
आज गोवर्द्धन पूजा, तिहारको रौनकले रन्किएको माहोल छ। साँझमा पूजा गरी घर घरमा देउसी खेल्न जाने दिन विशेष छ। यस्तै नेवारहरुको पनि विशेष दिन हो आज। नेवारहरुले मनाउने विशेष पर्व ‘म्हः पूजा’ अर्थात् आफैँलाई पूजा गर्ने दिन।
राष्ट्रिय विभूति शंङ्खरधर साख्वाले विं सं ९३७ मा नेपाल संवतको सुरुवात गरे। म्हः पूजा योभन्दा अगाडिबाट नै सुरु भएको मानिन्छ।
म्हः पूजा र गोवर्द्धन पूजा
म्हः पूजा आफूले आफैँलाई पूजा गर्ने पर्व हो। हरेक वर्ष नेपाल संवत सुरु हुने दिन नेवारी सम्प्रदायमा म्हः पूजा गरिन्छ। आफू नै सबैभन्दा ठूलो चिज हो, त्यसैले आफ्नो सम्मान गर भन्ने हेतुले म्हः पूजा गरिन्छ। संस्कृति शिरोमणि हरेराम जोशी आफूलाई पूज्ने परम्परालाई कृष्णको कथासँग जोडेर व्याख्या गर्छन्।
द्वापर युगमा संसारमा जे जति विकास हुन्थे, त्यसको श्रेय राजालाई दिनुपर्थ्यो। भनिन्छ, हरेक कामको ‘क्रेडिट’ राजा इन्द्रलाई नदिए उनी रुष्ट भई जनतालाई दुख दिन्थे। दुख गरेर बाली सप्रियो भने ‘इन्द्र महाराज खुसी भएर हो’ भन्नुपर्यो र उनलाई धन्यवाद दिन आराधना गर्नुपर्थ्यो।
एक समय कृष्णले जनताको कान फुके, ‘इन्द्र खुसी भएर होइन, आफूले मेहनत गरेर बाली राम्रो भएको हो। त्यसैले भगवानलाई होइन, आफैँले आफैँलाई सम्मान गर्न सिक।’
त्यसपछि जनताले इन्द्रको आराधना गर्न छोडे र आफू मेहनत गर्न थाले। राजा इन्द्रले यो कुरा सहन सकेनन् र धेरै पानी पारिदिए, गाउँ नै डुबानमा पर्यो। घर बगाए, बस्ने छत भएन, हिउँ पारे, तुसारो पारे। त्यसपछि कृष्णले गोवर्द्धन पर्वत हातमा उचालेर नागरिकलाई ओत दिएका थिए। इन्द्रले क्रियाकलापले नागरिकलाई केही फरक परेन।
इन्द्रले जति दुख दिँदा पनि जनता इन्द्रलाई हार गुहार गर्न गएनन्, पूजा गर्न गएनन् र पछि इन्द्रले हार मानेर जुन कुरा कृष्णले सुरु गरे त्यसैलाई स्वीकार गरे।
हो, म्हः पूजा आफ्नो क्षमता, परिश्रम र मेहनतको पूजा हो। भगवान खोज्न अन्त कतै जानुपर्दैन आफू नै भगवान हो भन्ने सन्देश हो, म्हः पूजा। आफू भएपछि मात्र संसार हुन्छ भन्ने मान्यता स्वरुप म्हः पूजा गरिने जोशी बताउँछन्।
कसरी गरिन्छ म्हः पूजा
सँस्कृतिविद् पुरुषोत्तम लोचन श्रेष्ठका अनुसार म्हः पूजा नेपालका नेवारहरुले मात्र मान्ने परम्परा हो। नेपालका धेरै सँस्कृति मध्ये अनुपम मानिने म्हः पूजा मौलिक पर्व हो। म्ह पूजा निम्न अनुसार गरिन्छ,
–माटोले लिप्ने
–चामलको पिठोले मण्डल बनाइन्छ, नेवारी भाषामा ‘मरङ्ग’ भनिन्छ। यो दुई रंगको हुन्छ, अबिर र सुन्तला रंगको।
–मण्डलीलाई फूल, लाभा, फलफूलले सजाइन्छ।
–मण्डललाई अगाडि राखेर बस्ने,
–बत्ति बाल्ने अक्षता राख्ने (आँखे), ओखर राख्ने
–मुटुमारी चाहिन्छ
यो सबै सामानलाई माना, पाथी लगायतका सामानलाई राखेर टाउकोबाट खन्याउने गरिन्छ। पूजा गर्ने विधि, समान ठाउँ अनुसार फरक हुन्छन्।
यो पूजा गर्नलाई ब्रत बस्नु पर्दैन। तयारी सुरु गर्दासम्मको समयलाई नाप्ने हो भने यो १ घण्टामा सकिन्छ। संसारमा सबैभन्दा मूल्यवान भनेको स्वयम् हो। आफूले आफूलाई चिन्न सक्नुपर्छ। त्यसपछि मात्र संसारलाई चिनिन्छ। तबमात्र राम्रो काम गर्न सकिन्छ।
पुरुषोत्तम लोचन श्रेष्ठ भन्छन्, ‘म्हः पूजा नेपाल संवत भन्दा अगाडिबाट सुरु भएको हो। आफूले आफूलाई चिन्ने, म नै ब्रम्हा हो, म नै विष्णु हो, म नै सर्वश्रेष्ठ हो भनेर स्विकार्ने पर्व हो म्हः पूजा। आदर्शको सन्देश बोकेको यो पर्व वैद्धिक कालदेखि नै चलिआएको पूजा हो।’
श्रेष्ठका अनुसार नेपाल संवत् सुरु भएपछि अझ झकिझकाउ तरिकाले यो पर्व मनाउन थालियो।
यो पर्वले ‘म’ भन्न सिकाउँछ, आफ्नै प्रशंसा गर्न सिकाउँछ। ‘म राम्रो, म सुन्दर’ तर यसको आदर्शले ‘आफूभित्र भएको अज्ञानतालाई नाश गर्ने, आफूलाई चिन्न सिकाउँछ।’ लोचन भन्छन्, ‘यो संसारमा आफू आउनुको महत्व बुझाउनलाई म्हः पूजा गरिन्छ।’