वर्ल्डलिंकलाई जापानमा अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौँ – इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स प्रालि अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ।

एशियन ओसिएनिन क्प्युटिङ इन्डस्ट्रिज अर्गनाइजेशनले जापानमा आयोजना गरेको अवार्ड कार्यक्रममा नेपालबाट वर्ल्डलिंक सम्मानित भएको हो।

संस्थाले आउटस्ट्याण्डिङ युजर अर्गनाइजेशन अवार्डद्वारा वर्ल्डलिंकलाई सम्मान गरेको हो। योसँगै उक्त अवार्डबाट सम्मानित हुने वर्ल्डलिंक नेपालबाट पहिलो कम्पनी भएको छ।

टोकियोमा आयोजित समारोहमा असोसिओका अध्यक्ष डेविड वाङले वर्ल्डलिंकका निर्देशक लक्ष्मण यादवलाई उक्त अवार्ड हस्तान्तरण गरे। कार्यक्रममा विश्वभरका ३३ मुलुकबाट हजारभन्दा बढी कम्पनी तथा उनीहरुका प्रतिनिधि सहभागी थिए।

नेपाली इन्टरनेट बजारमा वर्ल्डलिंकले पुर्याएको योगदान, कम्पनीले ग्राहकलाई उपलब्ध गराएको गुणस्तरीय सेवा र अन्तर्राष्ट्रियस्तरको पूर्वाधारलाई प्रयोगमा ल्याएको उल्लेख गर्दै उक्त अवार्ड प्रदान गरिएको हो।

वर्ल्डलिंकका २ लाख ७० हजारभन्दा बढी ग्राहक पुगेका छन्। कम्पनीले ७० भन्दा बढी जिल्लामा सेवा विस्तार गरेको छ। वर्ल्डलिंकले ग्राहकलाई इन्टरनेट, डाटा कनेक्टिभिटी र आइपिटिभी सेवा प्रदान गर्दै आएको छ।

कात्तिक २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्