प्रधानमन्त्रीद्वारा तिहारको शुभकामना

तिहारको शुभकामना दिँदै ओलीले भने, ‘अबको राष्ट्रिय अभिभारा आर्थिक समृद्धि’

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सर्वोपरी राष्ट्रिय अभिभारा, संकल्प र कामको केन्द्रबिन्दु आर्थिक समृद्धि भएको बताएका छन्। तिहारका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन्।

सन्देशमा प्रधानमन्त्री ओलीले जनताको पछौटेपन, अविकास र गरिविको कुचक्रलाई तोडेर आगामी चार वर्षमा देशलाई अल्पविकसित अवस्थाबाट स्तरोन्नती गर्ने प्रतिवद्धता व्यक्त गरे। ‘विगतमा गुमाइएका मूल्यवान समयको शोधभर्ना गर्न आर्थिक विकासको गतिलाई अब असाधारण तीव्रता दिइने छ,’ सन्देशमा प्रधानमन्त्री ओलीले भने, ‘सन् २०३० सम्ममा दीगो विकासका लक्ष्य हासिल गर्न हामी दृढ संकल्पित छौँ।’

हरेक नेपालीको मुहारमा खुशी ल्याउन निजी क्षेत्रलाई साथै लिएर सरकार अघि बढेको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्। यसै उद्देश्यका लागि केही समयअघि आफ्नो अध्यक्षतामा उद्योग वाणिज्य क्षेत्रसँग सम्बन्धित संस्था तथा वरिष्ठ व्यक्तिहरु सम्मिलित उद्योग वाणिज्य प्रवर्द्धन संवाद परिषद् गठन गरिएको प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओलीले देशलाई आर्थिक रुपान्तरणको मार्गमा अघि बढाउन अहिले उपयुक्त समय भएको उल्लेख गरे। ‘देशमा राजनीतिक स्थायित्व कायम भइसकेको छ, सरकार सुशासनका निम्ति समर्पित छ, उत्तरदक्षिण दुवैतिरका छिमेकीहरुसँगको सम्बन्ध सन्तुलित मात्र होइन झन् प्रगाढ बनेको छ,’ प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘हामीसँग सक्रिय जनसंख्याको बाहुल्य छ, यस अनुकूलतताका आधारमा हामी देशलाई आर्थिक रुपान्तरणको मार्गमा अघि बढाउदै छौँ।’

समृद्धिको प्रतिक लक्ष्मीपूजा र तिहारको अवसरमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्न आ–आफ्नो क्षमता अनुसार योगदान पुर्याउन हरेक नेपालीलाई प्रेरणा मिलोस् भन्ने प्रधानमन्त्री ओलीले शुभकामना व्यक्त गरेका छन्।

कार्तिक २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू