उत्तराधिकारी महन्त भन्छन्: केन्द्र सरकारको सहयोगी हात अघि बढोस्

दुई करोडमा विवाहपञ्चमीको भव्य तयारी

जानकी मन्दिरका महन्त रामरोशन दास श्रीवैष्णव । तस्बिर /दीपा दाहाल

काठमाडौँ – छोरीको विवाह नजिकिदै जाँदा अभिभावक जति चटारोमा हुन्छन्, त्यस्तै व्यस्त बन्दै छन् मिथिलाबासी सीता र रामको विवाह भएको दिनको सम्झनामा मनाइने विशेष पर्व अर्थात विवाह पञ्चमीलाई लिएर।

तत्कालिन मिथिलाका राजा जनकले सीता स्वयंवरको आयोजना गर्दा देशविदेशबाट राजा, राजकुमार र हजारौँ जनता सामेल भएको पौराणिक मान्यताले विवाहपञ्चमी बढी श्रद्धा र निष्ठाका साथ मनाउँछन् खासगरी धनुषा र आसपास जिल्लाका बासिन्दाले।

विवाहपञ्चमीलाई लिएर स्थानीयबासिन्दासँगै जानकी मन्दिरका उत्तरधिकारी र संरक्षकहरु उत्साहित देखिन्छन्।

छठ समाप्तिसँगै यही मंसिर २१ गतेदेखि २७ सम्म चल्ने सात दिने विवाह पञ्चमी महोत्सवका लागि जानकी र अन्य मन्दिरको रंगरोगन, श्रृंगार र पर्व व्यवस्थापनमा उनीहरुको ध्यान केन्द्रित भइसकेको छ।

विवाहपञ्चमीको तयारी र व्यवस्थापनबारे मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास श्रीवैष्णवसँग लिइएको यो संक्षिप्त अन्तर्वार्ता:

विवाहपञ्चमीको तयारी कहाँ पुग्यो?


तयारी तीव्र बनिसकेको छ, खासगरी तीन महिना यता। बीचमा छठ पर्व पर्‍यो, त्यसैले केही समय व्यस्त बनायो सबैलाई। तर तीन महिना अघिदेखि यो पर्वलाई लिएर बैठकहरु डाकिएका छन्।

त्यही समयमा विभिन्न उपसमितिहरु गठन गरेर जिम्मेवारी पनि बाँडफाँड गरिएको थियो। २४ वटा उपसमिति गठन गरिएको छ यसपाली पनि। रंगभूमिहरुमा पण्डाहरु निर्माण भइरहेका छन्।

जानकी मन्दिर र सेरोफेरोमा रंगरोगनको काम थालनी भएको छ। छठ सकिएलगत्तै बासिन्दाहरु यसमा व्यस्त हुन थालेका छन्। पोखरी, तलाउ तथा सुन्दर मैथिल संस्कारको धनी नगर जनकपुरलाई सुन्दर बनाउन थालिएको छ।

जानकी मन्दिर परिसरमा मेला आयोजना गर्ने तयारी भइरहेको छ। गाउँगाउँबाट ल्याइने सीतारामको प्रतीकात्मक झाँकीको निर्माणबारे छलफल हुन थालेका छन्।

यसपालि विशेष के छ ?


यो पर्व परम्परागतरुपमा मनाउँदै आइएको छ। त्यसैले यसलाई सबैले महत्वका साथ हेर्छन्। यसपाली भारतको उत्तरप्रदेश राज्यको आयोध्याबाट मुख्यमन्त्री स्वयम् आदित्यनाथ नै विवाहको जन्ती लिएर आउँदै हुनुहुन्छ।

दुलाह रामको भूमिबाट सरकार प्रमुखनै विशेष अतिथिकारुपमा आउने कुराले हामीलाई उत्साहित बनाएको छ।

आाफ्नै मुलुकका सरकार प्रमुखहरु त आउनु हुने नै छ। त्यसबाट यो पर्व भव्य हुने अपेक्षा छ। पहिले जस्तै यसपाली पनि साधू र सन्तहरुको उपस्थिति रहने छ।

जानकी मन्दिरका महन्त रामरोशन दास श्रीवैष्णव।

के के कार्यक्रम तय गरिएका छन्?


