नेपालीको छुट्टी मनाउने गन्तव्‍य बन्‍दै रुपकी रानी रारा

राराको रुप हेर्न ओइरिँदै आन्तरिक पर्यटक

वीरेन्द्रनगरकी पार्वती थापालाई जागिर र पढाइको तालमेल मिलाउनुपर्ने बाध्यताले कमै मात्र फुर्सद हुन्छ। दसैं विदामा उनले छुट्टीको समय सदुपयोग गर्न पारिवारिक भेटघाट छोट्याइन्। लामो विदा मनाउन नयाँ गन्तव्यको खोजी गर्दा उनले मुगुको रारा जाने योजना बनाइन् । घुमफिर गर्न रुचाउने केही साथीहरुको टोलि बनाएर उनी रारा पुगिन्।

‘प्रदेश सरकारले पर्यटन वर्ष उद्घाटन गरेपछि रारा पुग्‍ने योजना बनाइयो, सुनेको भन्दा कैयौं गुणा रमणीय रारा ताल’ उनले भनिन्, ‘कर्णालीमै यस्तो सुन्दर ठाउँ रहेछ, अहिलेसम्म पुगिएकी थिएन।’

वरिपरी डाँडाको बिचमा रहेको ताललाई क्यामेरामा कैद गरेपछि सामाजिक सञ्‍जालमा पोष्ट गर्नुको मज्जा बेग्लै हुने उनले बताइन् । उनले रमणीय तालमा सेल्फी मात्रै हानिन्, घोडासमेत चढ्न पाइन्।

दैलेखका माधव रेग्मीलाई रारा तालबारे स्कुले उमेरदेखि पढ्दै र सुन्दै आएकी हुन्। तर, तालसम्म घुम्न जाने इच्छा हुँदाहुँदै त्यो अवसर भने जुरेको थिएन। उनलाई घुमफिर गर्न अन्य समयमा सम्भव नभएपनि यस पटकको दसैं विदामा पारिवार र साथीसँगै रारा पुग्ने योजना बनाए

दसैं छुट्टीको सदुपयोग मात्र गरेनन्, प्राकृतिक सौन्दर्यको नजिकबाट स्पर्श समेत गर्न पाए । उनले भने,‘त्यहाँ पुग्ने जो कोही तालको प्राकृतिक सुन्दरतामा मन्त्रमुग्ध हुन्छन् । जीवनमा एक पटक मात्र होइन, पटक पटक पुग्नैपर्ने ठाउँ हो, रारा ताल ।’ पर्यटकीय पूर्वाधारको विकास हुन नसकेकोप्रति भने उनले खल्लो महशुस भएको बताए । उनले भने, ‘बाटो अप्ठ्यारो छ, खान बस्नका लागि होटल कम छन् ।’

कुनै समय थियो घुमफिर गर्नुलाई फोकटको कर्म मानिन्थ्यो । घुम्नु भनेकै काम नपाएर हो भन्ने मान्यता थियो । तर, पछिल्लो समय घुम्ने संस्कृति बढ्दै गएको छ । अचेल घुमफिर अध्ययन, अवलोकन र पर्यटन प्रवर्द्धनका लागि हुन थालेको छ ।

प्रदेश सरकारले २०७५ साललाई भ्रमण वर्षका रुपमा मनाएको छ । वैशख १ गते राराताल परिषरबाटै कर्णाली–रारा पर्यटन वर्ष उद्घाटन गरिएको छ । जसले गर्दा पर्यटकीय स्थलहरुमा घुम्ने र रमाइलो गर्नेहरुको संख्या बढ्दै गएको छ ।

कर्णाली–रारा भ्रमण वर्ष उद्घाटनका लागि प्रधानमन्त्री केपी ओली, मन्त्रीलगायत। फाइल तस्बिर

चाडपर्वमा लामो छुट्टी पाउँने र यही मौका छोपेर घुमघाम गर्ने शैंली बढ्दै गएको छ । यही संस्कृतिका कारण आन्तरिक पर्यटकले नेपालको पर्यटन उद्योगको ठुलो हिस्सा ओगट्दै गएको छ । विगत चार/ पाँच वर्षदेखि घुम्न जाने संस्कृति हरके वर्ष बढिरहेको पर्यटन व्यवसायीहरुको भनाई छ ।

