६ बहिनीको त्यो रमाइलो

एउटा पुरानो तस्बिरको कथा

सम्झनाहरुको संग्रह बनेर बसेको एउटा तस्बिर, जसमा दुःखले मिलाएको फुर्सद र पहिलो पटक राम्री बनेर आफ्नै तस्बिर खिचाउँदाका रोमाञ्चकताहरु समेटिएका छन् । अझ भन्दा जीवनको अनुभव संगालिएको छ ।

चितवन रत्ननगर, टाँडीकी देवकुमारी पाण्डे र उनका अरु पाँच दिदीबहिनीको तस्बिर हो यो । तस्बिरको अघिल्लो क्रममा बायाँबाट उनकी जेठी दिदी मिठी, माइली दिदी चिनिया र साईँली दिदी भगवती । पछाडि उभिएका तीनमध्ये बिचकी हुन् देवकुमारी, उनको बायाँ तिर कान्छी बहिनी निर्मला छन्, दायाँतिरकी ठूलीकान्छी बहिनी सीता हुन् ।

ठ्याक्कै वर्ष याद भएन, तर तस्बिर २०२६–२७ सालको पुस–माघमा खिचेको हुनुपर्छ भन्छिन् ७२ वर्षकी देवकुमारी । अर्थात झण्डै आधा शताब्दी अघिको ‘ब्ल्याक एण्ड ह्वाइट’ फोटो । तर यसले दिएको रोमाञ्चकता यी ६ दिदी बहिनीको ‘श्याम–स्वेत’ जीवनमा रंग भर्ने माध्यम बन्यो ।

फोटो खिचाउने ‘परियोजना’


देवकुमारीका ६ बहिनी मध्ये साईँली अरु भन्दा अली टाठी, उनैले बनाएकी हुन् तस्बिर खिचाउने ‘परियोजना’ ।

परियोजना यो अर्थमा कि त्यो बेला बिहेपछि अझ सन्तान पनि भइसकेको अवस्थामा भेटघाटमा निस्कन त फुर्सद मिल्दैनथ्यो, त्यसमाथि फोटो खिचाउनका लागि रातै बिताउने गरी ‘शहर’ जाने समय र अनुमति मिल्न सजिलो थिएन ।

चितवनको पहाड तोलाङबाट जिल्लाकै तराई भटेनी झरेका गम्भीरध्वज घिमिरेका ६ बहिनी छोरी मध्ये पाँचवटीको बिहे भइसकेको थियो । कान्छी माइतमै थिइन् ।

साईँली भगवतीको घर माइत नजिकै ।

उनले चाल पाइन् त्यसबेला जिल्लाको एक मात्र शहर ‘नारायणघाट’ मा फोटो खिच्ने ठाउँ छ । त्यसपछि दिदीहरु र बहिनीहरुलाई जानु पर्छ भन्दै चाँजोपाँजो मिलाउन लागिन् । माइली चिनियाको पनि त्यो बेला भेटेनीमै घर थियो, अहिले भने गोरखा छ बसाई ।

बिहेपछि कोही पाण्डे, कोही अधिकारी त कोही बस्नेत अनि कोइराला र रायमाझी बनेका गम्भीरध्वजका छोरीहरुको परियोजना सफल भयो । भटेनीबाट उनीहरु ‘राम्री’ बनेर एक बिहान फोटो खिचाउने सपनासहित शहरका लागि हिँडे ।

तस्बिरबारे कुरा उप्काउँदै जाँदा चाउरिँदै गएको अनुहारमा त्यो भन्दा भव्य चमक थपिँदै गएकी देवकुमारी बोलिन्, ‘साईँली दिदीले फोटो खिच्नु पर्छ, अनि फिलिम पनि हेर्ने भनेपछि रमाइलो लाग्यो । हामी घिमिरेका छोरीहरु असाध्ये मिल्ने, योजना बनिहाल्यो नि ।’

