देश छोड्नु पर्ने भनाईमा यस्तो आयो विराट कोहलीको सफाई

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले देश छोड्ने सल्लाह सम्बन्धी आफ्नो विवादित भनाई ट्रोल भएपछि सफाई दिएका छन् । कप्तान कोहलीले ट्वीट गर्दै आफ्नो सफाई पेश गरेका हुन्।

उनले ट्वीटमा आफू हरेक व्यक्तिको रोजाईको सम्मान गर्ने व्यक्ति रहेको बताएका छन् । तर आफूले त्यो कमेन्टमा व्यक्तिगत नभई ‘भारतीय’ भनिएका कारण त्यस्तो जवाफ दिएको कोहलीको भनाई छ।

उनले ट्वीटमा लेखेका छन्, ‘साथीहरु मलाई लाग्छ कि ट्रोलिङ्ग मेरा लागि होइन, म ट्रोलिङ्ग भइरहन मनपराउँछु । मैले त्यो कमेन्टमा ‘यी भारतीय’ भनेकोमा बोलेको हुँ अरु केही होइन । कसैलाई मन पराउने स्वतन्त्रताको समर्थन गर्छु । साथीहरु यसलाई हल्का रुपमा लिनु होस् र चाडपर्वको मौसमको आनन्द लिनुहोस् । माया तथा सबैका लागि शान्तीको कामना ।’

बुधबार एक एप्लिकेशनमा एक भिडियो आएको थियो, जसमा विराटले ट्वीटर र इन्स्टाग्राममा आएका सन्देश पढेका थिए । यही क्रममा उनले एक सन्देश पढे, जसमा कसैले उनलाई ‘ओभररेटेड’ खेलाडी भनेका छन् । सन्देशमा लेखिएको थियो, ‘तपाईँ ओभररेटेड खेलाडी हो । व्यक्तिगत रुपमा मलाई खासै केही लाग्दैन । मलाई भारतीय ब्याट्सम्यान भन्दा बेलायती र अस्ट्रेलियन ब्याट्सम्यान मन पर्छ ।’

यसको जवाफ कोहलीले निकै तिखो रुपमा दिए । उनले जवाफमा भनेका छन्, ‘मलाई लाग्छ तपाईँ भारतमा बस्नु हुँदैन.. अरु कतै जानुहोस् । तपाईँ हाम्रो देशमा बसेर अरु देश किन मन पराउनु हुन्छ ? मलाई मन पराउनु हुँदैन ठीकै छ तर तपाईँ हाम्रो देशमा बसेर अरु ठाउँकै कुरा मनपराउनु मिल्छ जस्तो लाग्दैन । आफ्ना प्राथमिकता तय गर्नुहोला ।’

यसपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन् । विराट कोहलीको आलोचना भइरहेको छ । आइरोनी अफ इन्डिया नाम गरेको ट्वीटरट ह्याण्डलमा विराट कोहलीको १० वर्षअघिको भिडियो शेयर गरिएको छ, जसमा उनले हर्शल गिब्स आफूलाई मन पर्ने खेलाडी भनेका छन् । यी प्रयोगकर्ताले विराटले पनि भारत छोड्नु पर्ने उल्लेख गरे ।

कार्तिक २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू