नाकाबाट घोषणा भयो, हर्न निषेध

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकालाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ ।

भारतबाट नेपालगञ्ज प्रवेश गर्ने जमुनाहा नाकामा पुगेर निमित्त प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने, एसपी अरुण पौडेल र नेपालगञ्ज उपमहानगरपालिका सूचना अधिकृत शरद पौडेलले नेपालगञ्ज उपमहानगरपालिका हर्न निषेधित भएको घोषणा गरे । ध्वनी प्रदुषण रोक्न शहरलाई हर्न निषेधित घोषणा गरिएको उनीहरुले बताए ।

‘हर्न निषेधित शहर, हामी सबैको रहर’ ट्राफिक प्रहरीले नारा अघि सारेको छ । नेपालगञ्जसहित ५ नम्बर प्रदेशका चार वटा उपमहानगरपालिकालाई हर्न निषेधित क्षेत्र घोषणा गर्ने कार्यक्रम अघि सारिएको छ ।

हर्न निषेधित घोषणासँगै एक महिना चेतनामूलक गतिविधि गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख हिरेन्द्र रोकायले बताए । यो अवधिमा शहरका विभिन्न ठाउँमा पर्चा, पम्प्लेट बाँड्ने कार्यक्रम रहेको छ ।

नेपालगञ्ज प्रवेशका चारै नाकामा बोर्ड राखिने छ । माइकिङ गरेर हर्न नबजाउन अनुरोध गर्ने कार्यक्रम बनाइएको छ ।

हर्न निषेधित क्षेत्र घोषणा हुने बित्तिकै नाकामा भारतबाट आएको तथा भारततिर जान थालेका यात्रीलाई प्रहरीले पर्चा बाँडेका थिए ।

मंसिर १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्