नेपालगञ्जमा घुम्ती शौचालय

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले ब्यस्त चोक बजारमा घुम्ती शौचालय राख्ने भएको छ । त्यसका लागि भारतबाट चार वटा घुम्ती शौचालय शनिबार बिहान नेपालगञ्ज उपमहानगरपालिका कार्यालय भित्रिएको छ ।

एशियाली विकास बैंक (एडीबी) को सहयोगमा चार वटा घुम्ती शौचालय ल्याइएको नेपालगञ्ज उपमहानगरपालिकाका सूचना अधिकृत शरद पौडेलले जानकारी दिए ।

सूचना अधिकृत पौडेलका अनुसार, ५९ लाख रुपैयामा चार वटा घुम्ती शौचालय लाइएको हो । ‘चार वटा घुम्ती शौचालय ल्याइएको छ । अब त्यसलाई कुन कुन चोकमा राख्ने भन्ने बोर्डको बैठकले निर्णय गर्छ,’ सूचना अधिकृत पौडेलले भने ।

नेपालगञ्ज बजारमा अहिले पनि ११ वटा सार्वजनिक शौचालय छन् । तीमध्ये चार वटामात्रै प्रयोगमा छन् । अरु बन्द रहेका छन् । भएको सार्वजनिक शौचालयलाई राम्ररी प्रयोगमा ल्याउन नसकेको उपमहानगरपालिकाले घुम्ती शौचालय ल्याएर नयाँ कामको थालनी गरेको छ ।

नेपालगञ्ज ५, ६ र ७ नम्बर प्रदेशको व्यापारिक, शैक्षिक, स्वास्थ्य केन्द्र मानिन्छ । बजारमा आउने बाहिरी जिल्ला तथा स्थानीय बासिन्दालाई शौचालय गर्न समस्या रहदै आएको थियो । धेरै मेहनत गरेर खुल्ला दिसामुक्त घोषणा भएको नेपालगञ्जमा किनमेल गर्न आउने यात्रुलाई शौचालय र खानेपानीको समस्या रहेको छ ।

एडीबीले नेपालगञ्जको फोहोरलाई व्यवस्थापन गर्नका लागि हिरमिनियामा आधुनिक ल्याण्डफिल साइट निर्माण गरिरहेको छ । त्यहीको बजेटबाट चार वटा घुम्ती शौचालय ल्याएको हो । एउटा डब्बामा ६ वटा ढोका छन् । तीन महिला र तीन पुरुषका लागि । एकैपटकमा ६ जनाले शौच गर्न सक्छन् ।

मंसिर १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्