंगशालमा पुगे । अनलाईनमा सर्वाजनिक भएका तस्बिरमा राजकुमारा अब्दुलाजिज बिन फाहद उनका भाइहरु र छोरीहरुसहित देखिएका छन् । पूर्व राजाका छोराको यो तस्बिर उनी पक्राउ परेपछिको पहिलो हो । उनीले विशेष गरी क्राउन प्रिन्स एमबिएससँग सहमति गरे वा के भयो भन्ने खुलाइएको छैन ।

यस्तै राजाका अर्का भतिज तथा अर्बपति लगानीकर्ता राजकुरमा अलवालीद बिन तलालका भाइ पनि रिहा भएको देखियो । उनलाई क्राउन प्रिन्स एमबिएसको भ्रष्टाचार विरोधी अभियानको विरोध गरेका कारण पक्राउ गरिएको थियो ।

अर्को दिन अलवालीद, जो भ्रष्टाचार विरोधी अभियान अन्तर्गत सुविधासम्पन्न होटलमा बन्धक बन्ने व्यवसायी, राजकुमार तथा उच्च अधिकारमा एक थिए, फक्स न्युसँगको कुराकानीमा खाशोग्गी हत्या काण्डमा क्राउन प्रिन्स एमबिएसको बचाउ गरे । उनले एमबिएसको भ्रष्टाचार विरोधी अभियानको पनि बचाउ गरे ।

आफ्ना भतिज (एमबिएस) का बारेमा उनले भने, ‘मलाई विश्वास छ कि साउदी क्राउन प्रिन्स दोषमुक्त रहेको सतप्रतिशत रुपमा पुष्टि हुनेछ ।’ अलवालीदले आफूलाई बन्धक बनाएको विषयमा भने, ‘माफी दिएँ र बिर्सिसकेँ ।’

(यो सामग्री समाचार संस्था रोयटर्सबाट साभार गरिएको हो । रोयटर्सका लागि स्टेफन कालिनले तयार पारेको सामग्रीको अनुवाद गरिएको हो ।)

कात्तिक २२, २०७५ मा प्रकाशित