मधेश आन्दोलनका शहीदहरुको प्रतिमा अनावरण

मुलुक सार्वभौम र स्वतन्त्र भएपनि जनता स्वतन्त्र हुन सकेनन्ः ठाकुर

जलेश्वर – राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष ठाकुरले राष्ट्रवाद र सैन्यवाद देशमा एकै रुपबाट अगाडि बढे द्वन्द्वको खतरा हुने बताएका छन्। उनले एकात्मक केन्द्रीकृत शासन प्रणालीले प्रहरी, प्रशासन, कर्मचारी सबैलाई आफ्नो हातमा दिएर राष्ट्रवाद र सैन्यवादको नारालाई अगाडि बढाएको देश ठूलो द्वन्द्वको खतरामा पर्ने चेतावनी दिएका छन्।

महोत्तरीको जलेश्वरमा तेस्रो मधेश आन्दोलनका नवनिर्मित शहीद वाटिकाको शालिक अनावरण समारोहमा शहीदलाई माल्यार्पण गर्ने क्रममा अध्यक्ष ठाकुरले नेपाल सार्वभौम स्वतन्त्र भएपनि जनता स्वतन्त्र हुन नसकेको बताएका हुन्।

वर्षौंदेखि एक भाषाको माध्यमबाट नेपाली जनतामाथि औपनिवेशिकता लाद्दै आएको र अझै लाद्न खोजिरहेको उल्लेख गर्दै ठाकुरले राष्ट्र मजबुतीका लागि सीमा सुरक्षा नै प्राथमिकताको मुद्दा रहेपनि सीमा सुरक्षा नै नभएमा सत्ता जुनसुकै बेला पनि परिवर्तन हुन सक्ने दावी गरे।

ठाकुरले भने, ‘कुनै समय पनि सत्ता परिवर्तन हुनसक्छ, यहाँका जनता स्वतन्त्रताको आभाष नपाए र मधेशलाई मुलुकलाई साथ नदिए सत्ता परिवर्तनको ठूलो विषय हुने छैन, सीमाका जनतालाई शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि विकास लगायतका क्षेत्रबाट बञ्चित गरिए केन्द्रीय शासन जुनसुकै बेला बद्लिन सक्ने छ।’

ठाकुरले राणा तथा पञ्चायतकालमा र शाहीकालमा पनि देश स्वतन्त्रताको आन्दोलन भएको स्मरण गरे। ‘देश स्वतन्त्र त भयो, तर जनता स्वतन्त्र हुन सकेनन्, मुलुक स्वतन्त्र भएपनि यहाँका जनतामाथि विभेद छ, यहाँको प्रहरी, प्रशासन र कर्मचारीलाई केन्द्र सरकारकै शासनशैलीमा चलेको छ, अनि कसरी स्वतन्त्र भन्नु?,’ उनले प्रश्न गरे।

प्रधानमन्त्री केपी शर्मा ओली तर्फ संकेत गर्दै अध्यक्ष ठाकुरले मधेशी नेपाली नागरिक नभएको बरु नेपाली नागरिकता दिएर नेपाली बनाएको जस्ता संकुचित अभिव्यक्ति दिएर यहाँका जनतालाई भ्रमित बनाउने खेल गरिरहेको आरोप लगाए।

ठाकुरले मधेश अलग हुने भ्रम फैलाएर २ सय ५० वर्षे शासन सत्ताको माध्यमबाट मधेशमा कुशासन फैलाउन खोजेको आरोप समेत लगाएका छन्। उनले भने ‘देशमा मधेश र मधेशीलाई स्वायत्तता आवश्यकता छ, यसैका लागि हाम्रो आन्दोलन हो र आन्दोलन जारी नै छ।’

उनले अहिलेको सरकारले विकास र समृद्धिको नारा लगाएर ठूल्ठूला भाषण गरिरहेपनि जनताका समस्याबारे अनभिज्ञता देखाएकाले सीमा क्षेत्रका जनता सुरक्षित नभए भयभित वातावरणमा कदापि नरहने र शहीदले देखाएको बाटोमा अगाडि बढ्ने चेतावनी दिएका छन्।

मधेश आन्दोलनका शहीदहरुको प्रतिमा अनावरण

महोत्तरीको जलेश्वरस्थित शहीद बाटिकामा प्रदेश–२ का मुख्यन्यायाधीवक्ता दीपेन्द्र झाको सौजन्यमा निर्मित मधेश आन्दोलनका शहीदहरुको प्रतिमा आज अनावरण भएको छ।

राजपा अध्यक्ष मण्डलका संयोजक तथा संघीय सांसद महन्थ ठाकुर र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले तेस्रो मधेश आन्दोलनका क्रममा महोत्तरीमा शहादत प्राप्त गरेका गणेश चौधरी, रोहन चौधरी, वीरेन्द्र विच्छा, अमीत कापड, रामशिला मण्डल, रामविवेक यादव लगायतका शहीदहरुका प्रतिमा अनावरण गरेका छन्।

मुख्यन्यायधिवक्ता झाले आफुले आन्दोलनकै समय प्रतिमा बनाउने सोच बनाएको भएपनि अहिले मात्रै प्रतिमा निर्माण भएको बताएका छन्। यस्तै, उनले फेसबुक पोष्टमार्फत जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र, तराई मानव अधिकार रक्षक सञ्जालका रन्धीर चौधरी तथा प्रतिमा निर्माण गर्ने कलाकार तथा सहयोगीहरुलाई धन्यवाद दिएका छन्।

कात्तिक २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्