योजना त बन्यो तर घरमा भन्नु परो, पैसा पनि जुटाउनु थियो । ‘हामी यहाँ भएकाहरु पनि जम्मा भयौँ, कसैले आफ्ना बुढालाई फकाए, कसैले धम्की देखाए, सबै मानी हाले । आँटेपछि कसको के लाग्छ र ?’ देवकुमारीले भन्दै गइन्, ‘सकेसम्म राम्री बनेर गएका थियौँ ।’

‘श्याम–स्वेत’ तस्बिरमा ६ बहिनी नै राम्रा देखिएका छन्, उनीहरुले राम्रो बन्नका लागि लगाएको भनिएको ‘लाली’ को रातो भने देखिँदैन । तस्बिरमा नदेखिएको लालीको रंग अहिले पनि देवकुमारीका दिदीबहिनीमा देखिन्छ ।

पहिलोपटक फोटो खिचेको त्यो समय


कान्छी बहिनी त्यो बेला ९ कक्षासम्म पढेर पढाउन थालेकी थिइन् । त्यसैले उनले स्कुलमा जागिर खाने प्रक्रियाका लागि फोटो खिचाइसकेकी थिइन् । बाँकी पाँच बहिनी इतिहास रच्दै थिए ।

देवकुमारीका दिदी बहिनी जंगलको बाटो हुँदै हिँडेर नारायणगढ पुगे । देवकुमारीले त्यो बेलाको अनुभव बताइन् ‘२–३ बजेको थियो होला शहर पुग्दा । चलचित्र हल नजिकै फोटो खिच्ने ठाउँ थियो, त्यहिँ खिचायौँ ।’

उनले अघि भनिन्, ‘हामी त नमिली बसेका थियौँ, फोटो खिच्ने ठिटोले नै मिलाइदिए ।’ फोटो खिच्नुअघि स्टुडियोमै रहेको ऐनामा हेरेर थप राम्री बनेको उनले बताइन् ।

सबैभन्दा कान्छी निर्मलालाई त्यो समयको सम्झना अहिले पनि ताजा छ । सबै मिलेर गएको त्यो दिनको सम्झना गर्दै उनले भनिन्, ‘औधी रमाइलो भाथ्यो नि, दिदीहरुसँग बसियो । फोटोको मजा छुट्टै, घर बाहिर बस्दाको आनन्द भिन्दै । अहिले त्यो फोटो हेर्दा उहि समयमा पुगिन्छ ।’

निर्मलाबाहेक देवकुमारी, मिठी, चिनिया, भगवती र सीताका लागि फोटो खिच्दाको नयाँ अनुभव थियो र रमाइलो पनि ।

तस्बिर हराएको थियो लामो समय, केही महिनाअघि निर्मलाले भेटिछन् । ‘यो फोटो त कस्तो मेहनत र तयारीले पो खिचेको छ । मैले भेट्टाएँ, अहिले त मोबाइलमा पनि राखेकी छु’ निर्मलाले उत्साहित हुँदै सुनाइन् ।

देवकुमारीकी माहिली दिदी चिनियासँग फोटोको कुरा गर्दा अझ रमाइलो कुरा थाहा लाग्यो ।

चिनियाले बताउँदै गइन्, ‘त्यो दिन गएर शहर घुमियो, फोटो खिचायौँ, अनि फिलिम हेरियो । बेलुका होटलमा बसेका थियौँ । ठुल्दिदी र मैले भात खाएनौँ, घरबाहिर खानु हँदैन भन्थे नि, रोटी खायौँ । बहिनीहरुले त भात खाए ।’

त्यो दिनको सम्झना गर्दा रोमाञ्चित बनेकी चिनियाले अघि भनिन्, ‘जाडो मौसम भएकाले होटलको सुताइ न्यानो हुने छाँट थिएन, साईँली बहिनी बाठी, उसले होटलवालाई–चिसो भयो भने त ओछ्यानमै पिसाब गर्न बेर लाग्दैन, भनि । होटलेले पनि डरले दियो न्याना लुगा, सुतियो मजाले ।’

