पत्रकार जमाल खाशोग्गी हत्या प्रकरण

साउदी ‘हिटम्यान’ को झोलामा चक्कु, सुई, इलेक्ट्रो–सक डिभाइस

हत्या भएका पत्रकार जमाल खाशोग्गीको हत्याको रहस्य सुल्झिएको छैन । तर हत्यासँग जोडिएका नयाँ तथ्यहरु बाहिर आउने क्रम भने जारी छ । टर्कीको स्थानबुलस्थित साउदी अरेबियाको कन्सुलर कार्यालयमा पत्रकार खाशोग्गीको हत्या भएको हो ।

उनको हत्यामा १५ जना साउदी हिटम्यान (पैसालिएर मानिसको हत्या गर्ने व्यक्ति) ले खाशोग्गीको हत्या गरेको दाबी गरिएको छ । टर्कीका अधिकारीले हत्यासँग जोडिएको टेप अमेरिका, साउदी अरेबिया, जर्मनी, फ्रान्स, बेलायत, क्यानडासहितका देशलाई उपलब्ध गराएको थियो ।

त्यसबाट शंका साउदी अरेबियाका क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) माथि थप बलियो बनेको भन्दै अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले खबर पनि छाप्यो ।

पछिल्लो पटक खाशोग्गीको हत्यामा संलग्न व्यक्तिको साथमा रहेका हतियारको विवरण थाहा भएको दाबी गरिएको छ । खाशोग्गीको हत्या लगत्तै टर्की छोडेका साउदी ‘हिटम्यान’ सँग सुई (सिरिन्ज), इलेक्ट्रो–सक उपकरण, सानो आकारको चक्कु (ब्लेडजस्तै) सहितका सामान रहेको बताइएको छ ।

उनीहरुका लगेजको एक्स–रे को तस्बिरमा यस्ता सामान रहेको देखिएको दाबी गरिएको छ । यसले खाशोग्गीको हत्या योजनाबद्ध रुपमा भएको भन्नेमा बल दिने बताइएको छ ।

साउदी अरेबियाले भने खाशोग्गीको हत्याका बारेमा आफ्नो सत्तालाई कुनै जानकारी नरहेको र हत्या खराब नियत भएका एजेन्टले गरेको बताउँदै आएको छ ।

हत्यामा संलग्न व्यक्तिका लगेजमा धेरै सुई, अप्रेशनका लागि प्रयोग गरिने चक्कु, काट्ने औजारहरु, इलेक्ट्रो–सक डिभाइस हुनुले हत्यापछि खाशोग्गीको शरीर नष्ट गर्नका लागि पनि ती सामग्री प्रयोग गरिएको दाबी गरिएको छ ।

हिटम्यानको भनिएका झोलाहरु प्रहरीको नियन्त्रणमा छ, तर कूटनीतिक व्यवस्थाका कारण त्यसलाई खोल्न नपाइएको टर्कीका अधिकारीले बताएका छन् ।

यसअघि टर्कीका राष्ट्रपति एर्डोगानले साउदी अरेबियाका उच्चस्तरका शासकको निर्देशनमा खाशोग्गीको हत्या भएको आरोप लगाएका थिए । उनले यस बारेमा राजा सलमानलाई जानकारी नरहेको भन्दै आरोपको औँला युवराज मोहम्मद बिन सलमानतिर सोझ्याएका थिए ।

अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गी साउदी अरेबियाका शासक, खासगरी शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) का तीव्र आलोचक थिए । यहि कारण उनको हत्या भएको आरोप छ । साउदी कन्सुलर कार्यालयमा हत्या भएका खाशोग्गीको पार्थिव शरीरका बारेमा अहिलेसम्म केही थाहा भएको छैन ।

सुरुमा पत्रकार खाशोग्गीको अवस्थाका बारेमा कुनै किसिमको जानकारी नरहेको बताउँदै आएको साउदी अरेबियाले मुक्का हानाहानमा मृत्यु र त्यसपछि खराब नियत भएका एजेन्टले हत्या गरेको भन्दै बयान जारी गरेको थियो । तर उसले खाशोग्गीको हत्यामा कुनै पनि किसिमले राज परिवारको संलग्नता नरहेको स्पष्ट रुपमा बताउँदै आएको छ ।

साउदी युवराज एमबिएसले खाशोग्गी एक खतरनाक इस्लामिस्ट रहेको बताएको भन्ने खबर पनि आएका थिए । त्यसबारे अहिलेसम्म साउदी अरेबियाले केही बताएको छैन । यो आरोप लगाएको बारेको फोनकल साउदी अरेबियाले खाशोग्गीको हत्या भएको स्वीकार गर्नु पूर्व सार्वजनिक भएको थियो ।

टर्कीले पत्रकार खाशोग्गीको कन्सुलर कार्यालयमा पसे लगत्तै हत्या भएको बताइरहँदा पनि झण्डै तीन हप्तासम्म साउदी अरेबियाले उनी कन्सुलर कार्यालयबाट बाहिर निस्किएको बताएको थियो । पछि आएर मृत्यु, त्यसपछि हत्या भएको स्वीकार गरेको साउदी अरेबियाले घटनाका दोषीलाई कारवाही हुने बताउँदै आएको छ ।

दशक भन्दा लामो समय साउदी राज परिवारसँग नजिक रहेका खाशोग्गीले धेरै समय सल्लाहकारको भूमिकामा पनि काम गरे । तर उनी पछिल्लो समय साउदी राजपरिवार विशेष गरी युवराज एमबिएसको आलोचक बनेका थिए ।

कात्तिक २९, २०७५ मा प्रकाशित