बाघमा सफल नेपाल

नेपालले कति बाघ थेग्न सक्छ ? उत्तर खोज्न अध्ययन हुँदै

पछिल्लो एक दशकमा बाघ संरक्षणको क्षेत्रमा नेपालले राम्रो सफलता प्राप्त गरेको छ । यो सफलता अन्तर्राष्ट्रिय स्तरमा पनि उदाहरण बन्न सक्ने खालको रहेको बाघ संरक्षणको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संघ संस्थाले बताउने गरेका छन् ।

पछिल्लो दशकमा नेपालमा बाघको संख्या झण्डै दोब्बरले बढेको छ । सन् २००९ मा बाघको संख्या १२१ रहेकोमा पछिल्लो गणना अनुसार नेपालका जंगलमा बाघको संख्या २३५ पुगेको छ ।

सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको बाघ सम्मेलनले विश्वमा बाघको संख्या सन् २०२२ सम्ममा दोब्बर बनाउने लक्ष्य तय गरेको थियो । त्यो लक्ष्यमा पुग्ने नेपाल पहिलो देश बन्ने अवस्थामा छ । पछिल्ला दशकमा बाघ संरक्षणका लागि गरिएका प्रयासहरु सफल कार्यान्वयन भएको र त्यसको प्रतिफल पनि राम्रो आएकाले यो अवस्थामा पुग्न सकिएको वन तथा वातावरण मन्त्रालयका उप–सचिव तथा सूचना अधिकारी सुमन सुवेदीले बताए । नेपालमा राष्ट्रिय बाघ सर्वे सन् २०१७ को नोभेम्बरदेखि २०१८ को अप्रिलसम्म गरेको थियो ।

बाघ संरक्षणका लागि विशेष गरी बासस्थान संरक्षण र व्यवस्थापन तथा चोरी शिकार नियन्त्रणका लागि गरिएका प्रयास सफल भएको उनले बताए । बाघ संरक्षणको क्षेत्रमा काम गरिरहेका अरु निकायसँगको सहकार्यमा ‘टाइगर एक्सन–प्लान’ अनुसार काम गरिएको र संरक्षणको प्रयास थप प्रभावकारी र दीगो बनाउन आफूहरु क्रियाशिल रहेको उप–सचिव सुवेदीले बताए ।

सुरक्षा निकाय, स्थानीय समुदाय तथा यसमा काम गर्दै आएका पक्षसँगको सहकार्यमा संरक्षणका प्रयाससँगै अध्ययन, अनुसन्धानका कामहरु पनि भइरहेको उनले जानकारी दिए ।

पछिल्लो समय संरक्षणसँगै ‘क्यारिङ्ग क्यापासिटी’ अर्थात हामीसँग अहिले उपलब्ध रहेको वनले थेग्न सक्ने बाघको संख्या बारे विशेष अध्ययन भइरहेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । यो अध्ययन एक सिंगे गैँडाको सम्बन्धमा पनि भइरहेको छ ।

बाघका प्रमुख बासस्थान रहेका राष्ट्रिय निकुञ्ज तथा वन क्षेत्रमा अनुसन्धान केन्द्रित रहने र यसमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसहितका निकाय सहकार्य गरेर लागेको विभागका सूचना अधिकारी नारायण रुपाखेतीले बताए । सुरुमा चितवन राष्ट्रिय निकुञ्जमा अध्ययन हुने र अध्ययन प्रारम्भिक चरणमा रहेका रुपाखेतीले जानकारी दिए ।

यो अनुसन्धानपछि बाघको संरक्षणमा गर्नु पर्ने काम अझ स्पष्ट हुने वन मन्त्रालयले जनाएको छ । विशेष गरी अहिले रहेका बाघका लागि बासस्थानको अवस्था वास्तवमा कस्तो छ, अहिलेकै अवस्थामा थप कतिको संख्यामा बाघलाई थेग्न सक्छ र बासस्थान बढाउने सम्भाव्यता कस्तो छ भन्ने बारे अनुसन्धानले खाका प्रदान गर्ने मन्त्रालयको भनाई छ ।

कात्तिक २४, २०७५ मा प्रकाशित