चट्टान फोडेर उर्मिएको पीपल

एमबीबीएसमा नाम निकालेकी प्रतिमाको पढाई खर्चका लागि गाउँ नै जुट्यो

नेपालगञ्ज – त्रिभुवन विश्व विद्यालयबाट एमबीबीएसको छात्रवृत्ति कोटामा नाम निकालेकी खजुराकी प्रतिमा शर्मालाई वडा अध्यक्ष सुमन मल्लले तीन महिनाको तलब सहयोग गरेका छन्।

छात्रवृत्तिमा नाम निकाले पनि परीक्षा शुल्कदेखि खाने–बस्ने खर्च जुटाउन नसकेपछि प्रतिमाका लागि खजुराका स्थानीयबासीले सहयोग जुटाउने अभियान थालेका छन्।

अभियानबारे जानकारी पाएपछि खजुरा–१ राधापुरका अध्यक्ष मल्लले शुक्रबार घरमै गएर प्रतिमाका बुवा मदन र आमा सीतादेवी ढुंगानालाई ५९ हजार चार सय रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

‘आर्थिक अभावले गर्दा हाम्रो ठाउँकी चेलीले एमबीबीएस पढ्नबाट बञ्चित हुने अवस्था आउनु हुँदैन, सबैले सहयोग गर्नुपर्छ,’ वडा अध्यक्ष मल्लले भने।

प्रतिमाको परिवारीक आर्थिक अवस्था कमजोर रहेको छ। प्रतिमाको सहयोगका लागि खजुरा–४ का वडाध्यक्ष तिलकवीर सुनार, सन्तोष श्रेष्ठलगायत लागिपरेका छन्। वडाध्यक्ष सुनारले पनि ५० हजार रुपैयाँ सहयोग गरिसकेका छन्।

शर्मालाई सहयोगका लागि बैंकमा खाता खोलेर अभियान थालिएको छ। आमा सीतादेवी र ४ नम्बरका वडाध्यक्ष सुनारको संयुक्त हस्ताक्षरमा खाता खोलिएको छ।

गाउँकी चेलीले एमबीबीएस पढ्न पाउने खुशियालीमा स्थानीयले पनि सक्दो सहयोग गरिरहेका छन्। अहिलेसम्म करीब तीन लाख रुपैयाँ संकलन भएको छ।

खजुरा–४ डीगाउँकी शर्माले त्यहीको सामुदायिक विद्यालयबाट प्रवेशिका उत्तीर्ण गरेकी थिइन्। जसले अहिले धेरै प्रतिस्पर्धीलाई उछिनेर त्रिभुवन विश्व विद्यालयबाट एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रावृत्तिमा नाम निकालेकी छन्।

कार्तिक ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्