प्रहरी हिरासतमा मृत्यु र मिलापत्र प्रकरण- मिटर ब्याजमा उच्च प्रहरी अधिकारीको लगानी आशंका

काठमाडौँ- प्रहरी हिरासतमा रहेका एक व्यक्तिको एक साता अघि प्राकृतिक कारणले मृत्यु भएको प्रहरीले दाबी गरेपनि घटनापछि भएको मिलापत्रले यो घटना आशंकाले जेलिएको छ।

प्रहरी अस्पतालमा कार्यरत प्राविधिक  सहायक निरिक्षक- असई सुरेन्द्र कार्कीको बैंकिङ कसुर सम्बन्धी उजुरीपछि तारकेश्वर बस्ने ४८ वर्षीय रविन्द्रकुमार ढुंगानालाई प्रहरीले पक्राउ गरि जिल्ला प्रहरी परिसर टेकुमा ल्याएपनि राती विरामी भएपछि विर अस्पताल पुर्‍याइएको थियो। प्रहरीले पक्राउ गरेको भोलिपल्ट अस्पतालमा ढुंगानाको निधन भएको थियो।

ढुंगाना मुटु रोगी थिए। मृतकका आफन्तले सई कार्कीविरुद्ध किटानी जाहेरी दिन खोजेपछि मिलापत्रको तयारी भएको थियो। केहि दिन अघि मृतकका आफन्तलाई सई कार्कीले २२ लाख रुपैयाँ दिने र मुद्धा मामिला नगर्ने सहमती टेकु प्रहरी परिसरमै  भएको थियो। यस मिलापत्रमा तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराको पनि उपस्थिती थियो।

रोगका कारण मृत्यु भएका ब्यक्तीको सम्बन्धमा किन प्रहरी कार्यालयमै मिलापत्र गरियो भन्नेबारे आशंका सुरु भएको छ। महानगरीय प्रहरी कार्यालय, रानी पोखरीले घटनाको छानबिन गर्न एसएसपी पुजा सिंहको संयोजकत्वमा तीन सदस्यीय समिती गठन गरेको छ। एसएसपी सिंहले छानबिन सुरु भएको बताइन्।

प्रहरीकहाँ पिडित बनेर गएका सई कार्की किन उल्टै निकै मोटो रकम तीर्न सहमत भए भन्ने नै रहस्यमय छ। ‘  सई कार्कीसँग किन सहमती गरियो ? कार्की पिडक हुन् र ? त्यसमा पनि यति मोटो रकम तिर्ने उनको स्रोत के हो?  ‘, प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृत भन्छन्। स्रोतका अनुसार कार्कीले उच्च तहका प्रहरी अधिकारीका पैसा समेत मिटर ब्याजमा लगाउने गर्थे।

एक लाख रुपैयाँको एक दिनको ब्याज दुई हजार रुपैयाँसम्म उनले लिने गरेको स्रोत बताउँछ। तीन वर्षअघि मिटरब्याजमै सक्रिय  मृतक रविन्द्रको परिवारसँग सई कार्कीको चिनजान भएको थियो। पछिल्लो समय सई कार्की मध्यस्तकर्ताजस्तो भएर रविन्द्रमार्फत मिटर ब्याजमा पैसा लगाउँथे।

मिटर ब्याजमा रविन्द्रभन्दा पनि उनकी श्रीमती सक्रिय थिइन्। तर पछिल्लो समय ब्यवहार बिग्रिएपछि रविन्द्र पैसा फिर्ता गर्न नसक्ने अवस्थामा देखिएका थिए। पछिल्लोपटक रविन्द्रले पाँच लाख रुपैयाँको चेक दिएपनि बाउन्स भएपछि सई कार्की प्रहरीकहाँ जाहेरी लिएर पुगेका थिए।

‘ सई कार्की कहिले डीएसपी  त कहिले एसपीको पैसा हो मलाई साह्रै अप्ठेरो पर्‍यो भन्दै धाउँथे’, मृतक रविन्द्रकी श्रीमतीको भनाई उदृत गर्दै काठमाडौँ परिसरकै एक अधिकारी भन्छन्। लामो समयदेखि प्रहरीका उच्च अधिकारी मिटर ब्याजका घटनामा मुछिँदै आएका छन्।

कात्तिक २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्