बाढी विस्थापितको तिहार

‘तिहार आउछ, रुवाएर जान्छ’

सुर्खेत – यस वर्ष पनि तिहारको उल्लासले हुने खाने र हुँदा खाने सबैलाई छोइसकेको छ। घरबाहिर भएकाहरु भाइटीका थाप्न गाउँ आइसकेका छन्। गाउँमा देउसीभैलोको रौनक छ। हुनेखानेहरु पर्व आएपछि खुशी साट्दै हिँडेका छन्।

तर, बराहताल–२ सुर्खेतका बलवीर नेपालीलाई तिहारले छोएको छैन। न त उनलाई दसैँले खुसी दियो न त तिहारले। बलवीरको खुशी लुटिएको पाँच वर्ष बित्यो। प्राकृतिक विपत्तिका कारण। तर पनि उनले टीका र जमरा लगाए दसैँमा, आर्शिवाद लिए–दिए।

‘दसैँ त जसो–तसो मनाइँयो, तिहारमा नयाँ नौलो बनाउन यस्तै हो,’ उनले भने, ‘ज्याला मजदुरीबाट कमाएको पैसाले दसैँ त धौँधौँ भयो, पैसा नभए के तिहार? के दसैँ?’

बाढीले घरबारी लगेपछि विस्थापित भई गिरिघाटस्थित अस्थायी शिविरमा बस्दै आएका बलवीरलाई दसैँ र तिहारजस्ता चाडपर्व अचेल खुशी लिएर आउने पर्व होइन पीडा दिएर जाने घाउँ जस्तै लाग्छन्।

‘अरुका लागि त खुशी बोकेर चाडपर्व आउँछन्, तर हामी दुखीकै हो मुटु–कलेजो जाने,’ उनले भने। विस्थापित शिविरमा बस्न थालेदेखि उनले हर्षका साथै कुनै पर्व मनाउन पाएका छैनन्।

एकातर्फ अस्थायी शिविरको बास। घाम र पानीको प्रहारले छियाँछियाँ भएका छन् त्रिपाल। तिनै त्रिपालले छाएको झुपडीमा बस्न थालेको चार वर्ष बित्यो।

अझै पनि पुनर्स्थापनाको कुनै टुंगो छैन। साँझ–बिहानकै छाक टार्न मुस्किल। चाडपर्व मनाउने कसरी? यसकारण पनि बलवीरका लागि चाडपर्व भनेका पीडा बल्झाउने घाउजस्तै बनेका छन्।

बाढीले बिल्लीवाठ पारेदेखि गिरिघाटमै बस्दै आएका अनिता शाहीले पनि खुशीका साथ चाडपर्व मनाउन पाएकी छैनन्। उनलाई विगतका दसैँहरूको सम्झनाले पोल्छन्। ‘घरभरि आफन्त आउँथे, कत्ति रमाइलो हुन्थ्यो,’ उनले भने, ‘हप्तैपिच्छे दसैँतिहार आओस् झैँ लाग्थ्यो, तर पाँच वर्ष भयो चाडवाड आउँदा पिर मात्रै बढ्छ।’

वि.सं. २०७१ साउन अन्तिम साता आएको बाढीले सुर्खेतका एक सय १५ जनाको ज्यान लिनुका साथै ९ सय ७० परिवार विस्थापित बनायो। तिनै विस्थापितहरु वीरेन्द्रनगर, बराहतला, पञ्चपुरी लगायतका विभिन्न स्थानमा अस्थायी शिवर बनाएर बसिरहेका छन्।

दैनिक ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका उनीहरु लामो समयदेखि पुनर्स्थापनाको पर्खाईमा छन्। तर, सरकारले पुनर्स्थापनामा ढिलाई गर्दा कष्टपूर्ण जीवन बिताउन बाध्य भएको पीडितहरुको गुनासो छ।

बाढीपीडितले कतिसम्म समस्या झेल्नुपरिरहेको छ भने घटस्थापनाका दिन दसैँका लागि जमरा राख्ने ठाउँ पाएनन्। त्रिपालले छाएको सानो झुपडीमा बस्दै आएका उनीहरुले न त दसैँमा नयाँ लुगा लगाएर मिठो मसिनो खान नै पाए, न त तिहारमा नै पाएका छन्। ‘दुई छाक टार्नै मुस्किल हुन्छ, दसैँका लागि भनेर कसरी थप जोहो गर्नु,’ गिरिघाट शिविरका ५५ वर्षीय कमल सुनारले भने।

बाढी आएको बेला घरखेत बगाउँदा वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रमा बस्दै आएकी शान्ता नेपालीको मनमा जति पीडा थियो, त्यतिबेला विभिन्न निकायबाट पाएको सहयोगले राहत भएको थियो। उनलाई लागेको थियो, दुखमा पर्दा हेर्ने सबै छन्। तर, समय बित्दै पाँच वर्ष बितिसके उनी विस्थापित शिविरमै छिन्।

विस्तापित शिविरमा बसेदेखि सरकारी तथा गैरसरकारी निकायले सहयोग गरे। तर, पुनर्स्थापनाका लागि कुनै पहल नभएको उनको गुनासो छ। ‘सुरुमा त मनभरी पीडा भएपनि सबैले सहयोग गर्दा समस्या हुँदैन लागेको थियो,’ उनले भनिन्, ‘तर हाम्रो समस्या अहिले पनि जहाँको त्यही छ।’

बाढीपीडितहरु यतिबेला पुनर्स्थापनाको पर्खाईमा छ। तर, पुनर्स्थापनामा भएको ढिलाईले उनीहरुको दैनिकी कष्टपूर्ण बनिरहेको छ। शिविरमा बस्दै आएकी भूमिका खत्रीले पनि पुनर्स्थापनाका लागि पहल गरिदिन सरकारसँग आग्रह गरिन्।

‘किस्ता–किस्तामा रकम दिएर चरालाई चारो दिएजस्तो भयो,’ उनले भनिन्, ‘सरकारले नै घर जग्गाको व्यवस्था गरिदिए हाम्रा दुखका दिन केही भए पनि परिवर्तन हुनेथिए।’ जिल्लाका ९ सय ७१ परिवार बाढीपीडितमध्ये सात सय १६ परिवारसँग जग्गा नै छैन भने बाँकी दुई सय ५५ परिवारसँग जग्गा भएपनि घर छैन।

कार्तिक २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्