पत्रकार जमाल खाशोग्गी हत्या प्रकरण

रहस्य खुल्ने ठानिएको ‘टेप’ टर्कीले अमेरिका र साउदी अरेबियासहितलाई दियो

पत्रकार जमाल खाशोग्गीको हत्यासँग जोडिएका प्रमाणहरु रहेको ठानिएको अडियो तथा भिडियो रेकर्डिङ्ग अमेरिका, बेलायत, साउदी अरेबिया तथा अरुकेहीलाई पनि उपलब्ध गराएको टर्कीले बताएको छ ।

टर्कीका अधिकारीले गएको अक्टोबर २ मा स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा पसेपछि बेपत्ता भएका पत्रकार खाशोग्गीको सोही दिन हत्या भएको र त्यसको अडियो तथा भिडियो प्रमाणसहितको टेप आफूहरुसँग रहेको बताउँदै आएका थिए ।

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले खाशोग्गीको हत्या कसले गरेको हो भन्ने साउदी अरेबियालाई स्पष्ट रुपमा जानकारी रहेको फेरि बताएका छन् ।

यसअघि टर्कीका राष्ट्रपति एर्डोगानले साउदी अरेबियाका उच्चस्तरका शासकको निर्देशनमा खाशोग्गीको हत्या भएको आरोप लगाएका थिए । उनले यस बारेमा राजा सलमानलाई जानकारी नरहेको भन्दै आरोपको औँला युवराज मोहम्मद बिन सलमानतिर सोझ्याएका थिए ।

अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गी साउदी अरेबियाका शासक, खासगरी शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) का तीव्र आलोचक थिए । यहि कारण उनको हत्या भएको आरोप छ । साउदी कन्सुलर कार्यालयमा हत्या भएका खाशोग्गीको पार्थिव शरीरका बारेमा अहिलेसम्म केही थाहा भएको छैन ।

सुरुमा पत्रकार खाशोग्गीको अवस्थाका बारेमा कुनै किसिमको जानकारी नरहेको बताउँदै आएको साउदी अरेबियाले मुक्का हानाहानमा मृत्यु र त्यसपछि खराब नियत भएका एजेन्टले हत्या गरेको भन्दै बयान जारी गरेको थियो । तर उसले खाशोग्गीको हत्यामा कुनै पनि किसिमले राज परिवारको संलग्नता नरहेको स्पष्ट रुपमा बताउँदै आएको छ ।

साउदी युवराज एमबिएसले खाशोग्गी एक खतरनाक इस्लामिस्ट रहेको बताएको भन्ने खबर पनि आएका थिए । त्यसबारे अहिलेसम्म साउदी अरेबियाले केही बताएको छैन । यो आरोप लगाएको बारेको फोनकल साउदी अरेबियाले खाशोग्गीको हत्या भएको स्वीकार गर्नु पूर्व सार्वजनिक भएको थियो ।

टर्कीको स्थानबुलमा रहेको साउदी अरेबियाको कन्सुलर कार्यालय

टर्कीले पत्रकार खाशोग्गीको कन्सुलर कार्यालयमा पसे लगत्तै हत्या भएको बताइरहँदा पनि झण्डै तीन हप्तासम्म साउदी अरेबियाले उनी कन्सुलर कार्यालयबाट बाहिर निस्किएको बताएको थियो । पछि आएर मृत्यु, त्यसपछि हत्या भएको स्वीकार गरेको साउदी अरेबियालाई टर्कीले प्रमाणको रुपमा रहेको भन्दै आएको टेप समस्याको विषय बनेको ठानिएको थियो । यो टेप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि माग गरेका थिए ।

एकअर्काका सहयोगी अमेरिका र साउदी अरेबिया खाशोग्गी हत्या प्रकरणको ढाकछोपमा लागेको आरोपका बिच टर्कीले बलियो प्रमाण भनिएको टेप अमेरिका, साउदी अरेबिया, बेलायतसहितसँग साझा गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

टर्कीका राष्ट्रपति एर्डोगानले शनिबार टेलिभिजनमा प्रशारित भएको सम्बोधनमा भनेका छन्, ‘हामीले साउदी अरेबिया, अमेरिका, बेलायत, जर्मनी र फ्रान्सलाई हत्यासँग सम्बन्धित टेप दिएका छौँ । उनीहरुले कन्सुलर कार्यालयमा भएको वार्तालाव सुनेका छन् र उनीहरुलाई थाहा छ ।’ तर अहिलेसम्म कुनै पनि देशका प्रतिनिधिले टेप सुनेको बारेमा बताएका छैनन् ।

दशक भन्दा लामो समय साउदी राज परिवारसँग नजिक रहेका खाशोग्गीले धेरै समय सल्लाहकारको भूमिकामा पनि काम गरे । तर उनी पछिल्लो समय साउदी राजपरिवार विशेष गरी युवराज एमबिएसको आलोचक बनेका थिए । यहि बिचमा भएको उनको हत्याको रहस्य अझै खुलेको छैन पूर्ण रुपमा । अब यो टेप पछि केही खुल्ने आश गरिएको छ तर यसमा पनि शंका भने रहेको विश्लेषण गरिएको छ ।

कात्तिक २५, २०७५ मा प्रकाशित