सात दिनमा सात वटा विशेष कार्यक्रम हुँदै छन्। सीता र रामको विवाह जसरी भएको थियो, त्यसरी नै विवाह गरिने छ अहिले पनि । मात्र पात्र फरक हुन्छन्। प्रक्रिया त्यस्तै हुन्छ अनि विधि पनि त्यही।

जन्तीलाई स्वागत र विदाइ पनि उस्तै तरिकाबाट हुन्छ। उत्साह र उमंग पनि उस्तै हुन्छ। विवाह महोत्सव अपरान्ह गरिन्छ। विहानैदेखि रामजानकी मन्दिर सहित मिथिला क्षेत्रका अन्य मन्दिरहरुमा दर्शनार्थीहरुको भिड लाग्छ। बाजागाजा, झाँकी, भजनकीर्तन र नाचगान गरिन्छ ।

जन्ती र डोला हेर्ने भक्तजनको घुईंचो लाग्छ। स्वयंमवर सकिएपछि दुलाहा र दूलहीलाई बोकी ल्याइएका रथहरुलाई जनकपुर नगर घुमाउँदै शोभा यात्रा गरिन्छ र जानकी मन्दिर क्षेत्रमा पुगेर अन्त्य गरिन्छ ।

मंसिर २१ गते जनकपुर नगर दर्शन, २२ गते फूलवारी लीला, २३ गते धनुष यज्ञ, २४ गते तीलकोत्सव,२५ गते मटिकोर, २६ गते स्वंयवर तथा शुभविवाह, २७ गते राम कलेवा गर्ने कार्यक्रम छ।

विवाह पञ्चमी किन विशेष?


त्रेतायुगमा मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीनटुक्रा पारेपछि मङ्सिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो।

नेपालकी छोरी सीता र भारतका छोरा रामको विवाह भव्यरुपमा भएकाले यो महत्वपूर्ण पर्व मानिन्छ दुवै देशका लागि। विवाह पञ्चमी साधारण होइन। यो संस्कृति विश्वमै परिचित छ र त्यसमा हामी सबै नेपालीको भूमिका छ। दुई दाम्पत्य जीवनमा जुन गाँठ बाँधिन्छ त्यो प्रेम र सम्मान पनि हो। सीता र रामको विवाह महोत्सवबाट यो सम्बन्ध झनै प्रगाढ भयो।

स्वभाविक हो यो संस्कृतिले सम्बन्धलाई जोड्छ पनि । पहिले साँधु सन्तले एक्लाएक्लै मनाउँथे यो पर्व। अहिले जनताले यो संस्कृतिलाई आफ्नो बनाएका छन्। दुई देशको सम्बन्धलाई जोडिरहन यसले पनि सहयोग गरेको छ। जनतालाई साथ दिन अभिभावकका रुपमा सरकार प्रमुखहरु आउँछन् त्यसले झनै हौसला बढाउँछ सबैलाई।

सीता र रामको विवाहको स्वरुप

कार्यक्रम सम्पन्न गर्न कति खर्च लाग्छ?


