काठमाडौँमै नक्कली प्रहरीः असई बनेर ठगी गर्ने पक्राउ

काठमाडौँ – प्रहरी पनि नक्कली? हो, काठमाडौँमा नक्कली प्रहरी फेला परेका छन्। महानगरीय अपराध महाशाखाले नक्कली प्रहरी बनेर ठगी गर्ने एक जनालाई पक्राउ गरेको हो।

महाशाखाको टोलीले वैदेशिक रोजगारीमा फसेको पैसा उठाइदिने बहाना गर्दै महाशाखाको नक्कली प्रहरी सहायक निरीक्षक (असई) बनेर ठगी गर्ने सिन्धुपाल्चोक चौताराका ३१ वर्षीय नारायण विश्वकर्मालाई कात्तिक २१ गते पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।

उनले आफूलाई नारायण अधिकारी भएको बताउँदै आएका थिए। वैदेशिक रोजगारमा मकाउ जानका लागि कृष्ण चौधरीले बिचौलिया खुश्वु गुरुङलाई रकम बुझाएको थिए।

गुरुङले चौधरीलाई रकम फिर्ता नगरेपछि विकले ‘म महाशाखाको प्रहरी हुँ भनेर र केश मिलाइदिन्छु’ भनेर एक लाख रुपैयाँ मागेर ठगी गरेको अनुसन्धानमा खुलेको छ।

पक्राउ परेका विकसँग प्रहरीले नगद १६ हजार, मतदाता परिचय पत्र, एनटिसी र एनसेलको सिमकार्ड बरामद गरेको छ।

महाशाखाले पक्राउ परेका विकलाई मुलुकी फौजदारी अपराध (संहिता) ऐन २०७४ परिच्छेद २१ को ठगीसम्बन्धी कसुरमा आवश्यक कारवाही गर्न महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको जनाएको छ।

कात्तिक २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्