भैलो खेल्न हिँडेका सर्वसाधारण सवार जीप दुर्घटना, २० जना घाइते

दुर्घटनामा परेको जीप।

दाङ – दाङमा भैलो खेल्न जाँदै गरेका सर्वसाधारणहरु चढेको जीप दुर्घटना हुँदा २० जना घाइते भएका छन्।

तुलसीपुर उपमहानगरपालिका ७ राजापुरमा लु१च ७५१६ नम्बरको जीप दुर्घटना हुँदा भैलो खेल्न जाँदै गरेका २० जना घाइते भएका हुन्।

तुलसीपुर बजारबाट आदर्श युथ क्लवको टोली पर्सेनीमा भैलो खेल्न आउदै गरेको उक्त जीप तीब्र गतिका कारण दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन्।

केही घाइतेहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। केहीको घोराही र नेपालगञ्ज रिफर भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीले जनाएको छ। दुर्घटनापछि जीपका चालक फरार भएका छन्।

घाइतेमध्ये अहिलेसम्म तीन जनाको मात्रै परिचय खुलेको छ। जस्मा तुलसीपुर उपमहानगरपालिका–७ झुमारेकी १८ वर्षीया कामना भुसाल टाउकोमा चोट लागेको र सोही ठाउँका २४ वर्षीय सुदन चौधरीलाई तुलसीपुरमा प्रारम्भिक उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ।

यसैगरी, सोही ठाउँकी १७ वर्षीया सरस्वती भट्टराईको प्रारम्भिक उपचारपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ल्याइएको ट्राफिक प्रहरी कार्यालय सञ्चार शाखाका प्रहरी हवल्दार डिमबहादुर थापाले जानकारी दिए।

कार्तिक २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्