महान् फिल्डर जोन्टी भन्छन्, ‘नेपाली क्रिकेटरलाई म्याच कन्डिसन अनुसार खेल्न सिकाउँछु’

काठमाडौँ – १० दिने हाइ पर्फमेन्स क्याम्प सञ्चालन गर्न नेपाल आएका दक्षिण अफ्रिकाका महान् फिल्डर जोन्टी रोड्सले नेपाली खेलाडीलाई म्याच कन्डिसनअनुसार खेल्न सिकाउने बताएका छन्।

‘१० दिनको समय छोटो हुन सक्छ। तर मेरो अनुभवको अधिकतम उपयोग होस् भन्ने चाहन्छु। म आफ्नो अनुभव अनुसार कुन म्याच कन्डिसनमा कसरी खेल्ने भनेर सिकाउने छु,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा रोड्सले भने।

उनले आफ्नो प्रशिक्षणले नेपाली क्रिकेटमा केही ‘भ्याल्यु एड’ हुने विश्वास गर्दै त्यसले भविष्यमा नेपाली क्रिकेटलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे।

‘ नेपालले धेरै पहिलादेखि नै यू-१९ स्तरमा निकै राम्रो प्रदर्शन गर्दै आएको छ। तर सिनियरमा त्यस्तो देखिँदैन। मुख्य कुरा म्याच कन्डिसन अनुसार खेल्न नसक्नु नै हो’,४९ वर्षीय रोड्स भन्छन्।

रोड्सले १४ नोभेम्बरदेखि १० दिनसम्म १९ वर्षभन्दा मुनिका खेलाडीका लागि क्याम्प संचालन गर्नेछन्। यसबीचमा उनले यू-१९ राष्ट्रिय टोली र सिनियर राष्ट्रिय टोलीसहित नेपाली प्रशिक्षकहरुका लागि पनि प्रशिक्षण संचालन गर्नेछन्। ‘मैले सिकाएका कुराहरु नेपाली कोचहरुले आगामी दिनमा नेपाली क्रिकेटरलाई दिन सकुन्’, रोड्सले भने।

रोड्ससँगै अफगानिस्तान र वेस्ट इन्डिजका पुर्व प्रशिक्षक रायन मारोन पनि प्रशिक्षणमा सहभागी हुनेछन्।

यसरी नेपाल आए रोड्स


नेपाल क्रिकेट स्कुल-एनसिएस र स्पोर्ट्स एडले रोड्सलाई नेपाल ल्याएको हो। रोड्स लामो समयदेखि इन्डियन प्रिमियर लिग क्लब मुम्बई इन्डियन्सका फिल्डिङ प्रशिक्षक रहेका छन्।

एनसिएसले आफ्ना विधार्थीहरुलाई मुम्बई खेलाउन लैजाने क्रममा मुम्बई क्रिकेट एसोसिएसनका पदाधिकारीसँग भेट भएको र उनिहरुमार्फत रोड्ससँग भेट भएको स्पोर्ट्स एडका करन घिमिरेले जानकारी दिए।

रोड्सले सन् १९९२ देखि २००३ सम्म दक्षिण अफ्रिकाका लागि खेलेका थिए। उनी पहिलोपटक नेपाल आएका हुन्।

कात्तिक २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्