पत्रकार जमाल खाशोग्गी हत्या प्रकरण

साउदी युवराजमाथि सिआइएको सीधा आरोप, खाशोग्गीको हत्या उनकै निर्देशनमा

पत्रकार जमाल खाशोग्गीको हत्याका लागि साउदी अरेबियाका शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) ले निर्देशन दिएको निष्कर्षमा अमेरिकी गुप्तचर निकाय सिआइए पुगेको स्रोतलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

अमेरिकी पत्रिकार द वासिङ्गटन पोस्टमा लेख्दै आएका साउदी अरेबियाका पत्रकार खाशोग्गीको गएको अक्टोबर २ मा टर्कीको स्थानबुल स्थित साउदी कन्सुलर कार्यालयमा हत्या भएको हो ।

सुरुमा उनको अवस्थाका बारेमा जानकारी नै नरहेको बताएको साउदी अरेबियाले पछि खाशोग्गीको मृत्यु भएको तथा त्यो भन्दा पछि खराब नियत भएका एजेन्टले हत्या गरेको बताएको थियो ।

तर उसले हत्याका बारेमा क्राउन प्रिन्स तथा साउदी राजपरिवारका कुनै पनि सदस्यालाई खबर नरहेको बताउँदै आएको छ । र पनि विशेष गरी खाशोग्गी क्राउन प्रिन्सका आलोचक रहेकाले क्राउन प्रिन्स एमबिएसकै निर्देशनमा हत्या भएको आरोप तथा आशंका लाग्दै आएको छ ।

पछिल्लो पटक टर्कीले हत्यासँग जोडिएको टेप साउदी, अमेरिकासहितका देशलाई उपलब्ध गराएपछि सिआइएको विश्वास बारेको खबर आएको हो ।

क्राउन प्रिन्सकै निर्देशनमा हत्या भएको भन्ने निष्कर्षमा सिआइए पुगेको सम्बन्धी अपुष्ट खबर सबैभन्दा पहिले द वासिङ्गटन पोस्टले छापेको थियो ।

टेप सुनेपछि त्यसमा एक हिटम्यान (पैसा लिएर कसैको हत्या गर्ने व्यक्ति) ले खाशोग्गीको हत्या गर्ने मिसन पूरा भएको जानकारी ‘बोस’ लाई गराउन भनेको र त्यो बोस अरु कोही नभई क्राउन प्रिन्स नै रहेको विश्वास सिआइएको छ ।

अमेरिकी निकाय सिआइएले खाशोग्गी हत्या प्रकरणमा जोडिएर क्राउन प्रिन्समाथि लगाएको यो अहिलेसम्मकै गम्भीर आरोप हुनेछ । साउदी अरेबिया र अमेरिका एकअर्काका सहयोगी हुन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि खाशोग्गी हत्याको कभर–अपमा साउदी अरेबियालाई साथ दिएको अरोप लाग्दै आएको छ । यहिबिचमा सिआइएको अनुसन्धान र क्राउन प्रिन्समाथिको शंका सम्बन्धी खबर आउँदा अमेरिका–साउदी सम्बन्धमा असर पर्ने अनुमान गरिएको छ ।

यस सम्बन्धमा राष्ट्रपति कार्यालय ह्वाइट हाउस र विदेश विभागले प्रतिक्रिया दिन अस्वीकार गरेको रोयटर्सले उल्लेख गरेको छ ।

खाशोग्गीको हत्या १५ जना साउदी हिटम्यानले गरेको दाबी गरिएको छ ।

दशक भन्दा लामो समय साउदी राज परिवारसँग नजिक रहेका खाशोग्गीले धेरै समय सल्लाहकारको भूमिकामा पनि काम गरे । तर उनी पछिल्लो समय साउदी राजपरिवार विशेष गरी युवराज एमबिएसको आलोचक बनेका थिए ।

मंसिर १, २०७५ मा प्रकाशित