चाडपर्वमा टन्न खानुभयो? यी रोग लाग्लान् है, ध्यान पुर्‍याउनू

भर्खरै तिहार सकिएको छ। माया र उल्लास बोकेर आउने तिहारले मिठो स्मृति त छोडेर जान्छ, सँगै रोगको रोइलो पनि।

हामी चाडपर्वमा मन खोलेर खान्छौँ। हामीले मनाउने धेरैजस्तो चाडपर्व खानेकुरासँग नजिक छन्। नेवारको योमोरी पूर्णिमा पनि यसको उदाहरण हो। दशैँ र तिहार पनि खानेकुराको उत्सव हो। यस्ता उत्सवलाई राम्ररी मनाउन नजान्दा केही नयाँ रोगले संक्रमण गर्छन् भने पुराना रोग बल्झिन्छन्।

बिएण्डबी अस्पतालका जेनरल फिजिसियन डा. दिपेन्द्र कार्कीका अनुसार तिहारपछाडि झाडापखाला, ग्याष्ट्रिक र पेन्क्रियाटाइटिसका बिरामी अस्पतालमा आएका छन्। चिल्लो, पिरो, मिठाईजन्य खानेकुरा खाएर धेरैजसोलाई ग्याष्ट्रिक र झाडापखाला भएको छ।

चाडपर्वमा अहिले मादक पदार्थ चियाजस्तै भएको छ। डाक्टर कार्कीका अनुसार, ‘प्यान्क्रियाटाइटिसको बिरामी अस्पताल आइरहेका छन्।’
एकै पल्ट धेरै खानेकुरा बनाएर राख्नाले खानेकुरा फोहोर हुँने र खानेकुरामा ढुसी आउने हुन्छ।’

धैरै खाना एकैपल्ट खानाले र बासी खाना खाएपछि फुड पोइजनिङ्गको खतरा हुने डा. कार्की बताउँछन् । ‘यसले झाडाबान्ता र झाडापखाला पनि निम्त्याउन सक्छ।’ उनी भन्छन्, ‘झाडापखालाले डिहाइड्रेसन हुन सक्छ, यसले मृगौलामा पनि समस्या निम्त्याउन सक्छ।’

यी तत्काल देखिने समस्या हुन्, यसको तत्काल उपचार गर्न जरुरी छ। तिहार तथा चाडपर्व दिर्घ रोगीलाई भने नकारात्मक प्रभाव पार्छ। डा. कार्की भन्छन्, ‘चाडपर्वपछाडि मधुमेह, मुटुको रोग, उच्च रक्तचाप हुने पनि हुन्छ। असन्तुलित खानेकुराले दिर्घरोगलाई बल्झाउन सक्छ।’
हामी खानेकुरा बनाउँछौ तर त्यसलाई सञ्चय गर्न जान्दैनौँ, सेल रोटि मिठाईलाई सफा ठाउँमा नराख्दा ढुसी आउँन सक्छ र त्यसले स्वास्थ्यलाई नकारात्मक प्रभाव पार्न सक्छ।

बिरामीले ध्यान दिनुपर्ने कुराहरु

ग्याष्ट्रिक भएको छ भने, तत्काल अस्पातलमा गएर चिकित्सकको सुझाव अनुसारको औषधि खानु उपयुक्त हुन्छ यस्तै चिल्लो खाना कम खाने, प्रशस्त पानी पिउने गर्नुपर्छ।

झाडापखालाको लागि जीवनजल उपयुक्त हुन्छ। यदि यो सम्भव छैन भने नुन, चिनी पानी तताएर पिउनु पर्छ।

प्यान्क्रियाटाइटिस भएको छर्लङ्ग थाहा हुँदैन, पेटको माथिल्लो भागमा दुख्ने समस्या भयो भने अस्पताल गइहाल्नुपर्छ।

पोषणविद् विनिता पन्त चिल्लो, पिरो माछा मासुले पहिलेदेखि भएको रोगलाई बल्झाउने बताउँछिन्। चाडपर्व होस् अथवा अरु बेलामा पाँच खाद्य समूहहरुलाई सधैँ ख्याल राख्नुपर्ने हुन्छ।

अन्न, गेडागुडी, कम चिल्लोयुक्त खानेकुरा, फाइबर भएको खानेकुरा, फलफूल र तरकारी खानुपर्छ।

मानिसको तौल, उचाई, क्रियाशिलता, लिंग र उमेरले उसलाई कति खाना चाहिन्छ भन्ने हुन्छ। त्यसैले कुन रोग लागेको बिरामीलाई के खानेकुरा खुवाउने भन्न नसकिने पन्त बताउँछिन् तर मधुमेह भएको बिरामीको हकमा सामान्य अवस्थामा ३०० ग्राम तरकारी खाएहुनेमा बिरामीले ६०० ग्राम तरकारी खानु आवश्यक हुन्छ।

यस्तै मुटुको रोगीले कम चिल्लो, कम नुन भएको खानेकुरा खानुपर्छ। यस्ता बिरामीले तयार पारिएर प्याकेटमा प्याक गरिएको खानेकुरा भन्दा पनि घरमा पकाएको खानेकुरा खानु राम्रो हुन्छ।

पन्तका अनुसार शरीरले अस्वस्थ छ भने, हामीले चाडपर्व मनाउने तरिकालाई पनि परिवर्तन गर्दै लैजानुपर्छ। समयसँगै चाडपर्वलाई ‘मोडिफाई’ गरेमा स्वास्थ्य पनि राम्रो हुन्छ, भने चाडपर्व नि रमाइलो।

कार्तिक २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्