सुदूरपश्चिम प्रदेशका सभामुख, मुख्यमन्त्री र मन्त्रीले कहाँकहाँ लगाउँदैछन भाइटीका?

धनगढी- सुदूरपश्चिम प्रदेशका सभामुख, मुख्यमन्त्री र मन्त्रीले विभिन्न स्थानमा शुक्रबार भाइटीका लगाउँदैछन्।

मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढीमै भाइटीका मनाउने छन्। दशैंको टीका थाप्न डोटीस्थित घर पुगेका मुख्यमन्त्री भट्ट भाइटीका थाप्न डोटी नजाने भएका छन । मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिव ओलीका अनुसार भाइटीकाका लागि डोटीमा रहेकी एक मात्र बहिनी पशुपति अवस्थीलाई उनले धनगढी बोलाएका छन्।

स्वकिय सचिव कबिन्द्र रोकायाका अनुसार सभामुख अर्जुनबहादुर थापाले धनगढी वडा नं. १ शिवनगरस्थित आफ्नो घरमा भाइटीका थाप्ने छन्। उनले ७१ वर्षीया दिदी हिरा बोगटीसँग भाइटीका लगाउने कार्यक्रम छ।

सामाजिक विकास मन्त्री दीघ सोडारीले धनगढीस्थित सरकारी सुविधाको निवासमा आफ्नै बहिनी रम्भा सोडारी र धर्मबहिनी नेत्रा नाथको हातबाट भाइटीका ग्रहण गर्ने छन्। भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा बहिनीको हातबाट भाइटीका ग्रहण गर्नका लागि पर्शुराम नगरपालिका ४ कटान पुगेका छन्। उनले त्यहाँ आफ्ना चार बहिनीहरु सीतादेवी धामी, धनदेवी बोहरा, तारादेवी साउद र सरुदेवी धामीसँग पर्शुराम–४ स्थित मन्त्री बोहराकै घरमा भाइटीका लगाउने कार्यक्रम छ।

आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले धनगढी ४ स्थित आफ्नै घरमा दिदी नन्दा बोहरालाई बोलाएर भाइटीका थाप्ने कार्यक्रम रहेको बताए। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले बर्दियास्थित माइती घरमा गएर दाजुभाइलाई भाइटीका लगाइदिने छिन्। त्यसका लागि चौधरी बिहीबार बर्दिया गएकी छन्।

उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका प्रकाश रावलले चार जना दिदीबहिनीको हातबाट महेन्द्रनगरस्थित आफ्नै घरमा भाइटीका लगाउने छन्। आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहको दाइ वितेको हुनाले उनले भाइटीका लगाउने छैनन्। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टकी ८० वर्षीया आमा हरिकलादेवी चन्द गतवर्ष निधन भएकोले यसपटक उनको पनि भाइटीका लगाउने कार्यक्रम छैन।

कात्तिक २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्