पत्रकार जमाल खाशोग्गी हत्या प्रकरण

युवराजमाथिको ‘शंका बलियो’ बनाउने टेलिफोनवार्ता

पत्रकार जमाल खाशोग्गीको हत्यामा साउदी अरेबियाका शक्रिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) को संलग्नता रहेको पुष्टि गर्ने खालको प्रमाण भेटिएको दाबी गरिएको छ ।

अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका साउदी पत्रकार खाशोग्गीको गएको अक्टोबर २ मा टर्कीस्थित साउदी कन्सुलर कार्यालयमा हत्या भएको थियो । १५ जनाको समूहले खाशोग्गीको हत्या गरेको र हत्यापछि उनीहरुले गरेको टेलिफोन वार्ताको रेकर्डले क्राउन प्रिन्सको संलग्नताको पुष्टि गर्ने दाबी गरिएको छ ।

माहेर अब्दुलाजिज मुतरेबले अरबी भाषामा गरेको टेलिफोनमा एक उच्च व्यक्रिलाई ‘तपाईँको मालिकलाई भन्दिनुस् कि हत्या गर्ने मिसजन पूरा भयो’ भनिएको छ । यसमा भनिएका ‘मालिक’ साउदी अरेबियाका युवा शासक युवराज एमबिएस रहेको दाबी गरिएको छ ।

टर्कीले हत्यासँग जोडिएको बलियो प्रमाणको रुपमा रहेको टेप अमेरिका, बेलायत, क्यानडा, साउदी अरेबिया, फ्रान्स, जर्मनीसहितलाई दिएको थियो ।

अमेरिकाको गुप्तचर निकाय सिआइएका निर्देशक जिना हास्पेलले पनि यो टेप सुनेकी छन् । अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सका अनुसार यसमा केही यस्ता बलिया प्रमाण रहेको छन् जसले हत्यामा क्राउन प्रिन्स एमबिएसको संलग्नतालाई पुष्टि गर्नेछ ।

तर टेलिफोनमा क्राउन प्रिन्सको नाम भने उल्लेख भएको छैन । तर न्युर्योक टाइम्सका अनुसार सिआइएका अधिकारीहरु ‘योर बोस’ अर्थात मालिक सम्बोधनले साउदी अरेबियाका युवा शासक क्राउन प्रिन्स एमबिएसलाई नै इंगिद गरेको हुनुपर्ने बताउँछन् । टर्कीका अधिकारीका अनुसार माहेर अब्दुलाजिज मुतरेबले एमबिएसका एक सल्लाहकारसँग कुराकानी गरेको अनुमान गरेको छ ।

साउदी अरेबियाले पत्रकार खाशोग्गीको हत्यामा वा त्यसको योजनाबारे क्राउन प्रिन्स एमबिएसलाई कुनै जानकारी नरहेको स्पष्ट रुपमा बताउँदै आएको छ ।

साउदी अरेबियाले एक वक्तव्य जारी गरेर टर्कीले आफ्नो गुप्तचर सेवालाई टेप उपलब्ध गराएको र त्यसमा बाहिर आएको जस्तो कुनै पनि सम्वाद नरहेको बताएको छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो देशका अधिकारीले खाशोग्गीको हत्याका बारेमा गरिएको अडियो सुनेको बताएपछि साउदी अरेबियाको वक्तव्य आएको हो ।

ट्रुडोले आफ्नो देशका गुप्तचर अधिकारीले टर्कीका अधिकारीसँग सहकार्य गरेर अनुसन्धान गरिरहेको बताएका छन् । ट्रुडोले आफूले पनि टेप सुनेको बताएका छन् ।

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले खाशोग्गीको हत्या कसले गरेको हो भन्ने साउदी अरेबियालाई स्पष्ट रुपमा जानकारी रहेको बताउँदै आएका छन् ।

यसअघि टर्कीका राष्ट्रपति एर्डोगानले साउदी अरेबियाका उच्चस्तरका शासकको निर्देशनमा खाशोग्गीको हत्या भएको आरोप लगाएका थिए । उनले यस बारेमा राजा सलमानलाई जानकारी नरहेको भन्दै आरोपको औँला युवराज मोहम्मद बिन सलमानतिर सोझ्याएका थिए ।

अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गी साउदी अरेबियाका शासक, खासगरी शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) का तीव्र आलोचक थिए । यहि कारण उनको हत्या भएको आरोप छ । साउदी कन्सुलर कार्यालयमा हत्या भएका खाशोग्गीको पार्थिव शरीरका बारेमा अहिलेसम्म केही थाहा भएको छैन ।

सुरुमा पत्रकार खाशोग्गीको अवस्थाका बारेमा कुनै किसिमको जानकारी नरहेको बताउँदै आएको साउदी अरेबियाले मुक्का हानाहानमा मृत्यु र त्यसपछि खराब नियत भएका एजेन्टले हत्या गरेको भन्दै बयान जारी गरेको थियो । तर उसले खाशोग्गीको हत्यामा कुनै पनि किसिमले राज परिवारको संलग्नता नरहेको स्पष्ट रुपमा बताउँदै आएको छ ।

साउदी युवराज एमबिएसले खाशोग्गी एक खतरनाक इस्लामिस्ट रहेको बताएको भन्ने खबर पनि आएका थिए । त्यसबारे अहिलेसम्म साउदी अरेबियाले केही बताएको छैन । यो आरोप लगाएको बारेको फोनकल साउदी अरेबियाले खाशोग्गीको हत्या भएको स्वीकार गर्नु पूर्व सार्वजनिक भएको थियो ।

टर्कीले पत्रकार खाशोग्गीको कन्सुलर कार्यालयमा पसे लगत्तै हत्या भएको बताइरहँदा पनि झण्डै तीन हप्तासम्म साउदी अरेबियाले उनी कन्सुलर कार्यालयबाट बाहिर निस्किएको बताएको थियो । पछि आएर मृत्यु, त्यसपछि हत्या भएको स्वीकार गरेको साउदी अरेबियाले घटनाका दोषीलाई कारवाही हुने बताउँदै आएको छ ।

दशक भन्दा लामो समय साउदी राज परिवारसँग नजिक रहेका खाशोग्गीले धेरै समय सल्लाहकारको भूमिकामा पनि काम गरे । तर उनी पछिल्लो समय साउदी राजपरिवार विशेष गरी युवराज एमबिएसको आलोचक बनेका थिए । यहि बिचमा भएको उनको हत्याको रहस्य अझै खुलेको छैन पूर्ण रुपमा ।

कात्तिक २७, २०७५ मा प्रकाशित