बजार क्षेत्रमा टिपर निषेध, तोकियो वैकल्पिक सडक

दाङ – टिपर तथा ट्रकहरु दाङको लमही बजार क्षेत्रबाट गुड्दै आएकोमा अबदेखि वैकल्पिक सडक प्रयोग गर्नुपर्ने भएको छ।
देउखुरी उद्योग वणिज्य संघको पहलमा जनप्रतिनिधि, प्रहरीको बीचमा भएको बैठकले बिहीबार बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म चैलाहीदेखी अर्नहवा हुँदै राजमार्गमा निस्कने सडक प्रयोग गर्नुपर्ने निर्णय गरिएको छ।
‘बजारको मध्यभागबाट टिपर तथा मालवाहक ट्रकहरु गुड्दा व्यापारी तथा उपभोक्तामा नराम्रो असर परिरहेको छ, अब यो समस्या समाधान गर्न टिपर तथा ट्रकहरुले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने छ,’ देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले भने, ‘टिपर तथा ट्रकले चैलाही हुँदै अर्नहवाको सडक प्रयोग गर्नुपर्ने छ।’
उद्योग वणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा लमही नगरपालिका वडा नम्बर–४ का अध्यक्ष सुवास न्यौपाने, वडा प्रहरी कार्यालय लमहीका प्रमुख अरुणकुमर सिंह, अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीका प्रमुख विष्णुबहादुर केसी, गढवा उद्योग वाणिज्य संघका उपाध्यक्ष खिमबहादुर बुढामगर, निवर्तमान अध्यक्ष युवराज पोखरेल, समृद्धि माइनिङ एण्ड कम्पनी प्रालिका सुरेशकुमार बुढा, देउखुरी उद्योग वाणिज्य संघका सचिव कृष्ण घिमिरेलगायतको उपस्थिति रहेको थियो।