वादी समुदायमा रोजगारीको समस्या

मादलको व्यापार ठप्प भएपछि परिवार पाल्ने चिन्ता

बादल बनाउँदै झिल्के वादी।

सुर्खेत – पञ्चपुरी नगरपालिका–६ का झिल्के वादी अहिले निकै व्यस्त छन्। सबेरैदेखि मादल बनाउन बसेका उनी साँझै मात्रै उठ्छन्। तिहारको खर्च जुटाउन उनको मजदुरी बनेको छ मादल बनाउने काम।

पहिले नयाँ मादल बनाएर बेच्ने उनी अहिले जंगलमा काठ काट्न रोकिएपछि पुराना मादल मर्मत गर्छन्। त्योसँगै उनको पेशा नै धरापमा परेको छ।

‘जंगलमा जान्थ्यौं, मादल बनाउने खमारीका रुखहरू काटेर ल्याउँथ्यौं’ उनले भने, ‘एक दिनमै १०–१२ वटा मादल बनाउने काठ ल्याएर मादल बनाएर बेच्थ्यौँ, खान लाउन र घरखर्च यसैबाट चलाएका थियौँ, अहिले त विभिन्न सामुदायिक वन बनेका छन् त्यहाँ रुख काट्न त के जान पनि पाइँदैन, त्यसैले पुराना मादल मर्मत गर्छु।’

काठ काट्न नपाएपछि जीविकोपार्जनमा समस्या हुने गरेको वादीले बताए। ‘कहिलेकाही कसैको बारीमा भएका रुख भए किनेर ल्याउँछु, सकभर भेटिदैनन् कहिँ भेटिए पनि महँगो मूल्य भन्छन्,’ उनले भने।

काठ नै महँगोमा खरीद गरेपछि मादलको पनि महँगो मूल्य पर्न जाने उनको भनाई छ। त्यसैले मादल किन्नेको संख्या हिजोआज पातलिएको छ।

वादीको ९ जनाको परिवार छ। घर बनाउन सरकारले एक लाख ६२ हजार रुपैयाँ अनुदान दिएको थियो। त्यसमा थपथाप गरी घर त बनाए। तर खेती गर्ने जग्गा छैन।

प्रविधिको विकाससँगै मादलको माग घटेको उनको ठम्याई छ। ‘पहिले मादल र शुल्पा बनाएरै खान लाउन पुग्थ्यो, आजभोलि कमाइकाज पनि केही हुँदैन, जसले गर्दा साँझबिहान छाक टार्न मुस्किल पर्छ,’ पञ्चपुरी ६ की दिलसरा वादीले गुनासो गरिन्।

वादी समुदायले परम्परागत रुपमा खमारी, पियारी लगायत काठका मादल बनाएर बिक्री गरी परिवार धान्दै आएका थिए। तर, पछिल्ला वर्षहरुमा सामुदायिक वन उपभोक्ता समितिमार्फत वन संरक्षण गर्न थालेपछि वादीहरुको पेशा नै संकटमा परेको छ। काठ काट्न नपाउँदा आफूहरुको जीविकोपार्जनमा समस्या उत्पन्न भएको दिलसराले बताइन्।

स्थानीय सरकारले पनि वादी समुदायलाई बेवास्ता गरेको गुनासो उनीहरुको छ। वादीहरूका लागि पर्याप्त बजेट र योजनाहरु नपारेको पञ्चपुरीकै स्थानीय शिक्षक हरिलाल वादीले बताएका छन्।

दलितभित्रकै पिछडिएको समुदायको रुपमा चिनिएको वादी समुदायका कयौं बालबालिका शिक्षा र स्वास्थ्य सेवाबाट बञ्चित भएको बताउँदै उनले नगरपालिकाले पनि यो विषयमा सोच्न जरुरी रहेको उल्लेख गरे।

पञ्चपुरी नगरपालिका–६ का वडा अध्यक्ष खड्कबहादुर थापाले सात घरधुरी वादी समुदायलाई आर्थिक रुपमा सबल बनाउन कार्यक्रम ल्याइएको जानकारी दिए।

आर्थिक वर्ष २०७५/०७६ को बजेटमा वडाबाट ३० हजारको बाख्रा पैंचो कार्यक्रम ल्याएको र आगामी दिनमा शिक्षा, स्वास्थ्य सम्बन्धित अन्य कार्यक्रम ल्याउने उनले बताएका छन्।

कार्तिक २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्