विवाह पञ्चमीमा सबैभन्दा धेरै यसको सांस्कृतिक तयारीमा खर्च हुन्छ। अर्थात विवाह गर्ने, विभिन्न झाँकीहरु देखाउने , मेला आयोजना गर्ने लगायतमा मात्रै दुई करोड रुपैयाँ खर्च हुन्छ।

त्यसका लागि प्रदेश सरकारले ५० लाख रुपैयाँ दिने छ। बाँकी खर्च आन्तरिकरुपमै जुटाउनु पर्ने छ । नेपाल सरकारबाटै कमै सहयोग मिल्ने गरेको छ। केन्द्र सरकारले २०६१ सालमा सहयोग गरेको थियो। यो कार्यक्रम नेपालकै धरोहर हो ।

यसमा केन्द्र सरकारको सहयोग धेरै हुनु पर्छ भन्ने हाम्रो अपेक्षा हो। नेपालकै पहिचान भएकाले यसको संरक्षणमा सबै एक हुनु पर्छ । जागरुकता हुनु जरुरी छ सबैमा ।

सहभागिताको अवस्था कस्तो छ?


यो पर्वमा दिनप्रतिदिन सहभागि हुनेको संख्या बढ्दै छ। स्वदेश र विदेश गरी १० देखि १५ लाख मानिस सहभागि हुँदैछन्। यसबारे जानकारी फैलिने क्रम पनि बढेको छ । सञ्चारमाध्यमहरुले सहयोग गरिहरेका छन्।

बस स्टप, शौचालय, खानेपानी, आवास, खाना लगायतको व्यवस्था गर्नुपर्छ । वास्तवममा चारैतिर भौतिक पूर्वाधार पनि निर्माण गर्नु पर्छ। त्यसमा समय र जनशक्ति दुवै खर्च हुन्छ।

जानकी मन्दिरको भित्रि परिसर

चुनौती के छ?


विवाह पञ्चमीलाई भव्य र सव्य बनाउन हामीलाई स्थानीय बासिन्दाको सहयोग छ। यथार्थमा यहाँका सबै बासिन्दालाई विवाहपञ्चमीले छुन सुरु गरिसकेको छ। करिव एक महिना समय बाँकी भएपनि उहाँहरुमा उत्साह जागिसकेको छ।

त्यस्तै उत्साह देशभरका बासिन्दामा हुनु जरुरी छ। योजना अनुसार हामीले व्यवस्थापन गर्न सक्दैनौ। आर्थिक समस्याले नै हामीलाई सताउँछ हरेक वर्ष। केन्द्रदेखि प्रदेश सरकारले सहयोगी हात अघि बढाउनु पर्छ ।

राष्ट्रले नै यसलाई महत्वका साथ हेरेमा यो संस्कृतिको संरक्षण गर्न मद्दत पुग्छ। यो कार्यक्रमका लागि पुरै जनकपुर व्यवस्थित गर्नुपर्छ। त्यसमा सरकारले गर्नु दायित्व पनि हो।

जानकी मन्दिर परिसर

सुरक्षाको अवस्था?


हामीले यो कार्यक्रम धेरै लामो समयदेखि गर्दै आएका छौँ। यहाँको सुरक्षास्थिति मजवुद हुँदा कार्यक्रम भव्य बनाउन सहज भएको छ। आजसम्म कुनै अप्रिय घटना भएका छैनन्। त्यस्तो नहोस भन्नेमा सुरक्षा निकाय र जनता दुवै सचेत छन्।

नेपाल र भारतको सम्बन्धलाई कसरी हेर्नु हुन्छ?


नेपाल र भारतबीचको सम्बन्ध भर्खरै बनेको होइन । यो सदियौँदेखि चलिरहेको छ र चल्ने छ। नेपाल र भारत बेटीरोटीको सम्बन्धमा अड्एिको छ। राम र सीताको विवाहबन्धनले यो सम्बन्धलाई प्रगाढ बनाउन सहयोग गरेको छ।

त्यसैले हामी भन्छौँ : यो मित्र राष्ट्र भन्दा पनि सम्बन्धको राष्ट्र भन्दा अझ राम्रो होला। कहिलेकाँही तितोमिठो हुनु स्वाभाविक हो। लोक सांस्कृतिले यो सम्बन्धलाई फेरी बलियो बनाइहाल्छ।

विवाह महोत्सवका लागि मण्डव तयार पार्दै

तस्बीरहरुः दीपा दाहाल

मंसिर १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्