सुर्खेत–काठमाडौँका यात्रुलाई ‘माइलेज कार्ड’

सुर्खेत – देउती नागरिक यातायात प्रालिले सुर्खेतबाट काठमाडौँ जाने यात्रुहरुका लागि ‘माइलेज कार्ड’ प्रदान गरेको छ।

नयाँ १८ मोडलका ६ वटा आरामदायी र लचकदार एयर बसहरु सञ्चालन गरेको प्रालिले काठमाडौँ सेवा सुरु गर्दै यात्रुहरुलाई माइलेज कार्ड दिएको हो।

प्रालिले बिहीबार काठमाडौँका लागि तीन वटा रात्रिकालीन बस पठाएको छ। हाइस सेवा दिँदै आएको प्रालिले पहिलो पटक काठमाडौँ रुटका लागि बस सञ्चालनमा ल्याएको हो।

‘काठमाडौँ सेवा सुरुपछि यात्रुहरुलाई माइलेज कार्ड दिएका हौँ,’ प्रालिका सचिव रमेश खड्काले भने, ‘प्रालिका जुनसुकै बसहरुमा पनि यात्रुहरुले यात्रा गर्नुअघि काउन्टरमा माइलेज कार्ड देखाए दश प्रतिशतसम्म भाडामा छुटको व्यवस्था गरिने छ।’

यात्रुहरुको मागअनुसार नयाँ गाडीहरु भित्र्याइएको बताएका सचिव खड्काले यात्रुहरुलाई नै छुटसहित अफर ल्याएको उल्लेख गरे।

अन्य बसहरुको तुलनामा यात्रुहरुलाई यात्रामा आरामदायी होस् भन्ने हेतुले लचकदार एयर बस ल्याएको देउती नागरिक यातायात प्रालिका अध्यक्ष कमल खड्काले जानकारी दिए। बसमा हिटर, एसी, फ्री वाइफाई र लक्जरी सिटहरुको सुबिधा छ।

सुर्खेत बसपार्कबाट दैनिक साँझ ४ र पौने पाँच बजे बसहरु छुटाउने छ। काठमाडौँबाट सुर्खेत आउने यात्रुहरुले तत्कालका लागि सुन्धारा र कलंकीबाट टिकट लिन सक्नेछन्। आगामी मंसिर १ गतेबाट काठमाडौँ बसपार्कमै काउन्टर स्थापना गरेर यात्रुहरुलाई सेवा दिने तयारी प्रालिको छ।

कार्तिक ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्