प्रवासीमाझ तिहारको उल्लास

तिहार मनाउन कालापहाडबाट फर्किए नेपाली कामदार

तिहारका लागि नेपालगञ्ज नाका हुँदै घर फर्किएका नेपाली कामदार। तस्बिरहरुः कुमार श्रेष्ठ/देश सञ्चार

नेपालगञ्ज – बाँकेको मदनचोकका नारायण गुरताल (विक)ले गतवर्षको तिहारमा भाइटीका लगाउन पाएनन्। उनी भारतको मुम्बईमा १२ वर्षदेखि कुकको काम गर्दै आएका छन्। गतवर्षको तिहारमा नारायणलाई छुट्टी मिलेन।

यसपाल नारायण खुशियाली लिएर आएका छन् घर। नेपालगञ्ज नाकाबाट विभिन्न सामानसहित मुस्कुराउँदै नारायण नेपाल छिरे। नारायणका दुई दिदी छन्। ‘यसपाली त दिदीको हातबाट सप्तरंगी टीका लगाएर, गलामा सयपत्रीको माला लगाउन पाइने भयो,’ नारायणले भने, ‘तिहारजस्तो खुशियालीपूर्ण चाडमा घर आउन नपाउँदा पोहोर साह्रै खल्लो लागेको थियो।’

नारायणका पाँच दाजुभाई छन्। उनी माइला हुन्। चार जना दाजुभाइ उनीसँगै मुम्बईमा काम गर्छन्। उनी भाइहरु गणेश, शंकर र विष्णुसँगै तिहारमा रमाउन घर फर्किएका छन्। दसैँमा नआएका उनी तिहारमा दिदीको हातबाट भाइटीका लगाउन आइपुगेका छन्।

नारायणको मासिक १८ हजार भारु तलब छ। ‘नेपालमा रोजगारी पाइँदैन, उतै काम गर्न बसेको छु, हामी चारै भाइ उतै छौँ,’ नारायणले अगाडि रिक्सामा अरु भाइहरु गएको इशारा गर्दै भने, ‘काम र दाम राम्रै छ, खुशी नै छौँ।’

दैलेखका सार्जन परियार पनि तिहारको टीका लगाउन घर फर्किएका छन्। दसैँमा नआएका उनी तिहारमा आइपुगेका छन्। कालापहाडमा मजदुरी गर्ने उनी तिहारमा घरपरिवार र साथीभाइसँग रमाइलो गर्न औँधी मन पराउँछन्। ‘दीपावली भारतमा पनि धुमधाम हुन्छ, हामीलाई त आफ्नै गाउँ प्यारो लाग्छ, दिदी–बहिनीसँग टीका लगाउने, साथीभाइसँग देउसीभैलो खेल्ने,’ विगत सम्झिदै परियारले भने।

नेपालगञ्ज नाकाबाट घर फर्किनेहरुको सबै मुहारमा तिहार झल्किएको छ। ‘छुट्टी’ पाएर दिदीबहिनीको हातबाट टीका थाप्न आएकाहरुले तिहार विशेष लाग्ने बताउँछन्। रुकुमका जोग बुढा पाँच महिनामा घर फर्किएका छन्। दसैँमा घर नआएका उनी तिहारमा भने निधार रंग्याउने आएका छन्।

नेपालगञ्ज नाकाबाट दसैँमा दैनिक तीन हजारसम्म भारतमा काम गर्न गएका नेपालीहरु घर फर्किए। तिहारमा घर फर्किनेको भीड नै छ। नेपालीको ठूलो चाड दसैँमा नआएकाहरु तिहारमा घर फर्किएका छन्। कोही दसैँमा छुट्टी नपाएर तिहारमा आएका छन् भने कोही तिहारलाई विशेष मानेर यतिबेला घर आएका छन्।

आफ्नै उत्पादनले वर्षभरि खाना नपुग्ने, देशभित्र रोजगारी नपाएपछि मौसमी कामका लागि भारत जाने पहाडी जिल्लाका बासिन्दाहरु चाडवाड, खेतीपातीको बेला घर फर्किन्छन्। जाजरकोटका मने सुनारले अरु बेला जेजस्तो दुखजिलो गरेपनि तिहार त घरमै मनाउनु पर्छ भनेर आएको बताए। उनी श्रीमतीलाई लिएर सिम्ला गएका थिए।

रोजीरोटीका लागि भारतका विभिन्न शहरमा काम गर्न जाने नेपालीहरु चाडवाडमा घर फर्किंदा गाउँघर नै उज्यालिने गर्छ। पहाडी जिल्लाका गाउँवस्ती भारतीय शहर र खाडी मुलुकमा जाने लहरले गर्दा अरु बेला रित्तो नै हुने गर्छ। जाजरकोटका मने भन्छन्, ‘दसैँ र तिहारमा गाउँमा धेरै रमाइलो हुन्छ, सबैजना घरमा आएका हुन्छन्।’

कार्तिक २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू