रियल मड्रिडको जितको यात्रा कायम, बार्सिलोनासँगको अंक दूरी छोट्यायो

अन्तरिम प्रशिक्षक सान्टियागो सोलारीले क्लबको जिम्मा सम्हालेदेखि रियल मड्रिडले लगातार जित्दै आएको छ । स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले सेल्टा डी भिगोलाई ४–२ ले हरायो ।

सोलारीको नेतृत्वमा रियल मड्रिडको यो लगातार चौथो जित हो । लगातारको खराब प्रदर्शनपछि रियल मड्रिडले जुलियन लोपेतेगीलाई बर्खास्त गरेर प्रशिक्षकको जिम्मा अन्तरिमकालका लागि सोलारीलाई दिएको हो ।

त्यसपछिका खेलमा रियल मड्रिडले लगातार जित निकालेको छ । आइतबार रातिको जितपछि रियल मड्रिडले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी चारमा छोट्याएको छ ।

अवे मैदानमा भएको खेलमा २३ औँ मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियल मड्रिडलाई सुरुवाति अग्रता दिलाए । ५६ औँ मिनेटमा सेल्टाका काब्रालले आत्मघाती गोल गरेपछि रियलको अग्रता दोब्बर भयो ।

६१ औँ मिनेटमा माल्लोले सेल्टाका लागि एक गोल गरे । ८३ औँ मिनेटमा पाएको पेनाल्टीमा सर्जियो रामोसले गोल गर्दै रियल मड्रिडको अग्रता ३–१ बनाए ।

८७ औँ मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै बाब्राल मैदानबाट बाहिरिएपछि सेल्टा १० खेलाडीमा सीमित भयो । इन्जुरी समयको पहिलो मिनेटमा सेबालोसले रियल मड्रिडका लागि गोल गरे । यस्तै इन्जुरी समयको चौथो मिनेटमा मेन्डेजले सेल्टाका लागि गोल गरेपछि रियल मड्रिड ४–२ ले विजयी भयो ।

रियल मड्रिड पछिल्लो पटक गएको अक्टोबर २८ मा भएको एल क्लासिकोमा ५–१ ले पराजित भएको थियो । त्यसको भोलिपल्ट लोपेतेगी बर्खास्त भएका थिए ।

सोलारीको प्रशिक्षणमा आइतबार रातिको खेलमा जित निकालेको रियल मड्रिडको १२ खेलबाट २० अंक भएको छ र उ छैटौँ स्थानमा छ । शीर्ष स्थानको बार्सिलोनाको मात्रै चार अंक बढी छ । आइतबार राति नै भएको अर्को खेलमा एलाभेसले हुएस्कालाई २–१ ले हरायो ।

कात्तिक २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्