पत्रकार जमाल खाशोग्गी हत्या प्रकरण

खाशोग्गीको शरीर नष्ट गर्न प्रयोग गरिएको एसिडको नमुना भेटियो

हत्या भएका साउदी अरेबियाका पत्रकार जमाल खाशोग्गीको पार्थिव शरीरको वास्तविक अवस्था अझैसम्म थाहा भएको छैन ।

गएको अक्टोबर २ मा टर्कीको स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा पशेदेखि बेपत्ता भएका पत्रकार खाशोग्गीको हत्या भएको बताइए पनि साउदी अरेबियाले लामो समयसम्म जानकारी नै नरहेको बताएको थियो ।

तर झण्डै तीन हप्तापछि उनको कन्सुलर कार्यालयमा भएको मुक्का हानाहानमा मृत्यु भएको बतायो । त्यसको केही दिनपछि बोली फेर्दै खराब नियत भएका एजेन्टहरुले उनको हत्या गरेको भन्यो ।

साउदी अरेबियाको भनाईबाट अन्तर्राष्ट्रिय समुदाय विश्वास गर्ने अवस्थामा पुगेका छैनन् । किनकी अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गी साउदी अरेबियाका शक्तिशाली युवराज मोहम्मद बिन सलमानका कडा आलोचक थिए । यहि कारण युवराज सलमानकै निदेर्शनमा खाशोग्गीको हत्या भएको आशंका गरिन्छ ।

साउदी अरेबियाले भने यसमा युवराज मोहम्मदको कुनै पनि किसिमको संलग्नता नरहेको स्पष्ट पारेको छ । हत्या भएको पुष्टि गरे पनि पत्रकार खाशोग्गीको शरीरको अवस्थामा भने अहिलेसम्म पत्ता लागेको छैन ।

उच्च साउदी अधिकारीको निर्देशनमा हत्या भएको बताउँदै आएको टर्कीका अधिकारीले खाशोग्गीको हत्यापछि शरीर एसिड खन्याएर नष्ट गरिएको बताउँदै आएका छन् ।

घटनाको अनुसन्धान गरिरहेका टर्कीका अधिकारीले खाशोग्गीको शरीर नष्ट गर्न प्रयोग गरिएको भनिएको हाइड्रोफ्युरिक एसिडको मात्रा साउदी कन्सुलर जनरलको स्थानबुलमा रहेको घरमा भेट्टाएको बताएका छन् ।

टर्कीका महान्यायाधीवक्ताको कार्यालयका अधिकारीलाई उद्धृत गर्दै अल जजिराले यस्तो बताएको हो । साउदी कन्सुलर जनरलको घरमा मुश्किलले प्रवेश पाएका टर्कीका अनुसन्धानकर्ताले एसिडको नमुना फेला पारेको कतारी समाचार संस्थाले जनाएको छ । हाइड्रोफ्युरिक एसिडसँगै अरु रसायनहरु पनि भेटिएको बताइएको छ ।

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले नोभेम्बर २ मा खाशोग्गीको हत्यापछि उनको शरीर एसिडमा डुबाइएको बताएका थिए । उनले नै द वासिङ्गटन पोस्टमा लेख लेख्दै हत्यामा साउदी उच्च अधिकारीको संलग्नता रहेको आरोप पनि लगाएका छन् ।

यसले साउदी युवराज तिर औँला तेर्सिएको छ । तर साउदी अरेबियाका राजा सलमानले आफ्ना प्रिय पुत्र तथा युवराज मोहम्मदप्रतिको आफ्नो समर्थन र साथ यथावत राखेका छन् । यसको पछिल्लो प्रमाणको रुपमा युवराजसहितको देश दौडाहालाई लिइएको छ ।

आरोपको र शंकाको घेरामा आएका युवराज मोहम्मद लामो समयसम्म घटनाका बारेमा चुप बसे । उनले नोभेम्बर २५ मा पहिलो पटक यसबारे बोल्दै अपराधी उम्किन नपाउने र सत्य बाहिर आउने बताए ।

उनले यसो भने पनि खाशोग्गीका हत्याराले सजाय पाउने र उनले न्याय पाउनेमा शंका रहेको कूटनीतिक विश्लेषकले बताएका छन् । अनुसन्धानमा साउदी र अमेरिकाको संलग्नता वा हस्तक्षेप नभए मात्रै सत्य बाहिर आउने पनि बताउने गरेका छन् ।

कात्तिक २३, २०७५ मा प्रकाशित