मेलबर्न आक्रमण आतंकवादी गतिविधि रहेको भिक्टोरिया प्रहरीको ठहर

अस्ट्रेलियाको मेलबर्नस्थित बुर्क स्ट्रिटमा ग्यास सिलिण्डर राखिएको जिपमा आगो लगाएर छुराद्वारा गरिएको आक्रमण आतंकवादी गतिविधि भएको ठहर भिक्टोरिया राज्यको प्रहरीले गरेको छ ।

आक्रमणमा परी एकजनाको मृत्यु भएको थियो भने दुईजना सामान्य घाइते भएका थिए । आक्रमणकारीलाई प्रहरीले गोली प्रहार गरेको थियो जसको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो । सो घटनामा मृत्यु हुने व्यक्ति ‘पेलेग्रिनी एस्प्रेसो बार’का मालिक सिस्टो मालास्पिना रहेको प्रहरीले जनाएको छ ।

इस्लामिक स्टेट (आइएस) ले आक्रमणको जिम्मा लिँदै आफ्नो ‘अमाक’ समाचार वेब साइटमा आफ्ना लडाकुले उक्त आक्रमण गरेको कुरा उल्लेख गरेको थियो । उक्त समाचार संस्थाले सो कुरा पुष्टि हुने प्रमाण भने दिएको छैन ।

भिक्टोरिया राज्यको प्रहरीले ९ नोभेम्बर शुक्रबार साँझ पत्रकार सम्मेलनको आयोजना गरेर सो आक्रमणलाई आतंकवादी हमलाको रूपमा लिएको बताएको थियो । सम्मेलनमा भिक्टोरिया राज्यका प्रमुख प्रहरी कमिश्नर ग्रयाहाम एस्टनले आक्रमणकारी सोमालियाबाट सन् १९९० मा अस्ट्रेलिया आएको जानकारी दिएका थिए । उनले भने “आक्रमणकारीको केही आफन्तलाई प्रहरीले आतंकवादी गतिविधिमा संलग्न भएको आधारमा चिनेका छौँ ।”

प्रहरीले उक्त आक्रमण गर्ने व्यक्तिको परिचय नखुलाए पनि ‘द सन हेराल्ड’ पत्रिकाले भने सो आक्रमण गर्ने व्यक्ति ३१ वर्षीय मोहम्मद खालिफ रहेको लेखेको छ जस्लाई ‘हसन सायर’ भनेर पनि चिनिन्छ ।

यसअघि सो स्थानमा एक गाडीमा आगजनी भएको खबर पाएपछि प्रहरी त्यहाँ पुगेको थियो । प्रहरी पुग्नासाथ आक्रमणकारीले अन्धाधुन्ध प्रहरीमाथि पनि चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीहरूले बताएका थिए । छुरा नियन्त्रण गर्न प्रहरी तथा केही स्थानीय व्यक्तिले सहयोग गरे पनि आक्रमणकारीलाई नियन्त्रण लिन नसकिएपछि स्थानीयले प्रहरीलाई गोली चलाउन अनुरोध गर्दै चिच्याएका थिए । त्यसलगत्तै प्रहरीले आक्रमणकारीलाई गोली प्रहार गरेको थियो ।

प्रत्यक्षदर्शीका अनुसार प्रहरी घटनास्थलमा आउनुअघि आक्रमणकारीले अन्दाजी ६० वर्षीय पुरुषलाई अनुहारमा चक्कु प्रहार गरेको थियो जस्को घटनास्थलमै मृत्यु हुन पुगेको थियो भने अन्य दुईजनालाई सामान्य चोटपटक लागेको थियो । उनीहरूको उपचार भइरहेको जनाइएको छ ।

भिक्टोरिया राज्यका प्रिमियर ड्यानिल एन्ड्रूजले सो घटनाको भत्सर्ना गर्दै आक्रमणकारीलाई नियन्त्रणमा लिनका लागि सहयोग गर्ने प्रहरी तथा सर्वसाधारणलाई धन्यवाद दिएका थिए ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सो घटनाको जानकारी आफूले लिएको तथा यसको छानविन राज्य तथा फेडेरल अधिकारीहरूले मिलेर गरिरहेको बताएका थिए । उनले सो घटनाको निन्दा गर्दै हामीले प्राप्त गरेको स्वतन्त्रताको उपभोग गर्दै अघि बढ्ने र यस्ता आक्रमणले हामीलाई कत्ति पनि विचलित नबाउने कुरा एक विज्ञप्ति जारी गरेर बताएका थिए ।

कात्तिक २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्