पर्यटकको गन्तव्यस्थल बन्दै आएका मुगुको रारा, सल्यानको कुभिन्डे दह, सुर्खेतको काँक्रेविहार र दैलेखको पञ्चकोशीलगायतका धार्मिक तथा पर्यटकीय स्थलहरुमा आन्तरिक पर्यटकको चाप पनि बढ्दै गएको छ ।

नजिकको तीर्थ हेला भन्‍ने प्रचलित नेपाली उखानलाई धार्मिक तथा पर्यटकीय स्थलमा बढ्दै गएको आन्तरिक पर्यटकको उत्साहजनक उपस्थितिले चुनौती दिँदै गएको छ । बिदाको समयमा नजिकका पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण गर्नेको संख्या ह्वात्तै बढेको होटल व्यवसायी तर्कबहादुर शाहीले बताए ।

‘जिल्लाको पर्यटन व्यवसाय आन्तरिक पर्यटकको भरमा चलेको छ’ उनले भने, घुम्ने र रमाउने संस्कृतिको विकास हुँदै गएको छ ।’ पछिल्ला केही वर्षयता आन्तरिक पर्यटकले नै होटल व्यवसाय धानेको उनको भनाइ छ ।

चाडपर्वको याममा सरकारी कर्मचारी, शिक्षक, विद्यार्थी, व्यापारी र समूहमा घुमफिर गर्ने आन्तरिक पर्यटक बढी देखिने गरेका छन् । नेपालीको घुम्‍ने संस्कृति बढ्दै गएपछि कर्णाली प्रदेश सरकारले आन्तरिक पर्यटनलाई थप प्रवर्द्धन गर्न पर्यटन वर्ष घोषणा गरेको छ । पाँच लाख पर्यटकहरु भित्र्याउने लक्ष्य सरकारले राखेको छ ।

राराको रुपले भोलिइँदै आन्तिक पर्यटक 


धार्मिक तथा पर्यटकीय स्थलका रूपमा स्थानीय तहमा प्रसिद्धि कमाए पनि मुगुको रारा तालमा पर्यटकको उपस्थिति भने शून्य जस्तै थियो । रमणीय स्थान हुँदाहुँदै पनि यहाँ अन्यत्र जिल्लाबाट काम विशेष तथा घुम्‍नका लागि आएका व्यक्तिहरूमध्येमा पनि निकै कमले यो ताल अवलोकन गर्थे । तर, पछिल्लो समय रारा घुम्ने आन्तरिक पर्यटकको संख्या ह्वातै बढेको छ । हिजोआज रारा पुग्नका लागि खासै गाह्रो छैन । सडक रारा राष्ट्रिय निकुञ्जसम्मै पुगेको छ । सुर्खेतबाट दैलेख, कालिकोट, जुम्ला हुँदै सडक मार्गमार्फत सजिलै पुग्न सकिन्छ । जीप र मोटरसाईकलमा नै रारा पुग्न सकिन्छ ।

हरिया पहाडको बीचमा निलो मसी घोप्टाए जस्तै देखिने रारा ताल सुन्दर र रमणीय छ । तत्कालिन राजा महेन्द्रले रारालाई स्वर्गकी अप्सरासँग तुलना गरेका थिए । राराताल समुन्द्र सतहबाट २९७२ मिटर उचाईमा रहेको छ । यहाँको शितल र शान्त वातावरणले पर्यटक मोहित हुन्छन् । गुराँस फुल्ने सिजनमा रारा रंगीन बनेको हुन्छ ।

त्यहाँबाट देखिने सेता हिमालले पनि राराको सुन्दरता अझ बढाइदिएको छ । रारालाई स्वर्गको टुक्रासँग तुलना गरिन्छ । पर्यटकीय पूर्वाधार र मुख्यगरी स्तरीय सडक सञ्जाल नहुँदा चाहेर पनि सबैले रारा पुग्न सकिरहेका   छैनन् ।

कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालमा पर्यटकको लर्काे लाग्न थालेको छ । अन्य समय भन्दा यो मौसममा धेरै पर्यटक रारा पुग्ने गरेका छन् । फाट्फुट पर्यटक भित्रिने रारामा हिजोआज दैनिक डेढ सयदेखि दुई सयसम्म घुम्न आउने गरेका छन् । राष्ट्रिय निकुञ्जको तथ्यांकअनुसार विगतको तुलनामा दोब्बर पर्यटक भित्रिने गरेका छन्।

आन्तरिक पर्यटकहरुको त्थ्यांक संकलन नभएपनि पर्यटकको संख्या दोब्बर वृद्धि भएको निकुञ्जका संरक्षण अधिकृत यज्ञराज रोकाया बताए । ‘स्थानीय तथा आन्तरिक पर्यटकको तथ्यांक राख्ने गरिएको थिएन्, यस पटकबाट भर्खरै तथ्यांक राख्न लागेका छाैँ,’ उनले भने ।
पर्यटक बढ्न थालेपछि रारामा खाने बस्नका लागि होटल पाउन मुश्किल हुने गरेको छ । ‘रारा वास्तवमै घुम्न लायक ठाउँ हो । तर, त्यहाँ पुग्ने सडकदेखि लिएर रारामा खाने, बस्न समस्या छ ।’ पावतीले भनिन्,‘महंङ्गो पनि उति नै छ । रारा घुम्न आउने पर्यटकहरु भिलेज हेरिटेज, डाँफे होटल तथा माझघट्टमा रहेको होमस्टे, मृर्माटप होटल, रारा भ्यु होटलमा बस्छन् ।

कसरी  पुग्‍ने रारा ?


कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर मुगुको रारा पुग्न दुई विकल्प रोज्नुपर्ने हुन्छ । वीरेन्द्रनगरबाट कर्णाली राजमार्ग हुँदै राराको यात्रा तय गरियो भने झण्डै २ दिनमा पुग्न सकिन्छ । दैलेख, कालिकोट, जुम्ला हुँदै रारा पुग्न सकिन्छ भने हवाईबाट सुर्खेत विमानस्थलदेखि सीधै मुगुको ताल्चा विमानस्थल पुगिन्छ ।  वीरेन्द्रनगरबाट पहिलो दिन दैलेखको राकम कर्णाली हुदैँ कालिकोटको नाग्मघाट पुग्न सकिन्छ ।

सडक यात्रा जोखिमपूर्ण भएकाले प्रहरीले कर्णाली राजमार्गमा रात्रीकालिन यातायात सञ्चालन गर्न दिदैन् । कच्ची सडक भएकाले आपकालिन बाहेक यात्रुबाहक गाडीहरु राति प्रायः सञ्चालन हुदैनन् ।

मोटरसाईकलमा भने राती पनि यात्रा गर्न सकिन्छ । नाग्माघाट भन्दा अगाडी गएपछि जुम्लाको गुठिज्युला आउँछ । जुम्ला पुगेपछि सिंजा उपत्यका, तिला नदीले फन्को मारेको दृश्य, चन्दनाथ मन्दिर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगाएत तातोपानी अबलोकन गर्न पाइन्छ ।

जुम्लाबाट करिव ७३ किलोमिटर सडक पार गर्‍याे भने रारा पुग्न सकिन्छ । जुम्ला सदरमुकाम नपुगी सिधै रारा लागे करिब ९३ किलोमिटर सडक पार गर्नुपर्ने हुन्छ । मुगुको सिमानामा श्रीदल चेक पोष्ट छ ।

रारा निकुञ्ज नजिकै रहेको चेकपोस्ट पुगेपछि सवारी साधन लिन पाइदैन् । अनि घोडा चढेर पनि राराको काख नजिकै मिलि चौर पुग्‍न सकिन्छ। मिलिचौरबाट अझै करिब राराको आँगन टेक्न करिब २० मिनेट पैदल हिड्नु पर्ने हुन्छ ।