आन्तरिक पर्यटकको आकर्षक गन्तव्य

पर्यटकीय गन्तव्य बन्दैछ मिनीफेवा (फोटो फिचर)

दाङ – वरिपरी हरियाली। उत्तरतर्फ पहाड। मनमोहक दृश्य। रमणीय ताल। डुङ्गामा मन्दिरलाई फन्को लगाएर रमाउन सकिने। वनभोजको लागि प्रसिद्धस्थल। यही प्राकृतिक सुरम्यताले आन्तरिक पर्यटकको मन जितिरहेको छ, दाङको मिनी फेवा अर्थात् जखेरा तालले।

लमही नगरपालिका वडा नम्बर–३ मा अवस्थित छ जखेरा ताल। पूर्व–पश्चिम राजमार्गदेखि उत्तरतर्फ केही दूरी पार गरेपछि पुग्न सकिन्छ पहाडको फेदीमा रहेको जखेरा ताल। ७ विगाह क्षेत्रमा ताल फैलिएको छ।

बिदाको घुमघाम होस् या वनभोज, रमाइलोसँग दिन बिताउने थलो बन्न पुगेको छ जखेरा ताल। जखेरा आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनेको छ।

मिनीफेवाका नामले परिचित जखेरा ताल। तस्बिरः दशरथ घिमिरे/देश सञ्चार

देशका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटकहरु रमाउन ताल क्षेत्रमा आउने गरेको स्थानीय युवा लोकमणि बञ्जाडेले बताए। ‘तिहार सकिएलगत्तै वनभोजका लागि आउनेहरुको संख्या बढेको छ,’ बञ्जाडेले देश सञ्चारसँग भने, ‘ताल क्षेत्रमा डुङ्गाबाट घुम्न, मन्दिरमा पूजा गर्न र पिकनिक खान आउनेहरु धेरै पाएका छौँ।’

ताल क्षेत्रमा शुक्रबार, शनिबार र अन्य बिदाको दिन विशेष भीड हुने बञ्जाडेले बताए। ‘डुङ्गा चढ्न रहर गर्नेहरु धेरै आउनुहुन्छ, धेरै भीड लागेपछि टिकट बिक्री रोक्नुपर्ने अवस्था आउछ,’ उनले भने, ‘पहिलाभन्दा अहिले जखेरामा धेरै सुधार गरेका छौँ, अझै पूर्वाधारहरु बनाउन बाँकी छ, प्रदेश ५ को प्रमुख पर्यटकीय गन्तव्य बनाउन सकिन्छ।’

ताल वरिपरि निकै रमणीय दृश्य भएकाले दैनिक १० देखि १५ वनभोज टोली पुग्छन्। घुम्न मात्र जानेहरूले ताल छेउका रेस्टुराँले स्थानीय परिकारका स्वाद लिन पाउँछन्। स्थानीय कुखुरा र थारू समुदायका विभिन्न परिकार रेस्टुराँमा पाइन्छ।

एउटा मात्र डुङ्गाले आगन्तुकको माग पूरा गर्न सकिरहेको छैन, पालो पर्खिनुपर्ने अवस्था छ। तालको नियमित सफाई र डुङ्गाको संख्या बढाउन सके जखेरा महत्वपूर्ण गन्तव्य बन्ने देखिन्छ। पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न लमही नगरपालिकाले गुरुयोजना बनाएको छ।

तर, गुरुयोजना अनुसारको पूर्वाधार विकासमा अझै लगानी गरिएको छैन। पर्यटकहरुको घुइँचो ताल क्षेत्रमा रहेपनि त्यस अनुसारको पूर्वाधार विकासमा सरकारी लगानी निकै कम छ।

शौचालय, खानेपानीको उचित व्यवस्थापन छैन। दैनिक संकलन हुने फोहोरको व्यवस्थापन गर्न नसक्दा ताल क्षेत्र फोहोरले गर्दा दुर्गन्धित हुने देखिन्छ। जखेराको इतिहास स्थानीय पाँच गाउलेले सिँचाईका लागि पानी संकलन गर्न बनाएको पोखरीलाई जखेरा नाम दिइएको हो।

कात्तिक ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्