थुनुवा भगाउन सहयोग गर्ने सहायक निरीक्षकसहित दुई प्रहरी निलम्बित

जिल्ला प्रहरी कार्यालय दाङ।

दाङ – जिल्ला प्रशासन कार्यालय दाङबाट म्याद थप गरेर इलाका प्रहरी कार्यालय तुलसीपुर ल्याइदै गरेका अभियुक्त प्रहरी भ्यानबाटै भागेपछि प्रहरी सहायक निरीक्षकसहित दुई जना प्रहरी निलम्बन भएका छन्।

पाँच नम्बर प्रदेश प्रहरी कार्यालय दाङले प्रहरी सहायक निरीक्षकसहित दुई जना प्रहरी निलम्बित भएको जनाएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत थुनुवा कमाण्डर प्रहरी सहायक निरीक्षक सुनिलजंग शाह र प्रहरी जवान शेरबहादुर बुढाथोकीलाई निलम्बन गरेको प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए।

कात्तिक २५ गते सार्वजनिक अपराध मुद्दा खेपिरहेका थुनुवा विष्णु बुढाथोकी गुडिरहेको गाडीबाट हामफालेर भागेपछि प्रदेश प्रहरीले दुवै जनालाई निलम्बन गरेको हो।

पदमा रहिरहँदा प्रमाण नष्ट र मुद्दालाई प्रभावित पार्न सक्ने उल्लेख गर्दै प्रहरी साहयक निरीक्षक शाहलाई निलम्बन गरेको प्रवक्ता मल्लले बताएका हुन्।

यसअघि प्रहरी जवान बुढाथोकीलाई म्याद थप गरेर हिरासतमा राखिएको छ। शाहको विषयमा थप अनुसन्धान भइरहेको छ। त्यस समयमा रहेका अन्य ९ जना प्रहरी जवानमाथि पनि अनुसन्धान हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

थुनुवासँगै बसेका प्रहरी जवान शेरबहादुर बुढाथोकीले लापरवाही गरेको र अर्का थुनुवा वसन्त बस्नेतले सघाएको आरोपमा दुवै जनालाई सार्वजनिक न्यायविरुद्धको कसुरसम्बन्धी मुद्दा चलाएको प्रवक्ता मल्लले बताएका छन्।

कात्तिक ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्