फिलिमको नामै बिर्सियो


यी दिदी बहिनीले फोटोमात्रै खिचाएका थिएनन्, नारायणगढको हलमा ‘फिलिम’ पनि हरेका थिए । ६ जनाले नै जीवनमा पहिलो पटक हरेका थिए चलचित्र ।

आधा शताब्दी हुँदा कुन फिलिम हेरियो भन्ने सम्झना चाहिँ भएन । देवकुमारी, निर्मला र चिनियाले सम्झिने प्रयास निकै गरे, तर पनि निचोड एउटै–फिलिम त नेपाली नै थियो र अति राम्रो पनि । टिकटको पाँच रुपैयाँ लागेको, तर नाम चाहिँ थाहा भएन ।

देवकुमारी बोलिन्, ‘सारै राम्रो थियो । तीन रुपैयाँ तिरे अगाडि बस्नु पर्ने, पछाडिबाट हेर्दा राम्रो हुन्छ भन्ने थाहा पाएर पाँच रुपैयाँ तिरेर हेरेको त्यो फिलिम । अहिले पनि हेर्न पाए हुने जस्तो लाग्छ ।’

अहिले यस्ता छन् उनीहरुमध्ये पाँच दिदीबहिनी ।

नाम भुले पनि संगालेको रमाइलो क्षण भने जीवनपर्यन्त बनेको छ उनीहरुका लागि । अघिल्लो दिन फोटो खिचाएर फिलिम हेरी होटलमा रात बिताएका उनीहरु भोलिपल्ट ब्ल्याक एण्ड ह्वाइट फोटो लिएर घर फर्किएका थिए ।

छरछिमेकका दिदी बहिनीले त्यसपछि थाहा पाए । भनेका थिए रे, ‘कस्ता रैछन्, नभनी ग’का, भन्या भा’त हामी पनि जाँदाहौँ ।’

‘तर हाम्रा लागि हाम्रै हुल पुगेको थियो, अरुको के वास्ता हुनु’ देवकुमारीले बताइन् ।

फोटो खिच्दाको खर्चको यकिन छैन । तर केही जोहो भने गर्नै पर्ने थियो । यसको प्रमाण देवकुमारीको अर्को प्रशंग बन्यो । उनले दिदी बहिनीसँग मिलेर फोटो खिचाएपछि बुढासँग गएर पनि खिचाएकी रहिछन् ।

‘बुढा (लालबहादुर पाण्डे) लाई पनि लिएर गएँ, फोटो खिचाएँ नि’ उनले भनिन्, ‘कुकुरा बेचेको पैसाले गएर फोटो खिचेका थियौँ ।’
देवकुमारीसँग अहिले पनि त्यो फोटो छ, चाँदीको फ्रेम हालेकी छन् । तस्बिरमा उबेलादेखि सँगै रहेका पति लालबहादुर केही वर्षअघि परलोक गए, फोटोमा उनी अहिले पनि उस्तै छन् ।

देवकुमारी, निर्मला र चिनियासँग कुरा गर्दा स्पष्ट हुन्थ्यो, उमेरले बुढेसकाल लागे पनि त्यो फोटो ती दिनका प्रमाणका रुपमा जीवित छ । सबै जम्मा हुने मन छ फेरि उसै गरी हल्ला गर्ने, राम्री हुने धोको छ ।

चिनियाले उत्साहित हुँदा हुँदै फेरि केही मलिन हुँदै भनिन्, ‘६ बहिनी नै भेला हुन त अब सकिँदैन, ठूल्दिदी (मिठी) परलोक लागिन् । अरु पाँच बहिनी भेला हुन मन छ ।’ मिठीको निधन भएको केही वर्ष भयो । एउटी बहिनी अस्ट्रेलियामा रहिछन्, अर्की पनि क्यानडा जाने तयारीमा । तर पाँच बहिनी जम्मा हुने धोको सबैमा छ ।

मंसिर १, २०७५ मा प्रकाशित