टोटनह्यामको महत्वपूर्ण जित, डिफेन्डरले गरे उत्कृष्ट गोल

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा टोटनह्याम विजयी भएको छ । अवे मैदानमा भएको खेलमा माउरिसियो पोकेटिनोको टिम टोटनह्यामले क्रिष्टल प्यालेसलाई १–० ले हराएको हो ।

पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा टोटनह्यामका लागि ६६ औँ मिनेटमा वान फोइथले विजयी गोल गरेका हुन् । प्रिमियर लिगमा गएको हप्ता डेब्यु गरेका वानले वुल्भ्ससँगको खेल दुईवटा पेनाल्टीका कारण बनेका थिए, जसमा टोटनह्यामले गोल खायो । त्यो खेलमा उनको प्रदर्शन भने राम्रो थियो ।

अर्जेन्टिनी डिफेन्डर वानले राम्रो प्रदर्शन गर्दै प्रिमियर लिगमा पहिलो गोल गरेका हुन् । २० वर्षका उनले ह्यारी केनको हेडर मार्फतको बल ब्लक भएपछि त्यसलाई गोलमा परिणत गरेका हुन् । प्रशिक्षक पोकेटिनोले खेलपछि उनको प्रशंसा गरे । वान युरोपको उत्कृष्ट मध्ये एक डिफेन्डर बन्न सक्ने उनको भनाई छ । जितपछि चौथो स्थानको टोटनह्यामको १२ खेलबाट २७ अंक भएको छ ।

लिग अन्तर्गत शनिबार राति नै भएको अर्को खेलमा कार्डिफले ब्राइटनलाई २–१ ले हरायो । कार्डिफका लागि पेटर्सन र बाम्बाले गोल गरे । ब्राइटनका लागि डुन्कले एक गोल गरेका हुन् ।

अरु खेलमा न्युक्यासलले बोर्नमाउथलाई २–१ ले हरायो भने लेस्टर र बर्नलीले गोलरहित तथा हडर्ल्सफिल्ड र वेष्ट ह्याम र साउथ ह्याम्पटन र वाट्फोर्डले १–१ को बराबरी खेलेका छन् ।

कात्तिक २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्