बागलुङ कारागारमा शुभ साइतमा भाइटीका लगाइदिँदै दिदीबहिनी।विभिन्‍न घटनामा अदालतबाट दोषी ठहर भएका ८० पुरुष र १२ महिलाहरु बन्दी गृहमा छन्।तस्बिर- जमुना बर्षा शर्मा/देश सञ्‍चार
बागलुङका कैदीबन्दीको भाइटीका

कारागारको पर्खालले छेकेन कैदीबन्दीलाई भाइटीका लगाउन

बागलुङ कारागारमा भाइटीकाको दिन साइतको घडी हेरेर बसिरहेका थिए बन्दी अर्जुन नेपाली।बन्दी गृहको ढोकाबाट बाहिर चियाइरहेका बेला उनकी बहिनी सिता नेपाली टुप्लुक्क आइपुगिन् भाइटीका लगाउन। खुशीले रमाए उनी।

जेलको बाहिर भाइटीकाकोलागि रंगोली बनाएर सजाइएको थियो।नेपाली परम्परा र संस्कृति अनुसार सबै कुराको बन्दोवस्ता त्यहाँ गरिएको थियो।अर्जुन बन्दी गृहबाट बाहिर आए। बहिनी सीताको हातबाट साइतको टीका ग्रहण गरे।जैमिनीका इन्द्र पुन, बरेङका महेन्द्र घर्ति पवर्तका अमृत कुँवरले लगायत थुप्रै बन्दीहरुले आफ्नो दिदी बहिनीको हातबाट भाइटीका लगाए।

विभिन्न घटनामा दोषी ठहर भइ कैद सजाय भोगिरहेका उनीहरुमा पनि चाडबाडको रौनक देख्‍न सकिन्थ्यो।त्यसो त अघि पछि सुरक्षामा निकै कडा गर्ने सुरक्षाकर्मीहरु आजको विशेष दिनमा भने केहि सरल देखिन्थे।उनीहरुले दाजुभाई दिदीबहिनीको बिचको मिलनलाई नजिकबाट नियालिरहेका थिए।

सहज वातावरणमा दाजुभाई दिदीबहिनीहरुले भाइटीका लगाइ दिए।सप्तरंगी टीका, सयपत्रीको मालासँगै उपस्थित दिदीबहिनीहरुले बन्दी गृहमा बसिरहेका दाजुभाईलाई मनपर्ने परिकार समेत खुवाए।चौघेराबाट बाहिर निस्केर केहि बेर भएपनि दिदीबहिनीको सामिप्यतामा रहेर मिठा मिठा परिकार खान पाउँदा उनीहरुमा केहि प्रसन्‍नता छाएको देखिन्थ्यो।

विशेष पर्वका दिन पनि दिदीबहिनी जेलमै आएर टीका लगाइदिदा निकै भावुक भएको बताए बन्दी अर्जुन नेपालीले ‘दिदीबहिनीको निस्वार्थ र निर्शत माया हुन्छ।जुन आज प्रमाणित भयो।जेलको प्रागंणमै बहिनी टीका लगाउन आइपुगिन्।’ उनले निधारमा सप्तरंगी टीका र गलामा सयपत्रीको मालाले दाजुबहिनीको यो आत्मिय सम्बन्धलाई अझै प्रगाढ बनाएको बताए।

पर्वतका अमृत कुँवरले आफ्नै घरआँगनमा भाइटीका ग्रहण गर्ने अवसर नमिले पनि बन्दी गृहमै भए पनि लगाउन पाएकोमा सन्तोष ब्यक्त गरे।‘परिस्थितिले जेल सँजाय भोगिरहेको छु , घरका सम्पुर्ण परिवारको साथ तिहार मनाउन नपाए पनि दिदी यहि आएर भाइटीका लगाइदिनु भयो।खुशी लागेको छ।’ उनले भने।

धर्म संस्कार र संस्कृति मान्‍न पाउने हरेक नागरिकको अधिकार भएकोले जेलको नियम अनुसार उनीहरुलाई भाइटीका लगाउने बातावरण मिलाएको जेलर मोहन शर्माले बताए। उनले भने ‘भाइटीका लगाउन आएका दिदीबहिनीलाई सहज वातावरणमा भाइटीका लगाउने वातावरण मिलायौ।जेलमा झण्डै ६० जनाले सौहार्दपूर्ण वातावरणमा भाइटीका लगाए।’

बागलुङ कारागारमा पुरुष बन्दीका लागि ३५ र महिला बन्दीका लागि ७ जनाका मात्रै क्षमता हो।तर विभिन्न घटनामा अदालतबाट दोषी ठहर भएका ८० पुरुष र १२ महिलाहरु बन्दी गृहमा रहेका छन्।सँगै १ नाबालक र १ नाबालिका पनि रहेका छन्। ठाउँ अभावले बन्दीहरु क्षमता भन्दा बढि राख्न बाध्य भएको जेलर शर्माको भनाई छ।