नगरकोटका व्यवसायी आन्दोलित, दोहोरो पर्यटन शुल्क खारेज गर्न माग

काठमाडौँ – नगरकोटका व्यापारीहरुले दोहोरो पर्यटन शुल्क तत्काल खारेज गर्न माग गर्दै बिहीबार काठमाडौँमा प्रर्दशन गरेका छन्।

नगरकोट आउने पर्यटकहरुलाई भगाउने गरी दोहोरो पर्यटन शुल्क स्थानीय सरकारले लिन थालेको बताउँदै स्थानीय व्यापारीहरुले तत्काल खारेज गर्न सरकारसँग माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।

स्थानीय निकायले पर्यटकहरुमाथि लुटेराशैलीमा दोहोरो पर्यटन शुल्क लिएपछि पर्यटन व्यवसाय नै समस्यामा परेकाले समाधानका लागि सरकारलाई दवाव दिन प्रदर्शन गर्नु परेको स्थानीय व्यापारी गोकुल शर्माले जानकारी दिए।

चाँगुनारायण नगरपालिका र मण्डन–देउपुर नगरपालिका दुवैले पर्यटकहरुलाई शुल्क लिन थालेपछि त्यहाँ पर्यटकहरु नजाने वातावरण बनेका स्थानीय व्यापारीहरुको भनाई छ।

व्यापारी शर्माले पर्यटक आकर्षण गर्नका लागि सरकारले पूर्वाधार विकासमा जोड दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

पर्यटकहरुलाई भगाउने खालका गतिविधि स्थानीय सरकारले गरेपछि त्यसको विरोध गर्नुपर्ने अवस्था आएको नगरकोटका अर्का  व्यापारी योगेन्द्र शाक्यले बताए। उनले दोहोरो शुल्क लिएर पर्यटकहरु भगाउने काम गरे त्यो कसैको पनि हितमा नहुने चेतावनी दिएका छन्।

स्थानीय व्यापारीहरुले पर्यटकहरुको आगमनलाई सहज बनाउन पूर्वाधार अन्तरगत पर्यटक बसपार्क, सार्वजनिक शौचालय निर्माण गर्न पनि सरकारलाई पटक–पटक आग्रह गर्दै आएका छन्। तर त्यसको सुनुवाई नभएको पनि स्थानीय व्यापारीको गुनासो छ।

उनीहरुले दोहोरो पर्यटन शुल्क लिने काम स्थानीय तहले तत्काल बन्द नगरे नगरकोटमा पर्यटकहरु नआउनेतर्फ पनि सचेत गराएका छन्।

कात्तिक २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्