सुत्ने बानी र स्तन क्यान्सर

सबेरै उठ्नेमा क्यान्सरको जोखिम ४०% ले कम, एक घण्टा बढी सुते बढ्छ २०% जोखिम

रातभरि काम गर्ने वा बिहान ढिलोसम्म सुत्नु भन्दा सबेर उठ्नु क्यान्सरको जोखिम कम गर्नका लागि फाइदाजनक रहेको एक अध्ययनले देखाएको छ ।

बेलयातका अनुसन्धानकर्ताले गरेको पछिल्लो अध्ययन अनुसार बिहान सबेर उठ्ने महिलामा स्तन क्यान्सरको जोखिम रातभर जागै बसेर काम गर्ने वा अबेरसम्म सुत्नेको तुलनामा निकै कम देखिएको हो ।

सुत्ने समय र स्तन क्यान्सरको जोखिमबारे चार लाख ९ हजार भन्दा बढी महिलामा गरेको अनुसन्धानबाट सबेर उठ्नेमा जोखिम कम देखिएको हो ।

रातिको समयमा नसुती काम गर्ने र बिहान चाँडै उठ्ने महिलामा क्यान्सरको जोखिमका बारेमा अध्ययन गर्दा बिहान चाँडै उठ्नेमा रातभरि जागै बस्ने भन्दा जोखिम ४० प्रतिशत कम देखिएको अनुसन्धानकर्ताले बताएका छन् ।

यस्तै आवश्यक भन्दा बढी सुत्नेमा पनि क्यान्सरको जोखिम धेरै हुने देखिएको छ । दिनको सात वा आठ घण्टा भन्दा बढी सुत्नेमा हरेक थप एक घण्टाको सुताईले क्यान्सरको जोखिम २० प्रतिशत बढ्ने देखिएको हो ।

अनुसन्धानमा संलग्न बेलायतको ब्रिस्टोल विश्वविद्यालय अन्तर्गत क्यान्सर रिसर्च युके इनटिग्रेटिभ क्यान्सर इपिडिमियोलोजी कार्यक्रमसँग अबद्ध रिबेका रिचमोण्डका अनुसार अनुसन्धानलाई थप परिस्कृत गर्न बाँकी रहेको छ ।

तर क्यान्सरको जोखिम कम गर्नका लागि बिहान सबेरै उठेर काम गर्नु रातभरि जागै बसेर काम गर्नु भन्दा उपयुक्त रहेको देखिएको उनको भनाई छ । यस्तै आवश्यक भन्दा बढी सुत्नु पनि खतरनाक रहेको देखिएको छ ।

अनुसन्धानले सुत्ने समय वा बानी र स्तन क्यान्सरबिचको सम्बन्ध वा जोखिमका बारेको ‘कारण–प्रभाव’ सम्बन्धमा प्रमाणित गरेको छैन । तर यो अनुसन्धानले सुताई र क्यान्सरको जोखिमको अनुसन्धानमा थप मार्ग प्रसस्त गरेको अनुसन्धानकर्ताले बताएका छन् ।

कार्तिक २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू