नारी दिवसका दिन बोक्सीको आरोपमा भएको थियो आक्रमण

राधा चौधरीमाथि फेरि आक्रमण, लक्ष्मीपूजाकै दिन निर्घात कुटपिट

धनगढी – अन्तर्राष्ट्रिय नारी दिवसमा दिन गत फागुन २४ गते बोक्सी आरोपमा कुटिएकी कैलालीको घोडाघोडी नगरपालिका–५ देउकलियाकी राधा चौधरीमाथि फेरि बोक्सी आरोपमा कुटपिट भएको छ।

लक्ष्मी पूजाको दिन बुधबार साँझ राधालाई सोही ठाउँका २८ वर्षीय कालीचरण चौधरीले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीका अनुसार राधालाई कुटपिट गर्ने कालीचरणलाई किटानी जाहेरीपछि पक्राउ गरिएको छ।

अपराध संहिता २०७४ अन्तर्गत कुटपिट गर्ने कालीचरणलाई कारबाही गरिने वलीले बताए। ‘घटनाको प्रहरीलाई जानकारी आएलगत्तै पक्राउ गरिएको र आरापी सुख्खड प्रहरीका नियन्त्रणमा छ,’ उनले भने, ‘अदालत खुलेको दिन म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाढी बढाउछौँ।’

गत वर्ष फागुन २४ गते नारी दिवसका दिन देउकलियाका भोलेबाबा उर्फ रामबहादुर चौधरीले बोक्सी आरोपमा राधा चौधरीलाई निर्घाट कुटपिट गरेका थिए।

राधालाई कुटपिट गरेको अभियोगमा रामबहादुरसहित उनका दुई सहयोगी अहिले जेल सजाय भोगिरहेका छन्। जिल्ला अदालत कैलालीले भोलेबाबा रामबहादुर चौधरीसहित तीन जनालाई दोषी ठहर गर्दै कैद फैसला सुनाएको थियो।

भोलेबाबालाई पाँच वर्ष कैद सजाय र एक लाख जरिवाना भराउने फैसला गरिएको छ।

राधालाई बोक्सी भन्दै कुटपिट गर्ने सोही ठाउँका भोलेबाबाका सहयोगी किस्मती चौधरी (किस्मत) लाई ५० हजार जरिवाना, एक वर्ष कैद र पार्वती चौधरी (स्मारिका) लाई ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना भराउने फैसला भएको छ।

कार्तिक २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्