राजनीतिककर्मीकाे तिहार

गण्डकी प्रदेशका मुख्यमन्त्रीले यसरी मनाउँदै छन् तिहार

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ।

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको यसपाली तिहारको भाइटीका लगाउने छैनन्। असाध्यै मनपर्ने चाड तिहार ठूलीआमाको निधनका कारण मनाउन नपाएका हुन्। उनका अनुसार ठूलीआमाको निधन भएको वर्षदिन पुगेको छैन।

यद्यपि तिहार भन्ने बित्तिकै यसको सांस्कृतिक पक्ष गुरुङले सम्झिए। ‘हाम्रो समुदायमा यो पर्व विशेष हर्षोल्लासका साथ मनाइन्छ, चेलीहरु रोटी, असला माछा र रक्सी कोशेलीका साथ तिहारको टिका लगाउन आउँछन्, चेलीबेटीको आगमनको विशेष महत्व हुन्छ,’ मुख्यमन्त्री गुरुङले देश सञ्चारसँग भने।

रक्सीको कोशेली

प्रकृति पूजक आदिबासी जनजाथि समुदायमा रक्सी कोशेली लाने परम्परा छ। अहिले पनि यो परम्परा चलिनै रहेको छ।

अझै पनि रक्सी कोशेली लानु जायज होला त? ‘यो हाम्रो प्रथा परम्परा र संस्कारसँग जोडिएको कुरा हो, चेलीबेटीले रक्सी दिएनन् भने दाजुभाइले सम्मान नगरेको महसुस गर्छन्, हाम्रो समुदायमा रक्सी कोशेली अनिवार्य मानिन्छ,’ मुख्यमन्त्री गुरुङले प्रष्ट पारे।

गुरुङले यो प्रथाबाट सामाजिक विकृति ननिम्तिने पनि धारणा राखे। ‘परिश्रम नगर्नेहरु र रक्सी मात्रै खाएर हिँड्नेबाट हो विकृति आउने,’ उनले भने, ‘गुरुङ समुदायमा मर्दापर्दा सबै कार्यमा रक्सी अनिवार्य गरिएको हुन्छ।’ उनले सुत्केरी चेलीलाई जाँड खुवाउने चलन रहेको बताए।

यही प्रसंगमा मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशमा मदिरा बिक्री वितरणमा नयाँ नियम लागू गर्ने जानकारी दिए। उनले भने, ‘जे कुरा पनि चाहिनेभन्दा बढी भए त्यो अमृत पनि विष समान हुन्छ।’

उनले मदिरा सेवन बढेको र यसले अपराधलाई प्रश्रय दिएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि नीति नियम बनाउन जरुरी रहेको बताए।

संस्कृतिप्रतिको प्रेम

तिहार उज्यालो पर्व हो। झिलिमिली बत्ती, ढकमक्क फुलेका फूलहरु र देउसीभैलोका भाकाहरु मुख्यमन्त्री गुरुङलाई अत्यन्तै रमाइलो लाग्छ रे। ‘फूलै फूलको पर्व तिहारको माहोलले जो–कोहीको मन पनि लोभ्याउँछ,’ उनले भने, ‘म पनि हिन्दु धर्म संस्कार–संस्कृतिलाई आत्मसात् गर्दै यहाँसम्म आएको हुँ, पर्वहरुका आफ्नै मौलिक विशेषताहरु छन्, यसको महत्व र महिमालाई बिर्सनु हुन्न।’

तिहारले प्रकृति र मानवबीचको सम्बन्ध र महत्वलाई उजागर गरेको मुख्यमन्त्रीको धारणा छ। ‘यमपञ्चकका पाँचै दिनका विशेषता छन्, सप्तरंगी टीकामा हरेक रंगहरुको अर्थ छ, ‘ढोकामा ओखर फोर्नु, तेलको धारा दिनु, बिमिरोको पूजा गर्दै दिदिबहिनीले दाजुभाइको सुस्वास्थ्य दीर्घायुको कामना गरेका हुन्छन्, यसले दाजुभाइ, दिदिबहिनीबीचको आत्मीय सम्बन्धलाई प्रगाढ गराउँछ,’ उनले भने।

गुरुङले विगत वर्षहरुमा आफ्नै जन्मस्थान लमजुङको गिलुङमा टीका लगाएको स्मरण गरे। ‘मेरी एक दिदी र एक बहिनी छिन्, दिदीबहिनीको हातबाट सप्तरंगी टीका, गलामा सयपत्रीको माला र शिरमा ढाकाको टोपी लगाएपछिको अनुभव निकै अविस्मरणीय हुन्छ,’ उनले भने।

जिम्मेवारी बढेपछि…

आफ्नो पदीय जिम्मेवारीका कारण अचेल मुख्यमन्त्री गुरुङलाई फुर्सदको समय धेरै छैन। ‘यो वर्ष मेरो काँधमा, प्रदेशको मुख्यमन्त्री र पार्टी इञ्चार्जको जिम्मेवारी आएको छ, फुर्सदको समय निकै कम हुन्छ,’ उनी भन्छन्, ‘अहिले तिहारमा केही कार्ययोजना बनाएको छु, तिहारमा भेटघाट कम हुन्छ, सबै बिदामा हुन्छन्, अन्य कार्यक्रम हुँदैनन्।’

मुख्यमन्त्रीले यो तिहारको विशेष समयमा केही योजनाहरु बनाएको सुनाए। विशेषगरी, प्रदेशको बजेट कार्यान्वयनमा चिन्तन गरिरहेको उनले बताए। ‘यो तिहारको समयलाई भरपुर सदुपयोग गर्ने सोचमा छु, केही उपलब्धीमूलक पुस्तक अध्ययन गर्नेछु, यसको अलावा विभिन्न मन्त्रालयको बजेट कार्यान्वयनका लागि झण्डै ८०–९० वटा सुझाव आएका छन्, कार्यविधिहरुको मस्यौदा आएको छन्, ती अध्ययन गर्ने छु,’ उनले भने।

गुरुङले गरिवी निवारण र समृद्धि हासिल गर्ने सम्बन्धमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेखकका पुस्तक अध्ययनसँगै विभिन्न मन्त्रालयबाट सुझावका लागि आएका कार्यविधिका मस्यौदा अध्ययन गरेर प्रभावकारी कार्यान्वयनका लागि उचित राय सल्लाह सुझाव दिने बताए। यो सँगसँगै कर्मचारी अभावलाई झेलेर कसरी अगाडि बढ्ने भन्ने योजना तय गर्ने उनले बताए।

मुख्यमन्त्री गुरुङले तिहारको समयमा अध्ययन गरेका पुस्तकहरुले प्रदेशको समृद्धिका लागि नयाँ सोच ल्याउने विश्वास व्यक्त गरे। अन्त्यमा उनले तिहारमा लक्ष्मीको पूजा हुने भएकाले सबैको समृद्धिको कामना गरे। उनले नेपाली समाज सांस्कृतिक रुपमा धनी भएकाले यसलाई विकृति र विसंगती हुनबाट जोगाउन सबैलाई आग्रह गरेका छन्।

कार्तिक २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू