हेटौँडा नै बन्ला त प्रदेश नम्बर–३ को स्थायी राजधानी?

प्रदेश नम्बर–३ को प्रदेशसभा बैठक।

हेटौँडा – प्रदेश नम्बर–३ को नामाकरणको विषयमा जुन जटिलता छ, स्थायी राजधानी तोक्ने विषय पनि त्यतिकै पेचिलो छ। तर, प्रदेशसभा सचिवालयले प्रदेशको स्थायी राजधानी र नामकरण छिटो टुंगो लाग्ने जनाएको छ।

प्रदेशसभा सचिवालयले तिहार र छठको बिदालगतै बस्ने प्रदेशसभा बैठकबाट नामाकरण र स्थायी राजधानीको टुंगो लाग्ने दावी गरेको छ।

प्रदेशको राजधानी र नामाकरणसम्बन्धी गठित आयोगबाट तयार गरिएको प्रतिवेदन प्रदेश सरकारलाई बुझाइ सकिएकाले त्यसबारे अब छिट्टै टुंगो लाग्ने सचिवालयले जनाएको छ।

प्रदेश नम्बर–३ का सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेशको राजधानी र नामकरण छिट्टै प्रदेशसभा बैठकबाट टुङ्गिने बताएका छन्।

हेटौँडाका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, उद्योगी, व्यवसायी, बुद्धिजीवीले हेटौँडालाई स्थायी राजधानी घोषणा गर्नुपर्ने माग गर्दै आएका छन्।
तर, भक्तपुरलाई प्रदेश नम्बर–३ को राजधानी बनाउनु पर्ने माग राख्नेहरुको पनि प्रदेशसभामा उत्तिकै बलियो पकड छ। त्यसैगरी, केही सांसदले काभ्रेलाई राजधानी बनाउन माग गर्दै आएका छन्।

कात्तिक २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्