नेपालगञ्जमा बम राख्ने कमाण्डो समूहका प्रमुख पक्राउ

नेपालगञ्ज – बाँके प्रहरीले पुष्पलालचोकमा बम राख्ने व्यक्तिलाई पक्राउ गरेको छ । ‘हामी नेपाली, हाम्रो नेपाल’ नामक संगठनका प्रमुख भनिएका प्रदीप वलीलाई प्रहरीले पक्राउ गरेको हो ।

वलीले नेपालगञ्जको व्यस्त चोक पुष्पलालचोकको शालिक मुनी प्लाष्टिक झोलामा बम राखेर नजिकैको होटलमा फोन गरेको प्रहरीले बताएको छ ।

बमले बिहीबार दिनभरी नेपालगञ्ज त्रसित भएको थियो । सवा नौ बजे फेला परेको बमलाई नेपाली सेनाले सुरक्षित स्थानमा लगेर अपरान्ह चार बजे निस्क्रिय पारेको थियो ।

व्यस्त चोकमा बम रहेको थाहा पाएपछि स्थानीयहरु त्रसित भइरहेका बेलामा वली पनि त्यही आसपासमा घुमिरहेका थिए । त्यही बेलामा प्रहरीले पक्राउ गरेको हो ।

वलीका बारेमा प्रहरीले दुई बजे पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने बताएको छ । बाँकेका प्रहरी प्रमुख एसपी अरुण पौडेलले हिजो नै एकजनालाई समातेको र दुई बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताए । ‘यो फटाहा हो, हामीले तपाईहरुलाई २ बजे पत्रकार सम्मेलन गरेर सबै जानकारी दिन्छौैँ, एसपी पौडेलले भने ।

वली कथित कमाण्डो समूहको प्रमुख नेता रहेको बुझिएको छ । पहिलो पटक नाम सुनिएको कमाण्डो समूहले पुष्पलालचोकमा बम राखेर स्थानीयलाई त्रसित बनाएको थियो ।

कात्तिक ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्